कम्तीमा एक रात लुम्बिनीमै बस्न प्रोत्साहन गरिने

लुम्बिनी– नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डबीच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। मंगलबार लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम गिल्डका अध्यक्ष सुभाष कपूरले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार लुम्बिनी आउने भारतीय तीर्थयात्री तथा पर्यटकलाई कम्तीमा एक रात लुम्बिनीमै बस्न प्रोत्साहन गरिनेछ। यसले लुम्बिनीको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ। यस्तै करिदह कक्रहवा नाकालाई लुम्बिनी आउने पर्यटकको लागि महत्वपूर्ण नाकाको रुपमा विकास गर्न पहल गर्ने सम्झौता भएको छ । जस अनुसार दुबै पक्षले आ–आफ्ना देशको संघीय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वय र पहल भएका छन्।बेलहिया रुपन्देहीको मात्र नभई देशकै प्रमुख नाका मध्येमा पर्दछ।
यो नाकाबाट आउने पर्यटकले जाम र झन्झट बेहोर्नुपरेकाले कक्रहवालाई लुम्बिनी प्रवेशको लागि मुख्य नाका बनाउन पहल गर्नुपर्ने प्रस्ताव गरिएको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि पौडेलले जानकारी दिए । ‘आजका दिनमा धार्मिक पर्यटकहरु एक रातको लागि लुम्बिनी आउँदै गर्दा २ घण्टादेखी ८ घण्टासम्म बेलहियामा नाकामा विताउन परेको अवस्था छ ।’ उनले भने ‘जुन समय लुम्बिनीमा विताउनुपर्ने हो त्यसको अधिकांस समय बेलहियाको नाकामा लाइनमा बस्दा पर्यटकहरुलाई गाह्रो भएको त्यहाँ ट्राभल कम्पनीहरुले हामीलाई भन्ने गरेका छन् । उहाँहरुको इच्छा र यहाँको पर्यटन प्रवद्र्धनको लागि लुम्बिनी नजिकको कक्रहवालाई विकास गर्न सके कोशेढुंगा हुन सक्छ ।’
अध्यक्ष शर्माले कक्रहवामा पर्यटनमैत्री डेक्स राखेर लुम्बिनी आउनेहरुको लागि सहज बनाउनुपर्ने धारणा व्यक्त गरे।
सम्झौतामा करिब ४०–५० वर्षअघि सञ्चालनमा रहेको लुम्बिनी–वाराणसी सिधा बस सेवा पुनः सञ्चालनका लागि संयुक्त पहल गर्ने उल्लेख छ। साथै लुम्बिनीलाई भारतका प्रमुख बौद्ध तीर्थस्थलसँग जोड्ने यातायात सेवा विस्तारको सम्भावनासमेत अध्ययन गरिने भएको छ। दुवै संस्थाले नेपालका बौद्ध तीर्थस्थल र भारतका हिन्दू तथा बौद्ध तीर्थस्थललाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास तथा प्रवर्द्धन गर्ने सहमति गरेका छन्। यसबाट दुवै देशबीच धार्मिक पर्यटनको आकर्षण बढ्ने विश्वास गरिएको छ।
सम्झौतामा सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिबीच नियमित भ्रमण आदान–प्रदान गर्ने र भ्रमणका क्रममा आयोजक पक्षले आवश्यक आतिथ्य उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। दुवै संस्थाले यो सम्झौताले नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै लुम्बिनी र वाराणसीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले बनारसका पर्यटन व्यवसायीहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताइन् । उनले यस बीटुबी कार्यक्रमले आगामी दिनमा पर्यटकीय बजार चलायमान हुने उल्लेख गरिन्।लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राइले पछिल्लो समय लुम्बिनीमा भारतीय पर्यटकहरु बढेको भन्दै यसमा त्यहाँका पर्यटन व्यवसायीहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे।
कार्यक्रममा बरिष्ठ पुरातत्वविद बसन्त विडारीले बुद्ध जन्मस्थल लुम्बिनीको महत्व, बुद्ध सर्किट र अन्य पर्यटकीय स्थलबारे जानकारी गराएका थिए ।सम्झौता अघि लुम्बिनी र वनारसका पर्यटन व्यवसायीहरुबीच बीटुबी सेसन भएको थियो ।

