२०८३ आश्विन १५ गते, बिहीबार ०३:३७
  • लुम्बिनी र उत्तरपूर्वी भारतबीच हवाइ तथा रेल यात्रा सहजताको लागि सहकार्य गरिने

    लुम्बिनी होटल संघ र उत्तर–पूर्व भारतीय पर्यटन महासंघबीच समझदारी


    लुम्बिनी-लुम्बिनी र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीहरुबीच संयुक्त पर्यटन प्रवद्र्धनको लागि समझ्दारी भएको छ। मंगलबार बेलुका लुम्बिनी होटल संघ र उत्तर–पूर्व भारतीय पर्यटन महासंघबीच समझ्दारी पत्रमा हस्ताक्षर भएको हो।

    पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी आएका भारतको उत्तर–पूर्वस्थित आठ राज्यका पर्यटन व्यवसायी र अगुवा बीच लुम्बिनी होटल संघले मंगलबार साँझ छलफल गरेको थियो। छलफलका क्रममा संयुक्त पर्यटन प्रवद्र्धनको लागि सझ्दारी भएको हो। समझ्दारी पत्रमा लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्मा र उत्तर–पूर्व भारतीय पर्यटन महासंघका अध्यक्ष छिरिङ वाङ्गेले हस्ताक्षर गरेका थिए।

    समझ्दारीमा दुई पक्षिय दिगो पर्यटन प्रवद्र्धनका सहज यातायात सञ्जालको लागि संयुक्त सहकार्य गर्ने उल्लेख छ। उत्तरप्रदेश भारत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरि कम्तीमा सातामा ४ उडान हुनुपर्ने कुरा छलफलमा उठाइएको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्माले जानकारी दिए। त्यसै गरि सिमावर्ती नौतनवा र नौगढ सिधा रेलवे सञ्चालन भएमा दुरि घट्ने र दुवै तर्फको पर्यटनमा ठुलो टेवा पुग्ने कुरा उठाइएको उनले बताए।

    समझ्दारी पत्रमा लुम्बिनीमा आउने तीर्थयात्री र पर्यटकहरूको बसाई लम्ब्याउन र बुद्धको जीवन र सम्पदासँग जोडिएका वरपरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्न प्रोत्साहित गर्ने, “वृहत्तर लुम्बिनी“ सर्किट प्रवद्र्धन गर्न आ–आफ्ना राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारी निकायहरूमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    एकिकृत यात्रा कार्यक्रम, दुई पक्षिय संयुक्त प्याकेज निर्माण र बजारीकरणको लागि टुर अपरेटरहरुबीच सहकार्य बढाउने, नेपाल र उत्तर–पूर्वी भारतका बौद्ध र हिन्दू तीर्थयात्रा सर्किटहरूलाई पूरक सांस्कृतिक र इको–पर्यटन आकर्षणहरूसँग एकिकृत गर्ने पनि समझ्दारी भएको छ।
    ट्राभल एजेन्सी, मिडिया प्रतिनिधि र डिजिटल इन्फ्लुएन्सरहरू सहित पर्यटनका सरोकारवालाहरूका लागि नियमित आदानप्रदान कार्यक्रमहरू आयोजना गर्ने कुरा पनि सहमतीमा उल्लेख छ।