२०८३ श्रावण ८ गते, शुक्रबार ०२:३४
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि दिइएका छुट नयाँ कि पुरानैको निरन्तरता

    भैरहवा-सरकारले भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई २०८५ भदौ मसान्तसम्म विभिन्न छुट सुविधा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा पार्किङ ल्याण्डीङ तथा नेभिगेसन शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको छ। यस्तै ग्राउण्ड हेण्डलिङ शुल्क ५० प्रतिसत छुट दिन स्विकृति गर्ने निर्णयमा भनिएको छ।

    सरकारले यसअघि २०८१ साउन २८ गते यी छुट सुविधा दिने निर्णय गरेको थियो। छुट सुविधाको अवधि आगामी भदौमा सकिने भएकाले दुई वर्षलाई थप गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता कुमार सुजखुले जानकारी दिए। ल्याण्डीङ, पार्किङ, नेभिगेसन यो पहिले पनि लाग्दैन थियो र अहिले पनि लाग्दैन। यस अघि ग्राउण्ड हेण्डलीङमा ७५ प्रतिसत छुट थियो। तर अहिले ५० प्रतिसत मात्र छुट दिइएको सुजखुले बताए। यसअघि नियमित र चार्टर दुबै खालका उडानलाई यो छुट लागु हुन्थ्यो। अब यो छुट नियमित उडान गर्ने एयरलाइन्सले मात्र पाउँछन्।