२०८३ श्रावण ८ गते, शुक्रबार १३:०८
  • ‘छुटको प्रभाव देखिएन, पहिले नेपालकै जहाजले भैरहवामा अन्तर्राष्ट्रिय उडान गरोस्’

    भैरहवा- भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि पहिले आफ्नै देशको जहाज चलाएर देखाउन यहाँका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन्। गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले विभिन्न छुट सुविधा दिने घोषणा गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन।

    बुधबारको मन्त्रिपरिषद बैठक मार्फत सरकारले २०८५ भदौ मसान्तसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ल्याण्डीङ, पार्किङ र नेभिगेसनमा पूर्ण रुपमा छुट दिने निर्णय गरेको थियो। त्यस्तै ग्राउण्ड हेण्डलिङमा एयरलाइन्सले ५० प्रतिसत छुट पाउने भनिएको छ । यो छुटको निर्णय नयाँ नभइ पुरानैको निरन्तरता हो। सरकारले २०८१ साउन २८ गते नै भैरहवामा उडान गर्ने जहाजको लागि ल्याण्डीङ, पार्किङ र ग्राउण्ड हेण्डलिङमा छुटको घोषणा गरेको थियो। छुट सुविधाको अवधि आगामी भदौमा सकिने भएकाले सरकारले दुई वर्षलाई थप गरेको हो।

    भैरहवाका उद्योगी व्यवसायीहरुले सरकारले २ वर्ष अघि नै घोषणा गरेको छुट सुविधा प्रभावकारी नभएको बताए। उनीहरुले छुट देखाएर विदेशी एयरलाइन्स गुहार्नु भन्दा पहिले घरेलु जहाजबाटै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्न आग्रह गरेका छन् ।

    सोसाइटी अफ ट्राभल एण्ड टुर अपे्रटरर्स (सोट्टो) लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले पहिले घरेलु जहाजले भैरहवाबाट बुद्धिष्ट र श्रमिक गन्तव्यमा उडान गर्नुपर्ने बताए। ‘हामीलाई छुट चाहिएको होइन, जहाज चाहिएको हो। नेपाल एयरलाईन्स र हिमालयन एयरलाइन्सको एउटा जहाजले भैरहवा बेस गरेर चलाओस भनेर हामीले भनिरहेका छौं।’ उनले भने ‘यहाँबाट बुद्धिष्ट गन्तव्य र खाडी मुलुकमा राम्रोसँग उडान हुन सक्छ। नेपाल एयरलाइन्सले भैरहवाबाट थाइल्याण्ड, दुबइ, दोहा लगायतमा उडान गर्दा विदेशी एयरलाइन्स कम्पनी पनि आकर्षित हुन्छन्।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि नियमित पहल गरेपनि आँफूहरुको कुरा सरकारले नसुनेको बजिमयको भनाइ छ।

    सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले गरेको छुटको निर्णयले कुनै उत्साह नजागेको बताए। ‘पहिलेको सरकारले छुट दिएकै थियो। छुटले चल्ने भए त्यसबेलादेखि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान निरन्तर हुन्थ्यो।’ उनले भने ‘यस अघिका सरकारले गर्न सकेनन्। केही गर्छु भनेर आएको अहिलेको सरकारले चाहयो भने नेपाल एयरलाइन्स वा हिमालयन एयरलाइन्सबाट उडान गराउन सक्छ।’ भैरहवामा घरेलु जहाज चले मात्र विदेशी कम्पनीले विश्वास गर्ने आचार्यको भनाइ छ। यहाँ विजनेस देख्यो भने अन्य मुलुकका जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै उनले नेपालकै जहाजले उडानको वातावरण र विश्वास दिलाउनुपर्ने उल्लेख गरे।

    होटल व्यवसायी महासंघका महासचिव तथा भैरहवाका व्यवसायी राजेश महोत्राले भैरहवाबाट भारतका शहरमा पनि उडान हुनुपर्ने उल्लेख गरे। ‘यहाँबाट छिमेकी मुलुकमा उडान नहुँदा पनि विदेशी एयरलाइन्स भैरहवा नआएका हुन् कि। हाम्रो अन्तर्राष्ट्रिय उडानको मुख्यबजार भारत हो। त्यसैले सरकारले पहिले यहाँबाट भारतका दिल्ली सहित विभिन्न गन्तव्यमा उडानको लागि पहल गर्नुपर्छ।’ उनले भने ‘भैरहवामा अन्तर्राष्ट्रिय उाडनको लागि अरु जहाज नआए हाम्रै देशको जहाजबाट भएपनि बुद्धिष्ट सहति अरु मुलुकहरुमा उडान हुनुपर्छ।’

    महोत्राले अन्तर्राष्ट्रिय उडानको लागि भैरहवामै विदेश जानेको श्रम स्वीकृती, स्वास्थ्य परिक्षण, भिसा प्रक्रिया लगायतको व्यवस्था हुनुपर्ने बताए।
    २०७९ साल जेठ २ गते भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रियको उद्घाटन भएको थियो। उद्घाट भएको ४ वर्ष भन्दा बढि भइसक्दा पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।