२०८३ श्रावण २९ गते, शुक्रबार ०१:००
  • नेपाल एयरलाइन्सले भैरहवामा दैनिक अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो ?


    भैरहवा-गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगम अर्थात नेपाल एयरलाइन्सले ‘बेस ट्रेनिङ फ्लाइट’ सञ्चालन गरेको छ। निगमको एयर बस ३२० जहाज मार्फत बुधबारबाट फर्स्ट अफिसर पाइलटहरुलाई सो तालिम गराएको हो। भदौ ३ गतेसम्म बेस ट्रेनिङ फ्लाईट सञ्चालन हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विज्ञप्ती मार्फत जनाएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको निर्देशन बमोजिम नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एउटा अपरेटिङ बेस राख्ने तयारी स्वरुप तालिम सञ्चालन भइरहेको कुमार सुजखुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा उल्लेख भए अनुसार मन्त्रालयले निगमलाई एउटा न्यारोबडी जहाज भैरहवामै राखेर चलाउन निर्देशन दिएको त्यही अनुसार तयारी भएको बुझ्न सकिन्छ।

    निगमको एउटा जहाजले भैरहवालाई आधार बनाएर सञ्चालन गरेमा यहाँबाट दैनिक अन्तर्राष्ट्रिय उडान र अवतरण हुने छ। बेस भएमा भैरहवा-देशबाहिरको गन्तव्य-काठमाडौं -बाहिरको गन्तव्य भएर भैरहवा फिर्ता आउने छ। निगमले निकट भविश्यमै भैरहवाबाट दिल्ली दैनिक उडान गर्ने सम्भावना छ। दिल्ली उडान भएमा निगमको एउटा जहाज भैरहवामै रहने र त्यसको लागि बेस ट्रेनिङ फ्लाइट भएको बताइएको छ।

    तर नेपाल बायुसेवा निगमले भने भैरहवाबाट उडान बारे कुनै निर्णय नभएको जनाएको छ। निगमका प्रवक्ता देवेन्द्र पुनले तत्काल भैरहवाबाट उडानको योजना नरहेको बताए। नेपाल नागरिक उड्यन प्राधिकरणका सहप्रवक्ता तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि निगमको भैरहवाको उडान तय नभएको उल्लेख गरे। काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक उच्च भएकाले अपरेटिङ बेस ट्रेनिङ भैरहवामा गराइएको जानकारी दिए। उद्घाटन भएको ४ वर्ष भन्दा बढि भइसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।