
भैरहवा– सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपाल (सोट्टो) लुम्बिनीले रुपन्देहीको बेलहिया नाकामा पर्यटक आवगमन र पार्किङ तथा सवारी व्यवस्थापन सहज बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ। बेलहिया क्षेत्रमा उचित पार्किङ्ग व्यवस्थाको अभाव, सवारी साधनको अव्यवस्थित पार्किङ्ग, अत्यधिक भीडभाड तथा यात्रु व्यवस्थापनमा देखिएका समस्याका कारण पर्यटक, पर्यटन व्यवसायी तथा पर्यटन सवारी साधनहरूले अनावश्यक सास्ती र ढिलाइ व्यहोर्नुपरेको प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
यसले नेपालको पर्यटन क्षेत्रको छविमा समेत नकारात्मक प्रभाव पार्ने सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले बताए। ‘विशेष गरी लुम्बिनी, पोखरा, काठमाडौं, मुक्तिनाथ लगायतका प्रमुख पर्यटकीय गन्तव्यतर्फ जाने पर्यटकका लागि बेलहिया नाका नेपालको पहिलो प्रवेश बिन्दु भएकाले यहाँको व्यवस्थापनले नेपालको पर्यटन छवि, सेवा गुणस्तर तथा पर्यटकको पहिलो अनुभवमा प्रत्यक्ष प्रभाव पार्दछ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
बेलहिया नाकामा पर्यटक तथा पर्यटन सवारी साधनका लागि व्यवस्थित, सुरक्षित र पर्याप्त पार्किङ्गको व्यवस्था गर्न, नेपाल प्रवेश गर्ने पर्यटकहरूको आवागमन तथा अध्यागमन प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाउन आवश्यक सहजीकरण गरिदिन सोट्टोले माग गरेको छ।
पर्यटन सवारी साधनको आवतजावतमा अनावश्यक अवरोध हुन नदिई आवश्यक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न ओभरलोड सवारी साधनको सञ्चालनलाई तत्काल प्रभावबाट नियन्त्रण गरी, भारततर्फ फर्կने खाली मालवाहक सवारी साधनलाई अन्य वैकल्पिक नाकामार्फत फिर्ता पठाउने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण पत्रमा भनिएको छ। नेपालको अन्तर्राष्ट्रिय अनलाइन ईन्टरनेसनल डिजिटल भुक्तानी सेवा र ईभिसा ईटीए सुविधा आईटा र नेपाल राष्ट्र बैंकको स्बिकृत प्राप्त सम्पुर्ण पर्यटन व्यवसायीहरुलाई सुविधा प्रदान गर्न सोट्टोले माग गरेको छ।
पर्यटनमा दर्तास्विकृति लिएकाले मात्रै हवाई टिकट ब्यवसाय गर्नपाउने अनिवार्य व्यवस्था गर्न पनि भनिएको छ। भारतीय तथा नेपाली आन्तरिक पर्यटकहरूलाई पनि पर्यटनमा डिजिटल अभिलेखसहित मान्यता दिइनुका साथै भुमार्ग भएर भित्रिने पर्यटकहरूलाई एकीकृत चेकजाँच, अनलाइन इभिसा र डिजिटल भुक्तानीको व्यवस्था गर्न आग्रह गरिएको छ।
भैरहवा भन्सारको आइसिपी यथाशीघ्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न र भारतीय रेलवे कनेक्टिभिटीका लागि विशेष पहल गर्न माग गरिएको छ। संस्थाले बेलहिया नाका नेपालको पहिलो प्रवेश बिन्दु भएकाले यहाँको व्यवस्थापनले समग्र नेपालको पर्यटन छवि र सेवा गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने जनाउँदै प्रस्तुत प्रस्तावलाई सकारात्मक रूपमा लिई आवश्यक निर्णय र सम्झौता प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेको छ।

