
पोखरामा-पोखरामा आजदेखि फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडान गर्दैछ। उद्घाटन भएको साढे ३ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित दैनिक अन्तर्राष्ट्रिय उडान हुन लागेको हो। अब प्रत्येक दिन साँझ दुबई–पोखरा–दुबई रुटमा नियमित उडान हुनेछ।
उडान तालिका अनुसार फ्लाई दुबईको विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ। साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।
पोखरामा नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्। फ्लाई दुबईको उडानको पहिलो दिन जहाज र यात्रुहरुको भव्य स्वागत गर्ने तयारी रहेको नाट्टा गण्डकीकी अध्यक्ष संगिता पौडेलले बताइन। ‘पहिले हामीले यहाँबाट प्रस्थान गर्ने यात्रुहरुको विदाइ गर्छाैं। सवा ६ वजे जहाज अवतरण गरेपछि आएका यात्रुहरुको स्वागत गर्छौं।’ उनले भनिन् ‘केही दिनपछि हामी फ्लाई दुबईको उडानको प्रवद्र्धनको लागि विभिन्न जिल्लाहरुमा पुग्छौं।’
आएका प्रत्येक यात्रुहरुलाई गिफ्ट दिने नाट्टा गण्डकीका महासचिव ताराप्रसाद गौतमले बताए। एक सातासम्म पोखरा आउने यात्रुहरुलाई गिफ्ट प्रदान गर्ने उनले बताए। यस अघि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको छ। फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने हुनाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने बलियो आशा गरिएको छ।

