
पोखरा – पोखरामा फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। दुबईबाट आएको जहाज बुुधबार साँझ पोखरामा अवतरण गरेको हो। पहिलो उडानमा आएका ११३ यात्रु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। त्यस्तै १५२ जना पोखराबाट दुबई प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए।
जहाज र यात्रुलाई आज विमानस्थलमा भव्य स्वागत गरिएको थियो। फ्लाई दुबईको अवतरण पछि नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारु गर्ने धेरै समय अघिको सपना पुरा भएको बताए। फ्लाई दुवईको उडानपछि सम्भावनासँगै उडानलाई दिगो बनाउने चुनौति पनि रहेको उनले उल्लेख गरे।
उद्घाटन भएको साढे ३ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको हो। अब प्रत्येक दिन साँझ दुबई–पोखरा–दुबई रुटमा नियमित उडान हुनेछ। उडान तालिका अनुसार फ्लाई दुबईको विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ। साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।

दुबई-पोखराको अनुमानित अवधि ४ घण्टा ३० मिनेट रहेको छ। त्यस्तै पोखरा-दुबईको अनुमानित अवधि ४ घण्टा ५० मिनेटको रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्ससँग प्रत्यक्ष हवाइ सम्पर्क स्थापित भइ पोखरा तथा गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाइ सम्पर्क विस्तार पर्यटन प्रवद्र्धन तथा यात्रु आवागमनमा थप सहजिकरण हुने अपेक्षा गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले बताइन्। पोखरामा नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।


