फ्लाई दुबई मार्फत पोखराबाटै विश्वका १४० वटा गन्तव्यमा जोडिन पाउँदा हामी उत्साहित छौं

कृष्णप्रसाद आचार्य
अध्यक्ष,ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकी
लामो समयदेखि हामीले काठमाडौँ बाहिर पोखरामा एउटा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर माग गरिरहेका थियौं। धेरै पटक आन्दोलन गरेपछि सरकारले यहाँका नागरिकको इच्छा र आकांक्षा सुनेर अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भयो। सन २०२३ मा तत्कालिन प्रधानमन्त्रीबाट उद्घाटन गरियो। तर अहिलेसम्म पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा हामी एकदम दुःखी भएका थियौं। तर अब सेप्टेम्बर २३ देखि फ्लाई दुबईले उडान गर्ने तय भएको छ। यो अन्तर्राष्ट्रिय उडान भएमा पोखराबाट दुबई हुँदै विभिन्न १४० वटा गन्तव्यमा पोखराबाटै आवतजावत गर्न सकिन्छ। यसले हामीलाई उत्साहित बनाएको छ।
पोखरा पर्यटकीय राजधानी होे। ट्रेकिङ तथा हिमाली पदमार्गमा यात्रा गर्ने पर्यटकहरुको केन्द्र पोखरा नै हो। त्यसरी हिमाली क्षेत्र घुम्ने र पदयात्रा गर्ने पर्यटकहरुको नेपालमा पहिलो गन्तव्य काठमाडौँ हुन्थ्यो। अब भने विदेशीहरु सिधै दुबईबाट पोखरा हुँदै आफ्नो यात्रा तय गर्नुहुन्छ। गण्डकी प्रदेश भनेको पर्यटनको उर्वर भूमि हो। यहाँ तीनवटा ठूला–ठूला हिमालहरू, मनाङ–मुस्ताङदेखि लिएर धेरै ट्रेकिङ ट्रेलहरू, होमस्टेदेखि विभिन्न सांस्कृतिक गतिविधिका कारण कतिपय पर्यटकहरु सिधा पोखरा आउन रुचाउँछन्। तर कोही पर्यटकहरु काठमाडौँ हुँदै आउने र पोखराबाट फर्किन खोज्ने इच्छा व्यक्त गर्छन्।
काठमाडौंबाट भित्रिएर पोखराबाट बाहिरिने व्यवस्था भयो भने पर्यटन क्षेत्रको लागि निकै राम्रो हुन्छ। नेपालबाट फर्किन काठमाडौं जान नपर्दा पर्यटकहरुको दुई दिनको समय बचत र व्यवस्थापन हुन्छ। हामीले फ्लाई दुबईका जिम्मेवार कर्मचारीहरुसँग पनि यही कुरा गरेका छौँ। यदि काठमाडौँमा भित्रिएर पोखराबाट बाहिरिने इच्छा व्यक्त गरेमा त्यसलाई आफ्नो टिकट बुकिङ सिष्टममा राखेर सहजिकरण गर्छौं भनेर एयरलाइन्सका कर्मचारीले भनेका छन्। अहिलेको अवस्था हेर्दा पर्यटकहरुको लागि काठमाडौं पोखरा ओहोरदोहोर गर्दा एक दुई दिन समय खर्च हुन्छ। सडकको अवस्था पनि विजोग थियो। अहिले केही सुधार भएको छ। ट्रेकिङमा आउनेहरु सिधै गन्तव्यमा आउन पाए भने पोखरामा आउने पर्यटकको आगमन बढ्छ।
अन्तर्राष्ट्रिय उडानसँगै बर्षभर हाम्रा गन्तव्यहरुलाई चलायमान गराउनुपर्छ
हाम्रो पर्यटनको सिजन असोजबाट सुरु हुन्छ। असोज, कार्तिक, मङ्सिर र त्यसपछि चैत, वैशाख, जेठलाई हामीले मुख्य सिजन मान्दै आएका छौं। तर नियमित उडान भएमा बर्षाको यो समयमा पनि पर्यटक आकर्षित गर्न सक्छौं । यतिबेला पनि मनाङ, मुस्ताङ, डोल्पादेखि माथिल्लो भेगमा प्राकृतिक रुपमा कति सुन्दरता छाएको छ। फूलहरु फुलिरहेका छन्। सांस्कृतिक गतिविधिहरु पनि चलायमान भएका कारणले यो समयमा हामीले त्यहाँका सौन्दर्यलाई हामीले बेच्न सक्नुपर्ने हो, तर सकेका छैनौं। तर हामीले अब १२ महिना विदेशी पर्यटकलाई नेपाल घुमाउन सकेनौं भने त्यसले धेरै अर्थ राख्दैन। सिजनमा मात्र भरपर्दा यहाँ न व्यवसायी धानिने अवस्था छ, न मजदुरहरू धानिने अवस्था छ। त्यसैले अन्तर्राष्ट्रिय उडानसँगै बर्षभर हाम्रा गन्तव्यहरुलाई चलायमान गराउनुपर्छ।
अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको प्रस्तुती आकर्षक हुनुपर्यो
पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लागि हामी बारम्बार विभिन्न अन्तर्राष्ट्रिय मार्टहरूमा पनि गएका छौँ। गत वर्ष म आईटीबी बर्लिन, त्यसपछि लन्डनदेखि लिएर फ्रान्सको पेरिसमा पनि यो टप रेसा भन्ने प्रवद्र्धनमा हामी गयौं। त्यो फोरमहरुमा उत्साहजनक सहभागिता भइरहेको छ, नेपाल सरकार र पर्यटन बोर्डले प्रवद्धनात्मक कार्यक्रम त गरेको छ। तर त्यसको नतिजा देखिएको छैन।
अब ति अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको प्रस्तुती आकर्षक र अग्रभागमा हुनुपर्यो। समाजिक सञ्चालको पनि प्रभावकारी प्रयोग हुनुपर्यो। त्यहाँका राष्ट्रियदेखी स्थानिय मिडियाहरु पनि प्रयोग गरेर नेपालको उत्पादनको बारेमा राम्रोसँग पस्किनुपर्यो। नेपाल आउन मान्छेहरु एकदम इच्छुक छन्। यहाँका गन्तव्यको बारेमा थाह पनि छ।
तर यहाँको सुरक्षा, पूर्वाधार लगायतका कारणले विदेशीहरुलाई यहाँ आउन सरर हुन सकेको छैन। लामो बाटो, फ्लाइट क्यान्सिल भइरहन्छ, कालोसूचीमा परेको छ भन्ने इस्यु चाहिँ आएको कारणले हामीलाई चाहिँ अब इन्सुरेन्सको पोलिसीहरू, फेक रेस्क्युका कुराहरू हामीलाई बारम्बार उठाएका कारणले चाहिँ हामीलाई चिन्तित बनाएको छ।यो विषयमा राज्यले गम्भीर भएर गतल गर्ने मान्छेहरूलाई दण्ड जरिवाना र कारबाही गरिदिएन भने यसले पनि अझै पनि विकराल रूप लिन सक्छ। त्यही भएर यस्ता विषयमा राज्य चाहिँ गम्भीर भएर लाग्नुपर्छ।
सिधा उडान भएमा विदेशी पर्यटकले पोखराकै कम्पनी र जनशक्तीबाट सेवा लिन्छन्
पोखरा अहिलेसम्म मोफसल मात्र भयो। काठमाडौं आएर त्यहाँबाट फुत्कीएका मान्छे मात्र होइन, अब सोझै पोखरामा पाउने अवस्था छ । त्यो हिसाबले पनि सिधा अन्तर्राष्ट्रिय उडान भयो र दिनमा कमसेकम २५० जना मान्छे आउँदा पनि लगभग ५० जना विदेशी पक्कै आउनुहुन्छ। त्यसले गर्दा सिधै उहाँहरू हामीसँग, व्यवसायीसँग ठोकिने भएको कारणले हामी उत्साहित छौँ। यो चाहिँ एकदमै सुखद खबर पनि हो।
मान्छेले जहाँ जुन स्थानिय गन्तव्यमा जान खोजिरहेका छन्, त्यहीँको म्यानपावर र त्यहीँको लोकल कम्पनीहरू प्रयोग गर्न चाहेका हुन्छन्। त्यसकारण जुन हिसाबले मानसिकता बनाएर पोखराको लागि यात्रा तय गर्ने विदेशी पाहुनाहरू, उहाँको चाहिँ गन्तव्य ठ्याक्कै पोखरा नै बन्छ। पोखराकै एजेन्सीहरू उहाँहरुले प्रयोग गर्न पाउनुहुन्छ।
नियमित उडान भयो भने अर्को सिजनमा पर्यटकको आगमन अझै बढ्छ
विदेशीलाई अहिलेसम्म हामीले सिधै पोखरामा आउनुहोस् भन्न सकेका छैनौ। प्रायः विदेशीहरूको आफ्नो यात्रा एक वर्ष, ६–७ महिना अगाडि नै हुने तय हुने गर्दछ। त्यसैले यही सिजनमा पर्यटक बढि हाल्छन् भन्ने छैन। तर उडान निरन्तर भयो भने अर्को वर्षदेखि पोखरामा पर्यटक आगमन पक्कै बढ्छ। ट्रेकिङमा आउनेहरुलाई सिधै दुबईबाट पोखरा आउन सक्नुहुन्छ भनेर अनुरोध गर्न र त्यस अनुसारको प्रचारप्रसार गर्न सक्छौं।
(कुराकानीमा आधारित)

