२०८३ कार्तिक ८ गते, शनिबार १४:१६
  • पोखरा-दुबई उडानको एक महिना पुरा, ६ हजार ३६२ ले गरे यात्रा

    ४ हजार ५२१ जना दुबईबाट पोखरा आए

    पोखरा-पोखरा दुबई उडान सुरु भएको एक महिना पुरा भएको छ। गत सेप्टेम्बर २३ अर्थात असोज ७ गतेबाट फ्लाई दुबईले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा दैनिक उडान सुरु गरेको थियो। एक महिना ३० वटा उडान भएको छ । त्यस्तै ६ हजार ३६२ जनाले फ्लाई दुबई मार्फत पोखरामा आवत जावत गरेका छन्।

    यो अवधिमा ४ हजार ५२१ जना दुबईबाट पोखरा आएका छन्। १ हजार ८४१ जना पोखराबाट दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ।
    पोखराको लागि फ्लाई दुबईले सुरुमा एक महिनाको बुकिङ खोलेको थियो। त्यसलाई २०२६ को मार्चसम्म थप गर्यो। केही दिन अघि मात्र सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरी उडान निरन्तर हुने सुनिश्चितता गरेको छ।

    फ्लाई दुबई मार्फत पोखरा आउने यात्रु निकै राम्रो रहेको छ। प्रस्थान गर्ने यात्रुको संख्या बढाउन तर्फ ध्यान दिनुपर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए। यसका लागि पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आ-आफ्नो ठाउँबाट पहल गर्न आवश्यक रहेको उनले बताए। आफ्ना व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम सम्भव भएसम्म पोखराबाटै सुरु गर्ने र दुबई तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाटै भ्रमण प्याकेज सञ्चालन गर्न पनि मेयर आचार्यले अनुरोध गरेका छन्।

    फ्लाईदुबई तथा यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यसम्म यात्रा गर्न सकिने सुविधा छ। यात्रुको सङ्ख्या बढाउन सकेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा समेत सकारात्मक योगदान मेयर आचार्यको भनाइ छ।