२०८३ कार्तिक ९ गते, आईतवार १४:४३
  • नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ आजदेखि सुरु हुँदै

    दिउँसो ३ बजे सुनौलीमा भारतीय टोलीको स्वागत

    भैरहवा- नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आजदेखि सुरु हुँदैछ। भारतका विभिन्न सहरबाट सहभागी हुन आएका पर्यटन तथा ट्राभल व्यवसायीहरूको टोलीलाई दिउँसो ३ बजे सुनौली सीमा नाकामा स्वागत गरिनेछ।

    कार्यक्रमको उद्घाटन गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चन, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा, इन्डो-नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह र लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासेले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। गैरआवासीय नेपाली संघ (NRNA) ICC र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सञ्चालन हुने यस कार्यक्रमले नेपाल र भारतबीच पर्यटन सहकार्य, व्यवसायिक सम्बन्ध तथा पर्यटक आवागमन विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    कार्यक्रम मार्फत नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज विकास गर्ने र दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमका आयोजक तथा गैरआवासीय नेपाली संघ (NRNA) ICC का प्रवक्ता सोमनाथ सापकोटा का अनुसार यस पहलको मुख्य उद्देश्य भारतीय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु र नेपाली पर्यटकलाई भारतका गन्तव्यतर्फ आकर्षित गर्नु हो। उनले नेपाल र भारतका पर्यटन व्यवसायीबीच सहकार्य बढाएर पर्यटक आवागमन, व्यवसायिक अवसर तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्न कार्यक्रमले सहयोग पुर्‍याउने बताए।

    कार्यक्रमका संयोजक तथा इला होटल एण्ड रिसोर्ट तथा मौलाकालिकाका प्रमुख कार्यकारी अधिकृत (CEO) लक्ष्मण थापाले,कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार आयोजक टोली तथा आतिथ्य क्षेत्रका साझेदारहरू भारतीय प्रतिनिधिमण्डललाई स्वागत गर्न र निर्धारित कार्यक्रम, गन्तव्य अवलोकन तथा व्यवसायीबीचको छलफल सञ्चालन गर्न तयार छन्। कार्यक्रममा नेपाल पर्यटन बोर्ड (NTB), होटल एसोसिएसन नेपाल (HAN), PATA नेपाल च्याप्टर,हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल (एचएसएमएएन), इन्डो-नेपाल टुरिजम वेलफेयर सोसाइटी, इन्डिया, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन, इन्डिया, नवलपुर पर्यटन समिति, कावासोती, ग्रेस इन्टरनेसनल, फादर एन्ड सन ट्रेक एन्ड एक्सपेडिसन, Global Concern Center for Climate Change तथा Tourism Info Nepal लगायतका संस्थाले सहकार्य गरेका छन्। त्यसैगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाको सहभागिता तथा सहकार्यले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको छ।

    कार्यक्रममा पर्यटन तथा वातावरणविद् पी.के. शेर्पा, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद घिमिरे, रुपन्देही उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको पनि सहभागिता रहनेछ। भारतबाट सहभागी हुने ट्राभल तथा टुर कम्पनीहरूमा ग्रीनवेज ट्राभल्स, एसएमएच हलिडेज, सुविधा ट्राभल्स, इजिटाइम टु ट्राभल, गो ट्राभल गुरु, एसटीए ट्राभल्स, शुभी ट्राभल्स. ओनेइरो भेकेसन्स, नमस्कार ट्राभल सर्भिसेज, मानसा ट्राभल्स, सचन टुर एण्ड ट्राभल्स प्रा. लि., एएलसीसी हलिडेज एलएलपी, लक्स्ट्रिपर हलिडेज प्रा. लि., उत्सव ट्राभल्स, फ्लाईस्टेप हलिडेज प्रा. लि., एलोरस्टार ट्रिप,हलिडे अड्डा, ट्राभल पफ, सागा लक्जरी, एपेक्स अल्फा कनेक्टर लगायत रहेका छन्।

    सुनौलीमा स्वागत तथा उद्घाटन कार्यक्रम सम्पन्न भएपछि टोली रामग्राम नगरपालिकातर्फ प्रस्थान गर्नेछ। रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले प्रतिनिधिमण्डललाई स्वागत गर्दै चियापान कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ। यस क्रममा टोलीले बुद्धको पवित्र अवशेषसँग सम्बन्धित महत्त्वपूर्ण बौद्ध सम्पदा रामग्राम स्तूपको अवलोकन गर्नेछ। त्यसपछि टोली नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्ट पुग्नेछ, जहाँ स्थानीय आतिथ्य, पर्यटन गन्तव्यको परिचय, पर्यटन व्यवसायीबीच छलफल तथा व्यवसायिक साझेदारीका सम्भावनाबारे अन्तरक्रिया हुनेछ।

    सापकोटाका अनुसार नेपाल र भारतबीच भौगोलिक निकटता, सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था र जनस्तरको लामो सम्बन्ध रहेको छ। यी सम्बन्धलाई पर्यटन तथा व्यवसायिक सहकार्यसँग जोड्न सके दुवै देशले आर्थिक र सामाजिक लाभ लिन सक्ने उनको भनाइ छ। उनले चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति र सामुदायिक पर्यटन, लुम्बिनीको बौद्ध सम्पदा तथा पोखराको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने बताए।

    यस्ता प्याकेजले पर्यटकको बसाइ अवधि बढाउन, स्थानीय रोजगारी सिर्जना गर्न, लगानी आकर्षित गर्न र होटल तथा रिसोर्ट व्यवसायको बजार विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा आतिथ्य तथा पर्यटन साझेदारका रूपमा लतौली सेन्चुरी रिसोर्ट,,थारु गाउँ रिसोर्ट,
    इला कम्फर्ट, इला होटल्स एन्ड रिसोर्ट्स मौलकालिका, ल्यान्डमार्क फरेस्ट-पार्क, बनबास रिसोर्ट, सिद्धार्थ वाइल्डलाइफ रिसोर्ट, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट, उन्नति कल्चरल भिलेज (युसीभी), मचान वाइल्डलाइफ रिसोर्ट, रोयल ट्युलिप चितवन नेपाल
    टाइगर प्यालेस रिसोर्ट लगायतको सहभागिता तथा सहकार्य रहेको छ।

    नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ ले सीमापार पर्यटनलाई भ्रमणमा मात्र सीमित नराखी व्यवसायिक सहकार्य, सांस्कृतिक आदानप्रदान, लगानी, रोजगारी सिर्जना र साझा आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ। आयोजकका अनुसार यस कार्यक्रमले नेपाललाई भारतीय पर्यटकका लागि आकर्षक छिमेकी गन्तव्यका रूपमा स्थापित गर्न र नेपाली पर्यटन व्यवसायलाई भारतीय बजारमा विस्तार गर्न मद्दत गर्नेछ।