२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • लुम्बिनी केबुलकार आजबाट व्यवसायिक रुपमा सञ्चालन हुँदै


    बुटवल – लुम्बिनी केबलकार सोमबारदेखी व्यवसायिक रुपमा सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलदेखि बसन्तपुर जोड्ने केबलकार सञ्चालन हुन लागेको हो । बिहान ८ बजेदेखि केबलकार व्यवसायिक रुपमा सञ्चालनमा आउने आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । तर औपचारिक उद्घाटन भने १० दिनपछि अर्थात जेठ २५ गते हुने उनले बताए ।

    बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ बसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

    केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने क्षमता छ । लुम्बिनी प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यवसायीक कारोबारमा परेको गुनासो आउने गरको छ । केबलकारले त्यो असरलाई पूर्ति गर्ने र फेरी व्यवसायिक चहलपहल बढ्ने ढकालको भनाइ छ ।
    बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयां धार्मिक र पर्यटकीय गन्तब्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालको भनाइ छ । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए ।

    नेपाल उद्योग वाणिजय महासंघको समेत अध्यक्ष रहेका ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारुरुपमा सञ्चालन गर्न भारतसंग हवाई रुटको अनुमति लिन महासंघले प्रधानमन्त्रीलाई दवाव दिएको बताए ।
    २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।