२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • कोलम्बोमा नेपाल प्रवद्र्धन कार्यक्रम सम्पन्न

    टूर प्याकेजमा नेपाल पहिलो प्राथमिकता : श्रीलंकाका पर्यटन व्यवसायी


    कोलम्बो (श्रीलंका) – श्रीलंकाको कोलम्बोमा नेपाल प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ। बुद्ध जन्मस्थलसहित नेपालका अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रसारप्रसार गर्ने उद्देश्यले नेपाल प्रबद्र्धन कार्यक्रम गरिएको हो। नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघ(सान) को आयोजनामा भएको कार्यक्रममा नेपाल र श्रीलंकका उच्च सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा विज्ञहरुको सहभागीता रहेको थियो।

    २८ जुनमा क्याण्डीमा नेपाल प्रबद्र्धन कार्यक्रम गरेका व्यवसायीले १ जुन अर्थात शनिबार कोलम्बोमा नेपाल प्रवद्र्धन र विजनेस टु विजनेस (विटुबी) कार्यक्रम गरेका हुन्। व्यवसायीले कार्यक्रममा आफ्नो टुर प्याकेज प्रबद्र्धन गरेका थिए भने श्रीलंकाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि पहल गर्नुका साथै लुम्बिनीबाट बौद्ध सर्किटको टूर प्याकेज बनाउन आग्रह गरेका छन्।

    कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल ऐतिहासिक पर्यटकीय गन्तव्य भएकाले घुमेर विशिष्ट अनुभव लिन श्रीलंकन नगारिकलाई आग्रह गरे। ‘तपाईंहरुले टुर प्याकेज बनाएर नेपालका गन्तव्यहरु घुमेर आनन्द लिनुस्, नेपालमा स्वागत गर्न हामी आतुर छौं’, उनले भने।सचिव अधिकारीले गौतमबुद्ध विमानस्थलमा कम्तिमा हप्तामा एउटा उडान गर्न श्रीलंकन एयरलाइन्सलाई आग्रह गरे ।

    सिद्धार्थ होटल संघ सानका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठले बुद्धजन्मस्थल भ्रमण गरेर मात्रै अन्य स्थलहरुको भ्रमण प्रारम्भ गर्न आग्रह गरे। उनले जीवनभर आफ्नो भ्रमणको आनन्द लिनका लागि पहिला नेपाल घुम्नु पर्ने उल्लेख गरे। ‘नेपाल घुमेर जुन विविधतापूर्ण आनन्द लिन सकिन्छ, अन्य मुलुकमा सकिँदैन,’ श्रेष्ठले भने। अध्यक्ष श्रेष्ठले कोलम्बो र क्याण्डी सहरमा भएको लुम्बिनीसहित नेपाल प्रबद्र्धन कार्यक्रमले श्रीलंकाका पर्यटक नेपाल भ्रमणमा अत्यधिक आउने विश्वास व्यक्त गरे।

    नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल बहुआयामिक पर्यटकीय गन्तव्य भएको जनाउँदै एकपटक आएर आफ्नो अनुभव संगाल्न श्रीलंकनहरुलाई अपिल गरे।

    श्रीलंकाका ओभर्सिज बुद्धिष्ट टुर अर्गनाइजेसन एशोसिएसनका सचिव महेन्द्र हलोलुवाल नेपाल जान धेरै श्रीलंकनहरु इच्छुक रहेको भन्दै आफूहरुले टूर प्याकेज बनाउँदा नेपाललाई पहिलो प्राथमिकतामा राख्ने जानकारी दिए। ‘आउँदा दिनमा हामीले पहिलो नम्बरमा नेपाललाई राखेर टूर प्याकेज बनाउँछौं, सुन्दर र भगवान बुद्धको देश नेपाल घुम्न हामी श्रीलंकनहरु आतुर छौं । उनले भने, ‘यसका लागि नेपाल सरकारले श्रीलंकन नागरिकलाई फ्रि भिसाको व्यवस्था गरे हामी खुशी हुनथियौं ।’ हलोलुवानले भारत हुँदै लुम्बिनी जाँदा सीमा क्षेत्रमा भारतीय पक्षबाट केही दुःख दिने काम भइरहेको जनाउँदै त्यसलाई समाधान गर्न आग्रह गरे।

    श्रीलंकन भिक्षु उदय धम्म थेरोले धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक नेपाल श्रीलंकन नागरिकको मनमुटुमा रहेको उल्लेख गरे। उनले श्रीलंकनहरुलाई लुम्बिनीसहितका बौद्धस्थल र पोखरा, मुक्तिनाथ, पशुपति, जनपुर घुम्न आग्रह गरे ।
    श्रीलंकन लोटस टुर्स एण्ट ट्राभल्सका अध्यक्ष हर्वट विजेथुंगाले कोलम्बो र क्याण्डीमा भएको नेपाल प्रबद्र्धन कार्यक्रमले श्रीलंकन व्यवसायी र नागरिकको मन जितेको बताए ।

    श्रीलंकन एयरलाइन्सका नेपाल प्रमुख निलिना पाथेरानाले आफूहरुको चाहना नेपालको पर्यटकीय सहरहरुमा उडान भर्ने रहे पनि विभिन्न कारणले ढिलाई भएको भन्दै आउँदा दिनमा काठमाडौंसँगै, भैरहवा र पोखरा उडान भर्न पहल गर्ने बताए । उनले सबैभन्दा पहिला गौतमबुद्ध विमानस्थलमा उडानका लागि आफूहरुले विभिन्न चरणमा छलफल चलाएको र छिट्टै त्यसले सार्थकता पाउने उल्लेख गरे।

    नेपाल प्रबद्र्धन कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित होटल संघ तथा ट्राभल व्यवसायी गरी १८ जना व्यवसायी सहभागी थिए। यस्तै, श्रीलंकाका १ सय ५० बढी ट्राभल तथा टुर अपरेटर र होटल व्यवसायी सहभागी थिए।
    कार्यक्रममा बुद्ध जन्मस्थल लुम्म्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, कुदान लगायत बुद्धिष्ट क्षेत्रसँग सम्बन्धित र मुलुकभरका पर्यटकीय स्थलका बारे तयार पारिएको भिडियो डकुमेन्ट्री देखाइएको थियो।

    यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय र लुम्बिनीस्थित श्रीलंकन बिहारका भन्ते भिक्षु नन्द श्रीले लुम्बिनी र नेपालको पर्यटकीयस्थलबारे दिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। नेपालको पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाली टोली जुन २७ मा श्रीलंका आएको हो ।