२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • नाट्टा पाल्पाद्वारा नयाँ गन्तव्यको खोजीका लागि पदयात्रा अभियान

    ‘बौघापोखराथोक पर्यटकिय सम्भावना भएको ठाउँ’


    तानसेन– नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ। अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तान्सेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको छ।

    तान्सेनको भगवती मन्दिरमा पदयात्राको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले यो अभियानले पाल्पाको पर्यटकिय विकास र विस्तारमा थप टेवा पुग्ने बताए। उनले तान्सेन नगरपालिकाको तर्फबाट पर्यटन प्रवद्र्धनमा आगामी दिनमा पनि सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

    गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले यो पदयात्रा पाल्पाको पर्यटकिय गन्तव्यको लागि महत्वपूर्ण भएको उल्लेख गरे।
    नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले साउन महिनाको पाँचवटै शनिवार विभिन्न गन्तव्यमा पदयात्रा कार्यक्रम गर्ने जानकारी दिए । नयाँ गन्तव्यहरुको पहिचान गरेर प्रवद्र्धन गर्ने उदेश्यले यो अभियान सुरुवात गरिएको उनले बताए।

    पदयात्राको क्रममा चण्डीभञ्ज्याङमा रहेको सय वर्ष अघि बनेको सुरुङको पनि अवलोकन गरिएको थियो। पाल्पाका तत्कालिन तैनाथवाला प्रताप शमसेरले तान्सने बजारको खानेपानीको लागि त्यो सुरुङ बनाउन लगाएका हुन्। त्यसपछि चण्डीभञ्ज्याङ माथि रहेको चचिकोट पदयात्रीको टोली पुगेको थियो। जहाँ तत्कालीन राजाका पुजारी रतन रतन पाँडेको गन्तव्य हो।

    त्यहाँबाट बौघापोखराको थाम्के डाँडा पुगिएको थियो। उचाइमा रहेको थाम्केडाँडाबाट मनोरम हिमश्रींखलाका साथै, कालिगण्डाकी नदि, परपरसम्मका फाँट र बस्तीहरु देख्न सकिन्छ। सो ठाउँमा दृष्य नियाल्न ट्रि हाउस पनि बनाइएको छ । जहाँ चढेर अझ आनन्दसँग दृष्य नियाल्न सकिन्छ। त्यस्तै एडभेन्चर स्विङ पनि रहेको छ।

    थाम्काडाँडामा आयोजित कार्यक्रममा तानसेन १२ का वडाध्यक्ष मेजर सिह केसीले यो ठाउँ प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक महत्व पनि भएको उल्लेख गरे।

    पदयात्रापछि नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पाल्पा आउने पर्यटकको बसाइ बढाउन यो बौघापोखराथोक महत्वपूर्ण गन्तव्य हुने बताइन्। पाल्पामा आउने पर्यटकको लागि तानसेन, श्रीनगर, भैरबस्थान, रानी महल मात्र नभएर अरु थुपै गन्तव्य रहेको र त्यसको खोजी गरि प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ।

    पदयात्रामा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त, बरिष्ठ उपाध्यक्ष चन्द्र थापा, बोर्ड सदस्य प्रदिपकुमार पोखरेल सहित नाट्टा पाल्पा च्याप्टरका पदाधिकारी तथा सदस्य र पर्यटनसँग सरोकारवालाहरुको सहभागिता रहेको थियो।