२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • सङ्‍घीय पर्यटन विधेयक तर्जुमाको लागि मन्त्रालयले माग्यो राय सुझाब


    काठमाडौँ -संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ सङ्‍घीय पर्यटन ऐन ल्याउन राय सुझाब मागेको छ। मन्त्रालयले एक सूचना जारी गरि नयाँ सङ्‍घीय पर्यटनविधेयकमा समावेश गर्न आवश्यक देखिएका विषयमा ३० दिन भित्र राय सुझाब तथा पृष्ठपोषण उपलब्ध गराउन अनुरोध गरेको हो।

    विद्यमान पर्यटन ऐन २०३५ लाई परिमार्जन गरि नयाँ सङ्‍घीय पर्यटन विधेयक तर्जुमा गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट असार २६ गते सैद्धान्तिक स्वीकृती प्राप्त भएको भन्दै मन्त्रालयले पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघ संस्थाहरु, विज्ञहरु, अनुसन्धानकर्ता लगायत सरोकारवालाहरुसँग राय सुझाब मागेको हो।
    संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले ४५ बर्ष पुरानो संङघीय पर्यटन ऐन समय सापेक्षित परिमार्जनको थालनी भएको बताए। ‘४५ बर्ष पुरानो संङघीय पर्यटन ऐन समय सापेक्षित परिमार्जनको थालनी भएको छ। सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरुको सुझावलाई समेट्ने उदेश्यले ३० दिनको समय व्यवस्था गरिएको छ।’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

    नेपालको संविधान अनुसार पर्यटन सम्बन्धि कार्य संघ, प्रदेश र स्थानिय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको छ। पर्यटन प्रवद्र्धन, पर्यटकीय उपज तथा पूर्वाधारको विकास उपयोग र नियमन सम्बन्धि कार्य तीनै तहका सरकार मार्फत अगाडि बढाउनुपर्ने अवस्था रहेकोे मन्त्रालयको भनाइ छ।

    त्यस्तै पर्यटन क्षेत्रमा विकसित नविन विषयहरुलाई कानूनमा समावेश गरि नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्वपूर्ण आधारको रुपमा विकास गर्न र प्रवद्र्धन गर्न विध्यमान ऐनलाई परिमार्जन गरि नयाँ संघिय पर्यटन विध्येक तर्जुमा गर्न लागिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।