२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • पाल्पाको सिद्ध गुफा : जहाँ प्रवेश गर्दा आनन्दको अनुभव हुन्छ

    तानसेन – पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १२ मा प्राकृतिक रुपमा निर्मित भएको सुन्दर गुफा छ। जसलाई सिद्ध गुफा भनिन्छ। तानसेन बजारबाट रानीमहल जाने बाटोमा अवल भन्ने ठाउँ छ। सो ठाउँबाट रानीमहल जाने बाटोलाई छोडेर २० मिनेट पैदल हिडेपछि उक्त गुफामा पुग्न सकिन्छ।तर यो गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

    प्राकृतिक रुपमा निर्माण भएको गुफा झण्डै ५० मिटर भित्रसम्म रहेको स्थानियहरु बताउँछन्। नाट्टा पाल्पा च्याप्टरले ‘हाम्रो अभियान नयाँ पर्यटकिय गन्तव्यको पहिचान’ भन्ने नाराका साथ श्रावण महिनाको प्रत्येक शनिवार एकदिने पदयात्राको आयोजना गर्दै आएको छ। जस अनुसार तेस्रो शनिवार नाट्टा पाल्पामाको टोली सिद्धगुफा पुगेको थियो। यो गुफा २०५३ सालमा भेटिएको स्थानिय बुद्धबहादुर थापाले बताए।


    नाट्टा पाल्पा च्याप्टरका राजिवकुमार शाहले सिद्धगुफा भित्र प्रवेश गर्दा सुन्दरतासँगै सितलताको अनुभुती भएको सुनाए। ‘गुफाभित्रका आकृती आँफैमा बहुमुल्य छ। पाल्पाको पर्यटकिय गहना रहेको छ।’ उनले भने। पोखरा लगायत अन्य ठाउँका गुफा भन्दा यहाँको गुफामा फरक अनुभव भएको भन्दै शाहले यसको प्रचारप्रसार र प्रर्वद्धनको लागि सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए।

    सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ घिमिरेले गुफालाई व्यवस्थापन गर्न पहल गरिएको सुनाए। ‘गुफा भित्र प्रवेश गर्र्दा एक दुई स्थानमा कठिनाइ थियो। त्यो ठाउँमा जाली भर्याङको व्यवस्था गरेका छौं।’ उनले भने ‘विजुली बत्तीको व्यवस्थाका लागि वेरिङ गरेका छौं।’

    नाट्टा पाल्पाका सचिव सतिषराज शाक्यले सिद्ध गुफा एकपटक आउनै पर्ने ठाउँ भएको बताए। गुफा भित्रको मनोरम दृष्य देख्दा आनन्दित भएको पदयात्रामा सहभागीहरुले बताएका थिए।