२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • बुटवल र नुवाकोट जोड्ने सिद्धार्थ केबलकार तिहारपछि सञ्चालन हुने

    भैरहवा र परासीसम्म दृष्यावलोकन गर्दै यात्रा गर्न सकिने

    बुटवल– बुटवलबाट नुवाकोट जोड्ने सिद्धार्थ केबलकार तिहारपछि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बुटवलको देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्म दुई किलोमिटर दुरीको केबलकार अहिले निर्माण भइरहेको छ। हालसम्म केबलकार तर्फ ८० प्रतिसत र बाँकी पुर्वाधारतर्फ ६० प्रतिसत काम सकिएको सिद्धार्थ केबलकारका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए।

    निर्माण सकिएपछि परिक्षण सञ्चालन गर्ने र तिहारपछि औपचारीक रुपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। ‘दशैं र तिहारको विचमा ट्रायल गर्ने हाम्रो योजना छ। गोण्डलाहरु चलाएर सुरक्षाको मापदण्ड लगायतका कुराहरु परिक्षण गरेपछि बल्ल पब्लीकमा जाने हो।’ गुरुङले भने ‘सायद तिहारपछि सञ्चालनमा आउन सक्छ।’

    यसअघि बुटवलबाट बसन्तुपुर जोड्ने गरि लुम्बिनी केबलकार सञ्चालनमा आएको छ। सिद्धार्थ केबलकार प्रा.लि. ले पनि एक अर्बको लागतमा केबलकार निर्माण गरिरहेको छ। देउराली डाँडाबाट पाल्पाको ऐतिहासिक स्थल नुवाकोटसम्म केबलकारको दुरी २ किलोमिटर छ। केबलकार यात्राको ५ सय मिटर जंगलको बीच हुँदै यात्रा हुन्छ। बाँकी डेढ किलोमिटरको यात्रामा बुटवल सहित पर परसम्म दृष्यावलोकन गर्ने सकिने अध्यक्ष गुरुङले बताए। ‘सुरुमा जंगलका चराचुरुगी र प्रकृती देखाउन हामीले टावरलाई होचों राखेका छौं।’ उनले भने ‘पाँचसय मिटरको यात्रापछि पुरै बुटवलको दृष्य देखिन्छ। त्यसपछि भैरहवा र परासीसम्म दृष्यावलोकन गर्न सकिन्छ।’

    नुवाकोट ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थल हो। नुवाकोट विगतमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको ठाउँ हो । यही ठाउँमा बसेर कर्णेल उजिर सिंह नेतृत्वको सेनाले अंग्रेजलाई परास्त गर्न अद्वितीय युद्ध रणनीतिहरू प्रयोग गरेका थिए। यस्तै भैरब मन्दिर तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदाहरू नुवाकोटमा छन्।

    केबलकारको बटम स्टसन र टप स्टेसनमा अरु पूर्वाधारहरु पनि बनिरहेका छन्। सातवटा कमलको फूल आकृतीको लोटस पार्क पनि बन्ने छ। जस मध्ये ६ वटा बटम स्टेसनमा हुने छ। बाँकी एउटा टप स्टेसनमा रहने छ। टप स्टेसनको कमलको फूलको आकृतिमाथि ५० फिट अग्लो बुद्धको मुर्ति बनाइने छ। त्यसबाहेक ढुंगेधारा, रेष्टुरेन्ट लगायतका संरचना बन्नेछन्।