२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • पर्यटन व्यवसायीको नेपाल एयरलाइन्सलाई आग्रह: भैरहवाबाट दिल्लीसँगै कतार र दुबईमा सिधा उडान  

    भैरहवा-भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु गरेपछि नेपाल एयरलाइन्सले पर्यटन व्यवसायीहरुसँग छलफल गरेको छ। छलफलमा पर्यटन व्यवसायीहरुले ट्रान्जिट मात्र नभई भैरहवाबाट सिधा उडान गर्न आग्रह गरेका थिए।

    भैरहवाबाट दिल्लीसँगै खाडी मुलकका गन्तव्यमा पनि सिधा र दोहोरो उडान थाल्न माग गरेको नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले बताइन्। ‘हामीले भैरहवा दिल्ली, भैरहवा कतार र भैरहवा दुबई दोहोरो सिधा उडान गर्न भन्यौं ।’ उनले भनिन् ‘भैरहबाटबाट गोरखपुर हुँदै दिल्ली जानभन्दा डबल भाडा काठमाडौँ ट्रान्जिटबाट जान छ । त्यसैले हामीले पहिलो चरणमा दिल्लीको भाडा घटाउन भनेका छौं।”

    पर्यटन व्यवसायीहरुले ट्रान्जिटको क्रममा केही समय काठमाडौँ होल्ड भएका यात्रुलाई सुविधा र सहजता प्रदान गर्न पनि आग्रह गरे। ‘भैरहवा दिल्लीका उडेका यात्रु काठमाडौँमा ४ घण्टा बस्नुपर्छ। अन्तराष्ट्रिय बोर्डिङ पास लिएपछि बाहिर निस्केर खान पाउने कि नपाउने। भित्र खानुपर्यो सहुलियत दरमा उपलब्ध गराउने बारेमा पनि विचार गर्न आग्रह गरेका थियौं।’ पन्तले भनिन्।

    छलफलमा नेपाल एयरलाइन्स गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रमुख माधव लोहोनीले यात्रुहरुलाई कसरी सुविधा हुन्छ त्यही तरिकाले सेवा दिँदै जाने बताएका थिए। ‘अहिले सुरुवात गरेका छौं तर पर्याप्त  होइन तर हामीले राम्रो सन्देश दिउँ ।’ पर्यटन तथा ट्राभल व्यवसायीहरुसँगको छलफलमा उनले भने ‘हामीले यात्रुको सुविधा र सहजताको लागि हामीले मिहेनत गछौं।’

    यसैबीच पर्यटन व्यवसायीहरुले आजै बुद्धएयरका प्रतिनिधीसँग पनि भेट गरेका छन्। बुद्ध एयरका भैरहवा शाखा प्रमुख दर्शन घिमिरेसँगको भेटमा व्यवसायीहरुले भैरहवाबाट विराटनगर र लखनौ उडानको पहल गर्न आग्रह गरेका थिए।