२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • पाल्पाको सौन्दर्यमा रमाएर फर्के भारतका पर्यटन व्यवसायीः ‘अब यहाँको प्याकेज बेच्नेछौं’

    तानसेन-भारतको उत्तर प्रदेश र विहारका पर्यटन व्यवसायीहरु केही दिन अघि पाल्पा आएर फर्केका छन्। भगवती जात्राको अवसरमा तानसेन आएका उनीहरुले तीन दिनसम्म पाल्पाका विभिन्न ठाउँहरुको अवलोकन गरे। ऐतिहासिक रणउजेश्वरी भगवती जात्राको अवलोकनसँगै श्रीनगर, तीनछाँगा, सिद्ध गुफा, रानीमहल, रिडी, भैरबस्थान लगायतका ठाउँमा उनीहरु पुगे। त्यस्तै कुहिरेभिर थाम्के डाँडा लगायतका ठाउँको पनि भ्रमण गरे।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा पाल्पा च्याप्टरको कार्यक्रम अन्तर्गत भारतीय पर्यटन व्यवसायीहरु यहाँ आएका थिए। पाल्पाका विभिन्न ठाउँको अवलोकन पछि भारतका टुर अपरेटरहरुसँग बीटुबी सेसन पनि भयो। बीटुबी सेसनमा यहाँका ट्राभल व्यवसायी, होटल, होम स्टेहरु, एड्भेन्चर प्याराग्लाइडिङ, जिपलाईन लगायतका टेबल राखिएको थियो। ति टेबलहरु मर्फत उनहिरुले पर्यटकीय सेवा सुविधाबारे जानकारी र सुचना लिएका थिए। ‘सेवा सुविधा के छ। होटलको ट्राभलको रेटहरु कस्तो छ। कस्तो ठाउँमा छ लगायतका बारेमा उहाँहरुले जानकारी लिनुभयो। नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाहले भने।

    बीटुबी सेसनका क्रममा टुरिजम एशोसिएसन अफ विहारका अध्यक्ष एस के सिंह सोनुले पाल्पा प्राकृतिक र सांस्कृतिक रुपमा निकै धनि रहेको भन्दै यहाँको टुर प्याकेज आफूहरुले बेच्ने बताए। ‘विहारका जति पनि टुर अपरेटरहरु छौं। हाम्रो लागि यो गन्तव्य महत्वपूर्ण छ। विहारबाट यती नजिकमा यो प्रकारको वातावरण छैन।’ उनले भने ‘प्राकृतिक रुपमा निकै सुन्दर छ। गाउँको मौलिक खाना, भेषभुसा साँस्कृतीक प्रस्तुति निकै आकर्षक थियो। अब हामीहरुले यो प्रोडक्टहरु बेच्न सक्छौं।’

    भारतीय पर्यटक व्यवसायीहरुले भैरबस्थान र रिडीलाई पनि महत्व दिएका थिए। त्यस्तै शान्त र हरियाली वातावरणसँग पनि मोहित भएका थिए। बनारस टुरिजम गिउल्डका सचिव अनिल त्रिपाठीले पाल्पाको हरियाली आकर्षक र मनमोहक लागेको सुनाए। साथै मगर समुदायको रहन सहन व्यवहार एकदम राम्रो लागेको उनले बताए। टुरिजम एशोसिएन अफ विहारका संस्थापक अध्यक्ष सन्जय शर्मा नेपालमा यत्तीको सौन्दर्य भएको ठाउँ अरु ठाउँमा आँफूले नदेखेको उल्लेख गरे।

    समापन समारोहमा ३ वटै पालिकाबाट प्रतिनिधिहरु थिए। भारतीय पर्यटन व्यवसायीहरुले तानसेन नगरपालिका, बगनासकाली र रिब्दीकोट गाउँपालिकाका लागि कोशेली उपलब्ध गराएका थिए। यस्तै नाट्टा पाल्पाले भारतीय पाहुनाहरुलाई कोशेली स्वरुप स्थानिय उत्पादन करुवा प्रदान गरेको थियो। कार्यक्रममा नाट्टा पाल्पा च्याप्टरका संस्थापक अध्यक्ष प्रदिपप्रसाद उदय, सचिव सतिसराज शाक्य, सागरमान महर्जन आ–आफ्ना भनाइ राखेका थिए।

    भारतीय पर्यटन व्यवसायीको भ्रमण पाल्पाको पर्यटनमा कोशेढुंगा

    पाल्पा आएका उत्तर प्रदेश र विहारका पर्यटन व्यवसायीले पाल्पाको सौन्दर्य देखेर नौलो अनुभव गरेका थिए। ‘हामीलाई त काठमाडौँ, चितवन र पोखरा मात्र थाह थियो। पाल्पालाई त तपाईहरुले एक्सपोज नै गर्न सक्नुभएको रहेनछ।’ उनीहरुले भनेका थिए ‘यस्तो सुन्दर र शान्त ठाउँ छ। दुई-तीन दिन बस्ने गरि हामीले हनिमुन लगायतका अन्य टुर प्याकेज बनाएर पर्यटकहरु पठाउन सक्छौं। ’

    टुर अप्रेटरहरुको साथमा त्यहाँका सञ्चारकर्मीहरु पनि आएका थिए। उनीहरुले पाल्पाको गन्तव्यहरुका बारेमा त्यहाँका सञ्चार माध्यम, युट्युव र सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन्।

    नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहले भारतीय पर्यटन व्यवसायीसँगको कार्यक्रम पाल्पाको पर्यटनको लागि कोशेढुंगा भएको उल्लेख गरे। उनले यो कार्यक्रमको निकै प्रचार प्रसार भएको र पर्यटन क्षेत्रका सरोकारवालाबाट राम्रो प्रतिक्रिया पाएको सुनाए।

    शाहले बीटुबी कार्यक्रमको परिणाम पर्खेर बसेको बताए। ‘उहाँहरुले पर्यटकहरु पठाउनुहुन्छ भन्नेमा हामी पूर्ण आशाबादी छौं। यसको रिजल्ट हेर्न केही महिना कुर्नै पर्छ।’ उनले भने ‘यो कार्यक्रम पाल्पाको पर्यटनको लागि कोशेढुंगा नै बन्छ भन्ने हामीलाई लागेको छ ।’