
बुटवल– विश्व शान्तिको सन्देशको लागि काठमाडौंबाट लुम्बिनीसम्म साइकिल यात्रा हुने भएको छ। महासिद्ध पिस स्याङ्चुरीको आयोजनामा बैशाख १५ गतेदेखी ४ दिने शान्तिको लागि साइकिल यात्रा हुने भएको हो। यात्राका क्रममा १०८ जना साइकिलयात्री सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
काठमाडौंको स्यम्भुबाट सुरु हुने साइकिलयात्रा हेटौडा, नारायणगढ, कावासोती, बर्दघाट, भुमही, भैरहवा हुँदै बैशाख १८ गते बुद्ध जयन्तीको दिन लुम्बिनी पुग्ने यात्राका प्राविधिक संयोजक देवेन्द्र बस्नेतले जानकारी दिए।
बैशाख १९ गते विहान ७ बजे ध्यान कार्यक्रम हुने छ। ८ बजे युनिभर्सल पिस स्याङ्चुरीका परिकल्पनाकार तथा संस्थापक श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लिखित पूर्ण मुक्तीको मार्ग पुस्तकको विमोचन हुने जानकारी गराइएको थियो।
पत्रकार सम्मेलनमा रिन्पोछेले अहिले मध्यपूर्वमा भइरहेको युद्धको कारण विश्वभर चिन्ता छाएको भन्दै लुम्बिनीबाट शान्तिको सन्देश दिन साइकलयात्रा आयोजना गरिएको बताए। अहिले बुद्धको दर्शन र सन्देशको अनुसरण आवश्यक रहेको उनले उल्लेख गरे। शान्तिका लागि ४ दिने साइकल यात्रा गर्दा शान्तिको प्रवाह हुने रिन्पोछेको भनाइ छ। रिन्पोछेले झण्डै ४० वर्षदेखी विश्वभर शान्तिको सन्देश र बौद्ध शिक्षा फैलाउन योगदान गर्दै आएका छन्।

