२०८३ बैशाख २३ गते, बुधबार १६:४८
  • लुम्बिनी आएका पर्यटकले अब विद्युतीय भ्यानमा बुद्ध परिपथ घुम्न पाउने

    लुम्बिनी – लुम्बिनी विकास कोषले पर्यटकको लागि विद्युतीय भ्यान उपलब्ध गराउने भएको छ। बृहत्तर लुम्बिनी क्षेत्रमा तिर्थयात्री तथा पर्यटकको सहज आवगमनको लागि भ्यान सेवा सञ्चालनमा ल्याइएको कोषले जनाएको छ।

    आफ्नो वेवसाइटमा सूचना प्रकासित कोषले गरि सुलभ दरमा विद्युतीय सवारी उपलब्ध गराउने बताएको छ। ‘आगन्तुकहरुले यस वातावरणमैत्री यातायात सेवा मार्फत लुम्बिनी, कपिलवस्तु देवदहका साथै रामग्राम लगायतका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको सहज रुपमा भ्रमण गर्न सक्ने छन् ।’ सूचनामा भनिएको छ।

    एशियाली विकास बैंकको अनुदानमा आएका विद्युतीय भ्यानलाई पर्यटक तथा तिर्थयात्रीको सूविधाको लागि उपयोगमा ल्याइएको हो। अनुदानमा आएका १४ वटा भ्यान मध्ये १२ वटा भ्यान पर्यटकको सेवाको लागि सञ्चालन हुनेछन्। सञ्चालनमा ल्याएको विद्युतीय भ्यान अन्य भाडाका ट्याक्सी भन्दा सहुलियत दरमा उपलब्ध गराउने लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्न्यातले जानकारी दिए। कति भाडा लिने कसरी सञ्चालन गर्ने भन्ने बारेमो कार्यविधी बन्न बाँकी रहेको र तत्काललाई कसैले बुद्धस्थल घुम्न खोजेमा प्रचलित भाडामा सहुलितय दिएर उपलब्ध गराउने उनले बताए।

    साढे पाँचवर्ष अघि ५ वटा विद्युतीय बस र १४ वटा विद्युतीय भ्यान लुम्बिनी ल्याइएको थियो। सञ्चालन हुन नसकेर अलपत्र अवस्थामा थिए। विद्युतीय बस लुम्बिनी विकास कोषले नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । अहिले केही विद्युतीय बस पश्चिमका विमानस्टलमा सटल बसको रुपमा सञ्चालनमा आएका छन्। विद्युतीय भ्यान पर्यटकको सुविधाको लागि उपलब्ध गराइने भएको छ।