
बेइजिङ चीनको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान प्राप्त गरेको छ। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणको आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपाल पर्यटन बोर्डले २१ देखि २३ मे सम्म चिनको ग्वाङ्झाउमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले वेलनेस, सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो।
चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर बे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण बजारका रूपमा हेरिएको छ। विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
मेलाको उद्घाटन दिन २१ मेमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘डेस्टिनेसन नेपाल’ सम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो।
२२ मे मा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिएका थिए। उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा समेत सहभागिता जनाएका थिए । बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसहितको टोलीले मेलामा नेपालको प्रतिनिधित्व गरेको थियो।
नेपालको स्टलमा ‘स्पिन एन्ड विन’ लक्की ड्र कार्यक्रम तथा वेलनेस पर्यटन प्रवर्द्धनअन्तर्गत नेपाली सिङ्गिङ बाउलको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहेका थिए । मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरूबारे चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी दिएका थिए ।
यसअघि नेपाल पर्यटन बोर्डले २० मे २०२६ मा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा चीनको सेन्जेनमा आयोजित “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” पर्यटन प्रवर्द्धन तथा बीटुबी नेटवर्किङ कार्यक्रममा पनि सहभागिता जनाएको हो।
हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन्। यसले नेपाल र चीनबीचको पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने बोर्डको विश्वास छ।

