२०८३ कार्तिक २२ गते, शनिबार २३:२४
  • ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि सरकार निरन्तर लागिरहेको छ, छिट्टै सुखद खबर आउँदैछ’

    बुटवल – प्रतिनिधि सभा सदस्य पुनम अग्रवालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि सरकार सबै पहल जारी राखेको बताएकी छन्। उनले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिइन्।

    शनिवार चेम्बर अफ कमर्श रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा सांसद अग्रवालले प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ एयर रुटको एजेण्डा पनिरहेको बताइन्। ‘अन्तराष्ट्रिय उडानको पहलको लागि सरकारले निरन्तर पहल गरिरहेको छ। एकदमै छिटो हामीले सुखद समाचार थाह पाउने वाला छौं। हामीले प्रधानमन्त्रीको भारत भ्रमण पर्खौं।’ उनले भनिन् ‘भारतीय विदेश सचिवसँग पनि मेरो भेट भएको छ। उहाँहरु पनि भैरहवाको अन्तर्राष्ट्रिय उडान र एयर रुटको बारेमा सकारात्मक हुनुहुन्छ।’ प्रतिनिधि सभा बैठकमा आफूले पाउने शून्य, विशेष तथा आकस्मिक समयमा निरन्तर गौतमबुद्ध विमानस्थलको पक्षमा आवाज उठाउँदै अग्रवालको भनाइ छ।

    सरकारकै पहलका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको भन्दै उनले भैरहवाबाट पनि अन्तराष्ट्रिय उडान गराएर छाड्ने दाबी गरिन्। अग्रवालले अन्तर्राष्ट्रिय उडानको निरन्तरताको लागि निजी क्षेत्रको भूमिका र सहकार्य पनि आवश्यक भएको धारणा राखीन्।
    विमानस्थल संचालन प्रक्रियालाई तीव्र बनाउन निजी क्षेत्र विभाजित नभई एकताबद्ध भएर उभिनुपर्ने बताउँदै उनले त्यसका लागि आफू निजी क्षेत्रसँग हातेमालो गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिन्।

    छलफलमा होटल एशोसिएन हान लुम्बिनी प्रदेशका अध्यक्ष सीपी श्रेष्ठले आफूहरुले सरकारलाई पटक पटक ध्यानाकर्षण गरेपनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए। नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापाले विदेशमा बजेट एयरलाइन्सहरु राजधानी बाहिर चल्ने गरेको भन्दै हवाइ नीति परिवर्तन गरेर त्यो निती हुनुपर्ने धारणा राखे। सोट्टो लुम्बिनीका उपाध्यक्ष सञ्जिव जोशीले अन्तर्राष्ट्रिय उडानको वातावरणका लागि निरन्तर छलफल हुनुपर्ने धारणा राखे।

    कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, बाणिज्य उपाध्यक्ष सुरेन्द्र पाण्डे, सिद्धार्थ होटल संघका बरिष्ठ उपाध्यक्ष किशोर जोशी, सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही अध्यक्ष राजेश महोत्रा लगायतले सबै मिलेर भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्नुपर्ने धारणा राखेका थिए। नियमित उडानमा पहल गर्नुपर्ने बताए । व्यवसायीले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा विमानस्थलको एजेण्डा प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।