२०८३ मंसिर ३ गते, बुधबार ०४:२९
  • प्रधानमन्त्रीको भारत भ्रमणसँगै भैरहवा विमानस्थलको लागि रुट पाउने आशा


    काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहको हुने भनिएको आगामी भारत भ्रमणसँगै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि यतीबेला चर्चा विषय बनेको छ। मंसिरको ६ र ७ गते प्रधानमन्त्री भारत जाने कार्यक्रम छ।

    यो पटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नयाँ रुट प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य एजेण्ड बनेको छ। केही दिन अघि रुपन्देहीकी प्रतिनिधि सभा सदस्य पुनम अग्रवालले भैरहवाको अन्तर्राष्ट्रिय उडान बारे छिट्टै सुखद समाचार आउने व्यवसायीहरुलाई बताएकी थिइन्। ‘भैरहवाको अन्तराष्ट्रिय उडानको लागि सरकारले निरन्तर पहल गरिरहेको छ। एकदमै छिटो हामीले सुखद समाचार थाह पाउने वाला छौं। हामीले प्रधानमन्त्रीको भारत भ्रमण पर्खौ ।’ उनले भनेकी थिइन्।

    विगतमा प्रधानमन्त्रीको भारत भ्रमणको बेला पनि भैरहवा विमानस्थलको लागि नयाँ रुटको चर्चा उठ्ने गरेको थियो। ठोस निर्णय हुन सकेको थिएन। अहिले भैरहवा रुटको लागि नेपालले अडान राखिरहेको र भारतले पनि त्यसको सट्टामा आफ्नो बाग्डोरा विमानस्थलको लागि नेपालसँग रुट मागिरहेको खबर सार्वजनिक भएको छ। यो समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्रीको हुन लागेको भारत भ्रमण प्रति रुपन्देहीका निजि क्षेत्र आशाबादी बनेका छन्।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रधानमन्त्रीको हुन लागेको भारत भ्रमणले केही आशा जगाएको बताए। ‘भैरहवाको एयररुटको विषयलाई सरकारले प्राथमिकतामा राखेर कुरा गरोस् भन्ने हाम्रो चाहाना छ। सकारात्मक भाइब्स पनि आइरहेको छ।’ उनले भने ‘भारतले बाग्डोराको लागि एयर रुट मागेको कुरा आएको छ। यसले भैरहवा विमानस्थलको सम्बन्धमा छलफल अगाडी बढ्यो होला भन्ने आशा जागेको छ। सकारात्मक परिणाम दियो भने एकदम राम्रो हुन्थ्यो।’

    नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्लको लागि नयाँ रुट मागिरिहेको बेला भारतले पनि नेपालको आकास मागेको छ। पूर्वी नेपाल र भुटानसँग नजिक रहेको भारतको बागडोग्रा विमानस्थलबाट उड्ने र ओर्लने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकासको रुट मागेको हो। यसबारेमा नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सहितको टोलीले गृहकार्य गरिरहेको छ। भारतले नयाँ रुट दिने वित्तीकै भैरहवा र दिल्ली उडानको सम्भावना हुन्छ। छिमेकी मुलुकमा हुने उडानले अरु मुलुकका जहाज पनि भैरहवा आउने महासंघका प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ बताउँछन्। ‘यहाँबाट दिल्ली उडान भयो भने अरु उडानहरु पनि आउँछन्। विदेश जाने मान्छेहरु भैरहवाबाट दिल्ली हुँदै उड्छन्। नेपाल आउने मान्छेहरु पनि दिल्लीबाट भैरहवा झरेर आउँछन्। रुट दियो भने अरु एयरलाइन्स पनि आकर्षित हुन्छन्।’ उनले भने ।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटटा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले नयाँ रुटको आशा जागेको भन्दै भ्रमणसँगै उडान पनि सुरु हुनुपर्ने उल्लेख गरे। ‘भैरहवाको लागि नयाँ रुटको बारेमा हामी आशाबादी नै छौं। त्यसँगै उडानको वातावरण पनि बन्नुपर्छ। सबै भन्दा पहिले भैरहवा बोधगया उडान हुन आवश्यक छ।’ उनले भने ‘त्यसो भयो भने लुम्बिनी र बोध गया आएको बुद्धिष्ट देशका पर्यटक ओहोर दोहोर गर्न सहज हुन्छ। थाइल्याण्डबाट पनि भैरहवामा उडान भयो भने लुम्बिनी आएकालाई बोध गया जान सहज हुन्छ।’ थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा अरु विषय छोडेर भैरहवाको अन्तर्राष्ट्रिय उडान मुख्य एजेण्डा बन्नुपर्ने धारणा राखे।

    भैरहवामा अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण एयर रुट मात्र कारण होइन। यस अघि २०८१ साल कात्र्तिकदेखी चैत्रसम्म जजिरा एयरवेज, फ्लाइ दुबई र थाइएयर एसियाले उडान गरेका थिए। उनीहरुले रुटको कारण नभइ यात्रु अभावको कारण देखाउँदै उनीहरुले उडानलाई निरन्तरता दिएनन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता कुमार सुजखुले रुटको कारणले मात्र भैरहवामा अन्तराष्ट्रिय उडान नभएको भन्न नमिल्ने बताए। ‘रुट नहुँदा पनि पहिले चलेकै थियो। रुटकै कारण बन्द भएको होइन। एयर रुटसँगै भैरहवाबाट भारत एउटा उडान ब्रेक थ्रु भयो भने राम्रो हुन्छ। त्यो होला कि भन्न आशा छ।’ उनले भने।