
बुटवल– दुई दशक अघिसम्म बुटवलका होटलहरु ट्राफिक चोक र बसपार्क क्षेत्र आसपासमा सिमित थिए। त्यसबेला बजारको व्यस्त क्षेत्र र पायक पर्ने ठाउँमा मात्र होटल व्यवसाय चल्ने गर्दथ्यो। एसी डिलक्स होटलहरु निकै कम हुन्थे। एटेच बाथ र ननएटेज कोठाहरु नै धेरै थिए। समयक्रमसँगै बुटवमा होटलको संख्या पनि बढ्दै गयो ।
अहिले गोलपार्कदेखी योगिकुटीसम्म होटलहरु विस्तार भएका छन्। त्यस्तै रामनगरदेखी तामनगरसम्म ठाउँ ठाउँमा पर्यटक स्तरका होटल र रिसोर्टहरु खुलेका छन्। मोतिपुर र सेमलार क्षेत्रमा पनि होटलहरु थपिइरहेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले स्तरिय सेवा भए पर्यटकहरु जुनसुकै ठाउँका होटलमा पनि पुग्ने बताए। ‘पहिले शहरका व्यस्त ठाउँमा मात्र होटलहरु सिमित थिए । अहिले शान्त र खुल्ला ठाउँहरुमा पनि होटल विस्तार भएको छ ।’ उनले भने ‘पहिले जस्तो अहिले होटल खोज्दै हिड्नु पर्दैन प्रविधिको युगमा मोवाइलमै कुन ठाउँमा कस्तो स्तरको होटल छ के के सुविधा छ भनेर जान्न सकिन्छ । पाहुनाहरु स्तरिय सेवा भयो भने जुनसुकै स्थानको होटलमा पुग्न सक्छन् ।’
विगतमा बुटवलमा स्तरिय होटलहरु कम थिए। उच्च स्तरका पाहुनाहरु बस्नको लागि लुम्बिनी जाने गर्दथे । तर अहिले त्यस्तो अवस्था छैन । पर्यटक स्तरका थुप्रै होटलहरु बुटवलमा सञ्चालित छन्। पाँच तारे हायात प्यालेश होटल पनि बुटवलमा खुलेको छ। साढे ३ अर्बको लगानीमा गत कात्तिक महिनादेखि बुटवल मण्डप अगाडी हायात प्योल होटल सञ्चालनमा आएको हो। होटलमा भारतीय र विदेशी पाहुनाहरु आइरहेका छन् । बुटवलमा अरु दर्जनौ स्तरिय सुविधासम्पन्न होटल सञ्चालनमा छन् । जहाँ भारतीय तथा विदेशी पाहुनाहरु पनि आएर बस्ने गरेका छन् ।
बुटवलमा अहिले एक पटकमा १५ सय बढि पाहुना राख्न सकिने खालका स्तरिय होटलहरु रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव नेपाल बताउँछन् । ‘सामान्य होटललाई समेत समेट्ने हो धेरै होला । तर स्तरिय बसाइको लागि एक पटकमा बुटवलमा १५ सय देखि २ हजार सम्म पाहुना राख्न सकिन्छ ।’ उनले भने ‘होटलका धेरै कोठाहरु एसी सहितका स्तरिय छन् ।’
स्तरिय होटलहरुको संख्या बढ्दै गएकाले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्न सकिने सम्भावना छ । बुटवल लुम्बिनी र पाल्पाको विचमा पर्दछ । बुटवलमा पर्यटक आकर्षित गरि यहाँ बसालेर लुम्बिनी र पाल्पाका भ्रमणको व्यवथापन गर्न सकिन्छ । बुटवलकै पर्यटन व्यवसायीहरुले लुम्बिनी प्रदेशका अरु गन्तव्य सँगै पोखरा, ढोरपाटन, मुक्तिनाथ सम्मका पर्यटकहरुको लागि भ्रमणको व्यवस्था मिलाउन समेत सक्छ।
त्यसको लागि यहाँका पर्यटन व्यवसायीहरुले प्रवद्र्धनात्मक कार्यक्रमसँगै टुर प्याकेज बनाएर पर्यटक आकर्षित गर्नुपर्छ । साथै बुटवलबाट मुक्तिनाथ ढोरपाटन लगायतका क्षेत्रमा पर्यटकीय बस सञ्चालन भयो भने अझ सहज हुन्छ । स्तरिय र तारे होटलहरु थपिँदै गए यहाँका जनप्रतिनिधि पर्यटन व्यवसायीले एक भएर चासो दिने हो भने बुटवल पर्यटकीय विश्राम स्थल बन्न सक्ने सम्भावना छ।

