
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा अवस्थित लुम्बिनी प्यालेस रिसोर्टले पर्यटन तथा आतिथ्य सेवामा नयाँ आयाम थप्ने उद्देश्यसहित हरेक शुक्रबार साँझ लाइभ म्युजिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।
पाहुनालाई मनोरञ्जनसँगै स्तरीय आतिथ्य अनुभव प्रदान गर्ने लक्ष्यका साथ रिसोर्टले नियमित सांगीतिक कार्यक्रम सुरु गरेको हो।
रिसोर्टमा आयोजना हुने लाइभ म्युजिक कार्यक्रममार्फत पाहुनाले रमाइलो र आकर्षक वातावरणमा प्रत्यक्ष संगीतको आनन्द लिन पाउनेछन्। व्यस्त दैनिकीबाट केही समय अलग भएर परिवार, साथीभाइ तथा आफन्तसँग गुणस्तरीय समय बिताउन चाहनेहरूका लागि यो कार्यक्रम मनोरञ्जनको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी हुन चाहने पाहुनाको आवतजावतलाई सहज बनाउन रिसोर्टले बुटवलको मिलनचोकदेखि रिसोर्टसम्म हरेक शुक्रबार निःशुल्क शटल यातायात सेवाको समेत व्यवस्था गरेको छ। रिसोर्टका निर्देशक (Director of Operations) विकास बेलबासेका अनुसार मिलनचोकबाट रिसोर्टसम्म पाहुनाका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराइनेछ।
यस व्यवस्थाले आफ्नै सवारीसाधन नभएका तथा सार्वजनिक यातायातको भरमा यात्रा गर्नुपर्ने पाहुनालाई समेत रिसोर्टसम्म पुग्न सहज हुनेछ। विशेषगरी बुटवल तथा आसपासका क्षेत्रका बासिन्दाले सहज रूपमा रिसोर्ट पुगेर शुक्रबार साँझको सांगीतिक कार्यक्रमको आनन्द लिन सक्नेछन्।
लाइभ म्युजिकसँगै निःशुल्क यातायात सेवाको व्यवस्था गर्नु रिसोर्टले पाहुनाको सुविधा र अनुभवलाई प्राथमिकतामा राखेको संकेतका रूपमा हेरिएको छ। यसले स्थानीय बासिन्दालाई रिसोर्टसँग जोड्नुका साथै क्षेत्रीय पर्यटन, मनोरञ्जन तथा आतिथ्य व्यवसायको प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Marriott International सँगको व्यवस्थापन सहकार्यले रिसोर्टको सेवा गुणस्तर, व्यवस्थापकीय दक्षता, पाहुना सत्कार तथा अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। विश्वभर होटल तथा आतिथ्य क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय ब्रान्डसँगको यो सहकार्यले लुम्बिनी तथा आसपासको पर्यटन क्षेत्रलाई समेत नयाँ सम्भावनातर्फ अघि बढाउन सहयोग पुग्ने देखिन्छ।
विशेषगरी लुम्बिनी आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको आतिथ्य अनुभव प्रदान गर्ने, पर्यटन क्षेत्रमा लगानी तथा व्यावसायिक गतिविधि विस्तार गर्ने र स्थानीय क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने अवसर यस सहकार्यले सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।


