२०८३ असार १४ गते, आईतवार २३:५७
  • वेष्ट्रन मेघामा पूर्व विद्यार्थी सम्मान तथा कल्याण परिषद गठन

    बुटवल – बुटवल–१५, ढवाहा स्थित वेस्टर्न मेगा कलेजमा पूर्व विद्यार्थी सम्मान तथा कल्याण परिषद गठन गरिएको छ। स्थापना भएपश्चात् पहिलो पटक कलेजमा अध्ययन गरी हाल विभिन्न क्षेत्र तथा स्थानहरूमा कार्यरत बीएचम र एमबीएका पूर्वविद्यार्थीहरूलाई सम्मान कार्यक्रम आयोजना गरिएको हो। साथै, सोही पूर्वविद्यार्थीहरूको सक्रिय सहभागितामा विद्यार्थी कल्याणकारी संगठनको गठन समेत गरिएको छ।

    सम्मेलनमा सन् २०१३ देखि सन् २०२४ सम्मका विभिन्न ब्याचका पूर्वविद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। भव्य रूपमा सञ्चालित सो सम्मेलनमा विभिन्न आकर्षक सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई थप रमाइलो, रोचक र स्मरणीय बनाएको थियो।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले पूर्वविद्यार्थीहरू नै कलेजका वास्तविक मार्गदर्शक, र सद्भावना दूत भएको उल्लेख गरे। उनले देश विदेशका विभिन्न प्रतिष्ठित क्षेत्रमा कलेजका विद्यार्थीहरूले हासिल गरेको सफलताप्रति गौरव व्यक्त गर्दै आगामी दिनमा पनि कलेज र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो नवगठित संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    सम्मेलनमा उपस्थित पूर्वविद्यार्थीहरूले कलेजसँगको यो अटुट सम्बन्धलाई संस्थागत रूपमा अगाडि बढाउन नवगठित संघमार्फत सधैं सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। वेस्टर्न मेगा कलेज पूर्वविद्यार्थी कल्याणकारी संगठनको आर्थिक वर्ष २०८३÷२०८५ (दुई वर्षे कार्यकाल) का लागि विष्णु न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व गठन गरिएको छ। जसको उपाध्यक्षमा संज्ञात श्रेष्ठ, महासचिवमा श्रीष्टी शर्मा, कोषाध्यक्षमा फर्सुराम गैरे र सहसचिवमा अमर खनाल रहेका छन्। सदस्यहरूमा नानीमैया सुनारी, विश्वास गौतम, कल्पना पाठक, मिलन राना, सुजन पाण्डे, सुमन गिरी रहेका छन् ।

    नवगठित संस्थाले कलेज, पूर्वविद्यार्थी तथा वर्तमान विद्यार्थीहरूबीच आपसी सम्बन्ध, सहकार्य र कल्याणकारी गतिविधिहरूलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चाको संयोजनमा भएको कार्यक्रमको सञ्चालन कलेजमा कार्यरत प्रशासनिक कर्मचारी एलिजा बज्राचार्य तथा प्रशंसा शाक्यले गरेका थिए। कलेजमा स्नातक तहमा ४ बर्षे बीआइटी तथा बीएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमबीए अध्यापन गराईने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेज प्रशाशनले जानकारी गराएको छ।