
पोखरा – पोखराको लागि फ्लाई दुबईले चैत्रसम्मकै बुकिङ खुला गरेको छ। यस अघि असोज ७ गतेदेखि एक महिनाको लागि मात्र उडान गर्ने तालिका प्रकासित गरेको युएइको फ्लाई दुबईले २०२७ को मार्च २६ अर्थात चैत्रसम्म बुकिङ खोलेको हो। फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखराको उडानलाई दिगो बनाउने गरी काम अगाडि बढाइएको बताए। पोखराको उडानलाई स्थायित्व दिन स्थानीय बासिन्दा र सरोकारवालाको सहयोग महत्वपूर्ण हुने उनले उल्लेख गरे।
पोखरा उद्योग वाणिज्य संघसँग आइतबार भएको छलफलमा शाहीले पोखरा–दुबई उडानले यहाँका नागरिकलाई विश्वका २६० वटा गन्तव्यमा सोझै जोड्ने अवसर दिने दाबी गरे। उनका अनुसार अब पोखराबाट यात्रुहरु लन्डन, न्यूयोर्क वा जापानको टोकियोजस्ता सहरमा सहजै पुग्न सक्ने छन्। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले विमानस्थल निर्माणका लागि संघले गरेको पैरवी र लामो रिले अनसनको स्मरण गरे। उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु खुसीको कुरा भएको बताउँदै यसलाई निरन्तरता दिन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
संघकी महासचिव शोभा गौतमले सञ्चालन गरेको सो कार्यक्रममा फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका जनरल म्यानेजर रमेश लामिछानेले उडानलाई लामो समयसम्म लैजान सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यस्तै पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्सको यो यात्रा सफल नभए पोखराको विकास १० वर्ष पछाडि धकेलिने उल्लेख गरे।
चिनियाँ ऋण सहयोगमा करिब २२ अर्ब रुपैयाँ लगानी गरेर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ साल पुस १७ गते उद्घाटन गरिएको थियो। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबईको यो तयारीले पोखरामा नयाँ उत्साह थपेको छ।

