
काठमाडौं – नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए । यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ।
त्यसैगरी तेस्रो स्थानमा अमेरिका रहेको छ। अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक आएका छन् । यस्तै, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन्।

