२०८३ श्रावण २२ गते, शुक्रबार १०:१६
  • सात महिनामा ६७ हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरे

    भारतीय १ लाख ७६ हजार र नेपाली ५ लाख आए

    लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो ७ महिनामा ६७ हजार २२५ विदेशी पर्यटक आएका छन्। यो भारत बाहेक तेस्रो मुलुकका पर्यटकको संख्या हो। अघिल्लो वर्षको सो अवधिको तुलनामा यो वर्ष जुलाइसम्म १२.४४ प्रतिसतले तेस्रो मुलुकका पर्यटक बढेका छन् । सन् २०२५ को जुलाइसम्म ५९ हजार ८८९ विदेशी पर्यटक लुम्बिनी आएका थिए।

    सात महिनाको अवधिमा सबै भन्दा बढि श्रीलंकाबाट १८ हजार ६०५ पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ। त्यस्तै म्यानमारबाट १५ हजार ४९२, थाइल्याण्डबाट ८ हजार १७४ जना लुम्बिनी आएका छन्। त्यस्तै चिनबाट ७ हजार ४७१, भियतनामबाट ३ हजार २१९, दक्षिण कोरियाबाट २ हजार ३६२, भुटानबाट १ हजार ४६१ जनाले बुद्ध जन्मस्थलको भ्रमण गरेको कोषले जनाएको छ।

    गत वर्ष भन्दा यो वर्ष बढे पनि कोभिड अघिको तुलनामा विदेशी पर्यटकको आगमन अझै कम छ । सन २०१९ को जनवरीदेखी जुलाइसम्म ८६ हजार ५३१ तस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए।

    विशेष गरि कात्र्तिकदेखी चैत्रसम्म लुम्बिनीमा पर्यटकहरुको चहलपहल हुने गर्दछ । गर्मी र वर्षाका कारण यतीवेला भदे चहलपहल कम छ । गत जुलाई महिनामा २ हजार १६ विदेशी पर्यटक लुम्बिनी आएका थिए। सबैभन्दा बढि चिनबाट ५४५ जना आएका थिए। त्यस्तै भियतनामबाट आएका ५१४ जनाले लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ।

    लुम्बिनीमा यो वर्षको मध्यसम्म अघिल्लो वर्षको तुलनामा ५.३० प्रतिसतले भारतीय पर्यटकको संख्या बढेको छ। २०२६ को जनवरीदेखी जुलाइसम्म १ लाख ७६ हजार २१ भारतीय पर्यटक लुम्बिनी आएको कोषको तथ्यांकमा उल्लेख छ। २०२५ को सोही अवधिमा दक्षिण छिमेकी मुलुकबाट १ लाख ६७ हजार १६० जना लुम्बिनी आएका थिए । कोभिड अघिको तुलनामा पछिल्ला वर्ष लुम्बिनीमा भारतीय पर्यटकको आगमन तिब्र रुपमा बढेको छ। सन २०१९ को जनवरीदेखि जुलाइसम्म १ लाख १० हजार २९८ भारतीय पर्यटक लुम्बिनी आएका थिए। ४ वर्ष अघि प्रधानमन्त्री नरेन्द्र मोदिको भ्रमणपछि लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको हो। यस्तै गत जुलाइ महिनामा ११ हजार ७७१ भारतीय पर्यटक लुम्बिनी आएका थिए । २०२५ को जुलाइमा १० हजार ३६० भारतीय आएका थिए।

    पछिल्लो ७ महिनामा नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या ५ लाख १ हजार ३२९ रहेको छ। अघिल्लो वर्ष सोही अवधिको तुलनामा ११.४८ प्रतिसतले आन्तरिक पर्यटक बढेको देखिएको छ। सन २०२५ को जुलाइसम्म ४ लाख ४९ हजार ६९७ जना नेपाली पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघिको तुलनामा लुम्बिनीमा आन्तरिक पर्यटक आगमन निकै कम छ। सन २०१९ को जनवरीदेखी जुलाइसम्म ७ लाख ६३ हजार ४३१ जना नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए । बुटवल नारायणगढ सडक विस्तार भइरहेको बेला आन्तरिक पर्यटक कम आएका हुन् । अहिले सडक विस्तार अन्तिम चरणमा पुगेको छ।

    यस्तै पछिल्लो जुलाइ महिनामा मात्र १९ हजार ६२८ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । सन् २०२५ को जुलाइमा १७ हजार ५९० जना आएको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिड अघि २०१९ को जुलाइ महिनामा नेपाल भित्रबाटै ३० हजार २९१ जना लुम्बिनी घुम्न आएका थिए ।