२०८३ श्रावण २३ गते, शनिबार ११:१४
  • सीपी श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपालको प्रदेश तदर्थ समिति घोषणा

    बुटवल- होटल संघ नेपाल (हान)को लुम्बिनी प्रदेश समितिको गठन भएको छ। बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवं सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सीपी श्रेष्ठको अध्यक्षतामा हानको प्रदेश तदर्थ समिति घोषणा गरिएको हो।

    समितिको बरिष्ठ उपाध्यक्षमा प्रविण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्वितिय उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ र महासचिवमा तेजनाथ बस्याल चयन भएका छन् । त्यसै गरि कोषाध्यक्षमा सुसान्त त्रिपाठी, सचिवमा दिलीप गौचन चयन भएका छन् । हानले प्रदेशमा समिति गठन गर्ने व्यवस्था अनुसार लुम्बिनीमा तदर्थ समिति गठन गरिएको अध्यक्ष सीपी श्रेष्ठले जानकारी दिए। उनले अब प्रदेश स्तरिय संघ यस क्षेत्रको पर्यटकीय विकास र प्रवद्र्धनको लागि शसक्त ढंगले लाग्ने बताए।

    समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताए। उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गरे।मुख्यमन्त्री आचार्यले पर्यटक आएनन् भन्ने गुनासो मात्र गरेर नहुने, आएका पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर धेरै दिनसम्म बसाई लम्ब्याउन सक्नुपर्ने धारणा राखे । उनले पर्यटकीय क्षेत्रका विभिन्न स्थानमा सुविधा सम्पन्न होटल निर्माण र सञ्चालनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।

    प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले भैरहवा र रुपन्देहीका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेको उल्लेख गर्दै सुरक्षा निकायसँग समन्वय गरी २४ सै घण्टा होटल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण तयार गर्न प्रदेश सरकार सकारात्मक रहेको जानकारी दिए।