२०८१ मंसिर ९ गते, आईतवार १२:३०
  • श्रीनगर र स्वर्गद्वारीमा आनन्दको अनुभव भयो

    लुम्बिनी प्रदेशमा पर्यटनको ठूलो सम्भावना देखेको छु


    अमिक शेरचन
    म लुम्बिनी प्रदेशमा आएको २ वर्ष ३ महिना हुँदै छ। यो प्रदेशमा पर्यटकीय सम्भावना प्रसस्त रहेछ। केही पर्यटकीय स्थलको मैले पनि अवलोकन गर्ने मौका पाएँ। त्यसमध्ये पाल्पाको श्रीनगर पुगेपछि साह्रै आनन्दको अनुभव भयो। तराइ मधेसमा बसेका जो कोहीलाई पनि त्यो उचाइमा पुग्दा रमाइलो लाग्छ।

    श्रीनगरमा प्राकृतीक सुन्दरता छ। त्यहाँको चौरमा बस्दा ठूलो आनन्द आउने। त्यो हरियाली, सल्लाघारीको हावाको सिठी बजेजस्तो मधुर शुसेली, परसम्मका दृष्य हेर्न सकिने साँच्चीकै मनमोहक रहिछ। पिकनिक स्थल पनि निर्माण भएको रहेछ।
    यस्तै केबलकारको उद्घाटनको बेला म बुटवलबाट बसन्तपुरमा पनि पुगें। त्यहाँ पनि मलाई सोही खालको अनुभुती भयो। गर्मीमा बसेकाले एकछिन भएपनि सितलताको आनन्द लिँउ भन्ने ठाउँ रहेछ।

    गौतमबुद्धको जन्मस्थल लुम्बिनी एउटा अन्तराष्ट्रिय पर्यटकीय स्थल हुँदै हो। त्यहाँ कतिपय कुराले पूर्णता प्राप्त गर्न सकेको छैन। धार्मिक स्थलसँगै त्यहाँको रुख, विरुवा र हरियाली पनि अर्को विशेषता हो। लुम्बिनीले अभैm धेरै अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण गर्न सक्छ।

    कपिलबस्तुको तिलौराकोट मलाई अझ ऐतिहासिक लाग्यो। म २ पटक तिलौराकोट पुगेको छु। त्यहाँ उत्खनन् गरेर प्राप्त भएका प्राचिन धरोहर छन्। त्यो ठाउँमा विगतमा ठूलो शहर रहेछ कि भन्ने मलाई अनुभूती भयो। त्यसलाई अन्तराष्ट्रियकरण गरेर विश्वसम्पदा सूचीमा राख्ने पहल पनि केन्द्रले पनि गरेको छ, प्रदेश सरकारले पनि पहल गरेको छ।

    तिलौराकोटको पुरातात्वीक महत्वलाई व्यवस्थित गर्न सक्यो भने त्यो हाम्रो लागि अत्यन्त ठूलो उपलब्धी हुने छ।
    यहीँ बुटवलमा उजिरसिंह पार्क छ। नेपालले अग्रेजलाई पराजित गरेको जितगढी पनि छ। यो पनि ऐतिहासिक महत्व बोकेको ठाउँ हो।

    बर्दिया तिर गयौं भने राष्ट्रिय निकुञ्ज भित्र रमाउन सकिन्छ। बर्दियाकै कर्णाली पुलमा पुगेपछि आनन्दको अनुभव हुन्छ।
    दाङ जिल्लामा आदिबासी थारुहरुको संस्कृती झल्काउने ठाउँ(दङ्गीशरण गाउँपालिकाको सखौरा संग्रालय) रहेछ। त्यहाँभित्र पुगेपछि थारुहरुको आदिम समयमा कस्तो खालको रहनसहन थियो। त्यसपछि क्रमश विकास भएर आज कुन चरणमा आइपुग्यो भन्ने कुराको पुरै चित्रण गरिएको छ। यो ठाउँ पनि हेर्न लायक रहिछ।

    प्युठानको स्वर्गद्वारी पनि मैले भ्रमण गरें। श्रीनगर भन्दा अझै उचाइमा त्यहाँ गएपछि आनन्दको अनुभव भयो। अग्लो डाँडाबाट वरपर बेसीहरु, परपरसम्मका रमणीय बस्तीहरु, हिमाली दृष्य पनि देख्न सकिने। स्वर्गद्वारी धार्मीक आनन्द लिनेहरुको लागि निकै राम्रो ठाउँ रहेछ। गुल्मीको रिडीको उत्तिकै महत्व छ। रिडी हुँदै बग्ने कालिगण्डकी विश्वको एकमात्र सालिग्राम पाइने ठाउँ भइहाल्यो।

    म नपुगेका अरु थुपै पर्यटकीय गन्तव्यहरु लुम्बिनी प्रदेशमा छन्। लुम्बिनी प्रदेश सरकारले यी सबै पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्नुपर्छ। यातायातको सुविधा लगायताका पूर्वाधार निर्माणमा तिब्रता दिनुपर्छ। त्यसो भएमा लुम्बिनी प्रदेशका लागि यहाँका पर्यटकीय स्थलहरु गतिलो आम्दानीको श्रोत बन्न सक्छ। पर्यटक आएपछि खर्च गर्छन। होटल अनि पाहुनाघरमा बस्दा नेपालीहरुको आयश्रोतमा पनि बृद्धि हुन्छ। होमस्टे भन्दिन म पाहुनाघर भन्छु।

    लामो पैदल यात्रा
    राजनीतिक र भूमिगत समयमा धेरै पैदल यात्रा पनि गरियो। सायद २०–२१ सालतिर भूमिगत रुपमा भारतबाट नेपाल प्रवेश गरेको थिएँ। त्यसबेला बर्दियाबाट सुर्खेत हुँदै दैलेखसम्म पुगेको थिएँ। त्यो कैयौं दिनको पैदलयात्रा थियो। पूर्वतिर सिराहादेखी ओखलढुंगा हुँदै सोलुखुम्बुसम्म पनि पैदल गएको छु। सोलुबाट फेरी खोटाङ झरें। यी दुई वटा मेरो लामो पैदलयात्रा थिए। राजनीतिक कामको शिलसिलामा यात्रा गरेपनि हरियाली र नयाँ ठाउँका बस्ती हेर्न रमाइलो लाग्यो। मेरो जन्मस्थल म्याग्दी जिल्ला हो। म्याग्दीबाट पैदल हिडेर पाँच ५–७ दिनमा बुटवल पनि आइयो। त्यस्तै म्याग्दीबाट हिड्दै पोखरा पनि झरियो। पोखराबाट काठमाडौंको लागि त जहाज थियो। तर चितवन जान पनि हिड्दै जानुपथ्र्यो।
    खासमा म घुम्न र रमाइलो गर्न योजना नै बनाएर हिडेको छैन। समय निकालेर यो ठाउँमा घुम्न जानुपर्छ भनेर कहिले गएको छैन। कार्यक्रम र कामको शिलसिलामा कतै जाँदा घुमेको मात्र हो। त्यसबेला पार्टीकै भूमिगत कामहरु हुन्थ्यो, भूमिगत रुपमा गइन्थ्यो। पार्टीकै कामको शिलसिलामा मैले यात्रा गरेको हुँ। अहिले पछिल्लो समयमा पदमा रहँदा विभिन्न कार्यक्रमको शिलसिलामा यात्रा गरेको छु र कतिपय पर्यटकीय स्थलमा पनि पुग्न भ्याएको छु।

    मोटरसाइकिल यात्रा
    म मोटरसाइकिलमा धेरै यात्रा गरें। २०४२ सालदेखि मोटरसाइकिल चढ्न थालेको हुँ। मोटरसाइकिलमा म बर्दियाबाट चितवनसम्म आएको छु। एउटा कामको शिलसिलामा त्यसबेला मोटरसाइकिलमा यात्रा गरेको थिएँ।
    २०४५–४६ सालसम्म अर्धभूमिगत जस्तो अवस्थामा थिएँ। तर भेटाएसम्म राज्यले नियन्त्रणमा लिएर लैजाने गर्थे तर लामो समय थुन्दैन थिएँ। म मोटरसाइकिलमा यात्रा गर्थें। मेरो साधन भनेको त्यही मोटरसाइकिल हो। त्यो अहिले पनि मेरो घरमा छ।
    मैले अघि नै भने जस्तै मोटरसाइकिलमा यात्रा गर्दा पनि घुम्नको लागि भनेर कतै गइन। काम बाहेक रमाइलो गरौं भनेर कतै घुम्न निस्किन। पार्टीका साथीहरुले भैलो खेलेको बेलामा बनभोज जाम भनेर गइयो। त्यती मात्र हो। मेरो आफ्नै आयोजनामा कतै घुम्न जाउँ भनेर मनमा पलाएन। म आँफै अन्तरमुखी पनि होइन, तर एकदम रमाइलो गरौं भन्ने चञ्चलता पनि ममा छैन। मेरो विच धारको स्वभाव रहयो।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चलायमान हुँदा ठूलो उपलब्धी

    भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बनेको छ। अहिले त्यो चल्न नसकेको अवस्था छ। यो अन्तराष्ट्रिय पर्यटक आगमनको उदेश्य लिएर निर्माण गरिएको विमानस्थल हो। हवाइ रुट नेपालले प्राप्त गर्न नसकेको कारणले नचलेकोे हो कि भन्ने लाग्न लागेको छ। यो सञ्चालनमा आउन केही समय लाग्न सक्छ, हामी धैर्य गर्नुपर्छ। हवाइ रुटको बारेमा भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले यी विषयमा प्रस्ताव राख्नुभएको छ। भारत सरकारबाट सकारात्मक प्रतिक्रिया आएको सुनिएको छ। ति सकारात्मक प्रतिक्रियालाई चाँडो कार्यन्वयन गर्नुपर्ने अहिलको आवश्यकता हो।
    नेपालगञ्ज, महेन्द्रनगर हँुदै आएर अवतरण गर्ने एउटा सजिलो हवाइमार्ग प्राप्त हुने वित्तीकै पश्चिममा मुलुकबाट सिधै भैरहवा आउन छोटो दुरी हुन्छ। भैरहवाको अन्तराष्ट्रिय विमानस्थल चलायमान भएको भविश्यमा देखिने छ। चलायमान भयो भने वास्तवमा नेपालको लागि ठूलो उपलब्धी हुनेछ।

    अन्तराष्ट्रिय विमानस्थल पुरा चलायमान भयो र विभिन्न ठाउँमा पर्यटकीय पूर्वाधारहरु बनेमा लुम्बिनी प्रदेशलाई पर्यटकीय चक्रको रुपमा अगाडि बडाउन सकिन्छ। भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकहरु झरेपछि लुम्बिनी भ्रमण गर्छन। लुम्बिनीपछि कपिलबस्तुको तिलौराकोट, दाङ, बाँके हुँदै बर्दिया लैजाने। रोल्पा रुकुमका ठाउँहरुसँगै स्वर्गद्वारी पनि पर्यटकहरु जान्छन्। स्वर्गद्वारी हुँदै अर्घाखाँची गुल्मी गएर पाल्पा आएर रामग्राम लैजान सकिन्छ। यी ठाउँहरुलाई समेटेर आवश्यकता अनुसार पर्यटकीय प्याकेज बनाउन सकियो। यसरी मैले लुम्बिनी प्रदेशमा पर्यटनको ठूलो सम्भावना देखेको छु।

    (सुदीप भण्डारीसँगको कुराकानीमा आधारित)