पसलमा सटर हटाउँ, पुरानै सैलीका ढोका राखौं
सुदीप भण्डारी
बुटवल – झण्डै २० वर्ष अघि बटौलीमा थुप्रै संख्यामा पुराना घरहरु थिए। त्यतीबेला ति पुराना मौलिक घरहरुको संरक्षण गरेको भए आज बटौली एउटा ऐतिहासिक सम्पदा बन्न सक्थ्यो। भक्तपुर, बन्दीपुर जस्तै एउटा मौलिक शैलीको बजारको रुपमा स्थापित हुन्थ्यो। अहिलेका युवा पुस्ताहरुले आफ्ना बाबुबाजेहरुबाट बटौली बारे विभिन्न कथन सुनेका छन्। उनीहरुले उतीबेलाको बटौलीको झल्को अनुभव गर्न पाउँथे।
बुटवलको मुख्य बजार भन्दा तिनाउ पारी पर्ने बटौली उपमहानगरपालिकाको १ र २ नम्बर वडामा पर्दछ।। पहाडबाट केहिदिन हिँडेर बटौलीमा हाम्रा बाउ बाजे किनमेल गर्न आउँथे। पारी बुटवल अर्थात त्यसबेलाको बटौलीमा लुम्बिनी प्रदेशका जिल्लाहरुका साथै स्यांङजा, पर्वत, बाग्लुङ लगायतका स्थानबाट आएका किनमेल गर्न आउनेहरुको भिड लाग्ने गर्दथ्यो।
२० को दशकसगै सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि पहाडी क्षेत्रमा सवारी साधनहरु पनि ओहोरदोहोर गर्न थाले। सडक सुविधाका कारण तिनाउ वारी खस्यौलीमा पनि बजार विस्तार हुँदै गयो। खस्यौलीमा पूर्वाधारहरु थपिदै गएपछि बजारले शहरको स्वरुप लियो र बुटवल शहरको रुपमा परिचित भयो। खस्यौलीमा बजार विस्तार भएपछि बटौलीमा भने क्रमश चहलपहल घट्दै गयो।
बटौलीमा अहिले पनि केही पुराना सैलीका घरहरु छन। त्यसमध्ये कतिपय जिर्ण छन्। तर धेरै घरहरु नयाँ बनेका छन्। बेलैमा यसको संरक्षण बारे सोँचेको भए बटौली एउटा खुल्ला संग्रालय, सम्पदास्थल, सांस्कृतिक बजार क्षेत्र अनि बुटवलको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा रहन सक्थ्यो।
बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क घुम्न बर्षमा ५ लाख बढि आउने गर्दछन्। उनीहरु मध्ये कतिपय मौलिक स्वरुपको बटौली बजार घुमेर आनन्द लिन्थे। मौलिक स्वरुपको बटौलीले भारतीय र अन्य विदेशी पर्यटकलाई पनि आकर्षित गर्न सक्थ्यो। अहिले बटौलीमा थुप्रै पुराना घर मासिइसकेको छ। दिनप्रतिदिन सिमेन्ट र कंक्रिटबाट आधुनिक घरहरु बनिरहेका छन्।
अहिलेको अवस्थामा केही मात्रामा भएपनि बटौलीको पहिचान जोगाउन र शाख बचाउन सकिन्छ। यसको लागि मुख्यत पुराना सैलिका घरहरुलाई अब मास्न दिन हुँदैन्। तिनीहरुलाई सरसफाइ र व्यवस्थीत गरि मौलिक सैलीले रङरोगन गर्नुपर्छ। जिर्ण भएका घर मर्मत र पुनर्निमाण गर्नुपर्छ। बनिसकेका आधुनिक ढलान घरहरुलाई पनि केही मात्रामा मौलिक स्वरुप दिन सकिन्छ।
मौलिकता प्रदान गर्न नयाँ घरका सटरहरु हटाउनुपर्छ। सटरको ठाउँमा काठका ढोकाहरु राख्नुपर्छ। यसले बजारलाई मौलिक स्वरुप दिन्छ। यस्तै आधुनिक ढलान घरको कम्तीमा तल्लो तलाको अगाडिको भागमा मौलिकता देखाउन सकियो भने बटौलीलाई अहिलेको तुलनामा धेरै आकर्षक र सुन्दर बनाउन सकिन्छ।
बटौलीको सडकमा कतै कालोपत्रे, कतै ढलान त कतै सिमेन्टका व्लक विच्छाइएको छ। यहाँ साँघुरो सडक भएकाले पनि पदमार्गको रुपमा विकास गर्नुपर्छ। पदमार्गमा कालोपत्रे र ढलान उपयुक्त हुन्न। अहिले विच्छाइएको सिमेन्टको ब्लकले पनि मौलिकता दिँदैन। बाटोमा ढुंगाको छपनी विच्छाउनुपर्छ। बटौली बजारको प्रवेश विन्दु वा निश्चित ठाउँमा सवारी पार्किङ गरेर घुम्न सकिने गरि ठाउँको रुपमा विकास गर्नुपर्छ। पसलहरुमा काठका मौलिक सैलीका ढोका र ढुंगा विच्छाएको मार्गले बजारलाई सुन्दरता प्रदान गर्दछ।
बटौलीमा भएका घरहरुको मौलिक सैलीमा व्यवस्थापन गर्न बुटवल उपमहानगरपालिका र उद्योगी व्यवसायीहरुले पनि पहल गर्नुपर्छ। बुटवलमा स्थापित थुप्रै उद्योगि व्यवसायीका अहिले पनि बटौलीमा घर छ। बटौलीमा रहेको आफ्नो जिर्ण घरलाई आकर्षक बनाउन र मौलिक स्वरुप दिने उद्योगी व्यवसायीको दायित्व हुनुपर्छ। उपमहानगरपालिकाले तिनाउ पारी घर भएर वारी बसेका व्यवसायीहरुसँग बटौलीको शाख बचाउने बारे छलफल गर्नुपर्छ। त्यस्तै बटौलीमा घर भएका कतिपय काठमाडौँ लगायतका शहरमा छन्। उनीहरुसँग सम्पर्क गरेर उपमहानगरपालिकाले आफ्नो योजनाबारे बताउनुपर्छ।
जिर्ण घरलाई मौलिक स्वरुपमा पुननिर्माण, पुराना घरको संरक्षण, आधुनिक घरको अगाडि मौलिक स्वरुप दिएर बटौलीको पहिचानलाई जोगाउने तत्कालिन उपाय हो। मौलिक स्वरुप दिएपछि घरहरुमा फरक–फरक प्रकारका पसलहरु हुन सक्छन्। केही घरमा होटल रेष्टुरेण्ट हुन्छ। पुराना केही मौलिक घरलाई होम स्टेको रुपमा विकास गर्न सकिन्छ। बटौलीमा ऐतिहासिक मठ मन्दिरहरु पनि छन्। मन्दिरहरुलाई पनि संरक्षण र प्रचार प्रसार गर्नुपर्छ।
समय समयमा बटौलीमा सडक महोत्सव राख्ने हो भने यसको महत्व र प्रचार प्रसार अझ बढ्छ। यसरी तत्कालिन रुपमा बटौलीको केही मात्रामा पहिचान जोखाउन र शाख बचाउन सकिन्छ। यसबाट पर्यटकीय गतिविधि बढेमा दिर्घकालिन योजना बनाएर बजारलाई अझ बढि मौलिक स्वरुपमा लैजान सकिन्छ।