२०८१ मंसिर ७ गते, शुक्रबार ०४:२३
  • हिउँ छिचोल्दै पदयात्रा र अन्नपूर्ण आधार सिविरको अविस्मरणीय पल

    प्रकृति सुवेदी

    लुम्बिनी बाणिज्य क्याम्पसको ‘आउट स्टेशन प्रोजेक्ट’को लागि शिक्षक र विद्यार्थी गरि हामी ५२ जना समुह गत मंसिर २१ गते बुटवलबाट पोखराका लागि प्रस्थान गर्यौं। हाम्रो गन्तव्य पोखराबाट अझै पर थियो। २२ गते विहान साढे ५ बजे हामी पोखराको नयाँपुलबाट अगाडि बढ्यौं। पोखराबाट ४० किलोमिटरको यात्रापछि हामी झिनुडाँडा पुग्यौं।

    झिनुबाट हाम्रो पैदलयात्रा सुरु भयो। पैदलयात्राका क्रममा उकाली ओराली गर्दा थकाइ लागिरहेको थियो। थकाइसँगै अर्कोतर्फ यहाँको प्राकृतिक सुन्दरताले मनमा आनन्द छाएको थियो। खोलानाला, डाँडापाखाको हरियाली, प्राकृतिक सुन्दरमा हामी रमाइरहेका थियौं। दिउसो ३ बजे हामी छोम्रोङ पुग्यौं। पदयात्राको पहिलो दिन हाम्रो बास छोम्रोङमै भयो।

    दोस्रो दिन छोम्रोङदेखी बिहान ९ बजे हामी अघि बढ्यौं। पैदलयात्राका क्रममा बाटोमा हामीले मठ मन्दिरहरु देख्यौं, यो ठाउलाई प्राकृतिक प्रकोप देखि मन्दिरले नै बचाएको भन्ने स्थानियहरुमा बिश्वास रहेको थियो। प्राकृतिक सुन्दरतामा रमाउँदै पैदलयात्राको दोस्रो दिन साझ सबा ८ बजे हामी हिमालय पुग्यौं। मंसिरको कठ्यांग्रीदो जाडो हामी हिटर तापेर बस्यौं।

    पदयात्रा सुरु गरेको तेस्रो दिन विहान ९ बजे हामी हिमालयबाट अझै अघि बढ्यौं। खोलानाला, झरना हेर्दै सकिनसकी पाइला चालिरहयौं। यात्रा निकै कठिन थियो। यस ठाउँमा हिउँ छिचोल्दै अगाडि बढिरहेका थियौ। वरिपरि हिमाल तथा हिउँ देख्दा मनमा फरक खालको उत्साह थियो। हामी माछापुछ्रे बेसक्याम्प पुग्यौं। यहाँबाट लाग्ने रहेछ। हिउँमा हिड्नुपर्ने, उचाइ चढ्दा लेक लाग्ने भएकाले निकै गाह्रो भइरहेको थियो।

    सकसका बीच आँखा अगाडि सेतै हिउँ, वरिपरि हिमाल हेर्दा भने फरक आनन्द महसुस हुने रहेछ।। हाम्रो मुख्य गन्तव्य अन्नपूर्ण बेस क्याम्प पनि पुगियो।

    आहा आँखै अगाडि सेता हिमाल, जमिनभरी सेतो हिउँ देख्दा साँच्चीकै स्वर्गको अनुभुति भयो। साँच्चीकै यो पल अबिस्मरणीय पल थियो। अन्नपूर्ण आधारसिविरमा पुग्दा पैदलयात्राका सबै दुख कष्ट भुलेर मन प्रफुलित भइरहेको थियो। विहानीपख त हिमाली दृष्य अझ सुन्दर देखिने।

    सेतो हिमाल निलो आकाश यो क्षण साच्चिकै सम्झिन लायक र मेरो लागि अबिस्मरणिय पल बन्यो। अन्नपूर्ण बेसक्याम्पसम्म आइपुग्दा धेरै साथीहरूलाई गाह्रो भयो भने केही बिरामी भए। तर पनि हामी बसेको ठाँउमा चाहिने औसधी लगायत धेरै कुराहरु उहाँहरुले मिलाइदिनुभएको थियो त्यसले केही सहज भयो। हाम्रो समूहमा भएका मध्ये धेरै जना अन्नपूर्ण बेसक्याम्पस पहिलो पटक टेकेका हौं।

    अर्को दिन अन्नपूर्ण बेसक्याम्प देखि बिहान साढे १० बजे हिडेर हामी अपरान्ह सवा ४ बजे पुन हिमालय आइपुग्यौं। हिमालयमा आएपछि अन्नपूर्ण बेसक्याम्पबारे हामीले अझ बढी जान्कारी पायौ। हामिले पदयात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरुको धेरै जानकारी मिल्यो । भोलिपल्ट हिमालयबाट बिदा हुने क्रममा हिउँ पर्यो। हिउँ परेको दृष्य अझ रोमाञ्चक लाग्यो। विहान सवा ९ बजे हिडेर साँझ ५ बजे हामी सिनुवा आइपुग्यौ, हामीले यो ठाँउमा मनोरञ्जन सहित रमाइलो गयौं। अर्कोदिन विहान यो ठाँउलाई बिदा गर्दै सवा ९ बजे हिंडेर दिउसो २ बजे झिनु पुग्यौ।

    झिनुबाट गाडीमा हामी पोखराका लागि प्रस्थान गयौं। गाडी पैदलयात्राका रमाइला पलहरुको सम्झना आइरहेको थियो। बेलुका हामी पोखरा आइपुग्यौं । पोखरामा केही समय बिताएर हामी राती नै बुटवलको लागि अघि बढ्यौं। हामीले अन्नपूर्ण आधारसिविरको लागि गरेको पैदल यात्रा सजिलो होइन। तर आँट गर्यो भने गन्तव्यमा चाँही पुगिन्छ। वास्तवमा हाम्रो जिवन नै एक यात्रा हो। यात्राले धेरै कुरा सिकाउँदो रहेछ। त्यसैले अन्नपूर्ण आधारसिविरको पदयात्रा मेरो लागि ज्ञानवर्दक, फलदायी र अविस्मरणिय रहयो।