
पश्चिम नेपालको प्रमुख शहर बुटवलमा पूर्वाधारहरुको विकासले फडको मार्दैछ। त्यसका साथै शिक्षा, स्वास्थ्यमा पनि बुटवल अग्रणी र अब्बल बन्दै गएको छ। पछिल्लो समय बुटवल पर्यटकीय गन्तव्यको रुपमा समेत विकास हुँदै गएको छ। मुक्तीनाथ र लुम्बिनीलाई जोड्ने गरि पर्यटकीय मार्गको विकास गर्न अगुवाइ गर्ने र बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उपमहानगरपालिकाको योजना छ। बुटवल उपमहानगरपालिका अहिले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा समेत छ। बुटवलको समग्र विकास, बस्नयोग्य शहरको लागि बुटवलले गरेको प्रयासका सम्बन्धमा हामीले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग कुराकानी गरेका छौं।
अहिले नीति तथा कार्यक्रम र बजेटको बेला पनि छ, कत्तिको ब्यस्त हुनुहुन्छ ?
हाम्रो वडाहरुको सिलिङ मार्फत नीति कार्यक्रम र बजेटको तयारी हुन्छ। उपमहानगरपालिकाको हरेक शाखाबाट आ आफ्नो प्रकारले काम भइरहेको छ। म्हाशाखाबाट प्रमाणीत भएर प्रक्रियागत रुपमै विगतमा जसरी नीति कार्यक्रम र बजेट आएको थियो। त्यही अनुसार आउँछ। त्यसको लागि यहाँ रहेका राजनितिक दल, संघ संस्थाहरुसङ्ग समन्वय गरि सुझाब पनि संकलन गरिरहेका छौं ।
आगामी आर्थिक बर्ष २०८२/८३ को लागि बुटवलको बजेट तथा नीति कार्यक्रम चाहिँ कस्तो आउँदै छ ?
हाम्रो एउटा सिद्धान्त तयार भैसकेको छ। बजेट को सिलिङ र नीति कार्यक्रम तयार गर्दा ५१% भौतिक पुर्वाधार बिकासको लागि र ४९% मानवीय संसाधनको बिकास मा आधारित रहेर बनाउदै छौं। त्यस कारणले हाम्रो बजेटहरु देश भरमै सबै भन्दा बढी मानवीय संसाधनको बिकाशमा बढी खर्च हुने पालिकाको रुपमा स्थापित भएको छ। त्यस कारणले हामी जातीय पहिचानहरु, भौगोलिक पहिचानका कुराहरु र हाम्रा परम्परागत कुराहरु साथै हाम्रा आधुनिक युवाहरुले खोजेका कुराहरु लियेर हाम्रो चाहिँ सामाजिक पक्षहरूलाई बढी महत्त्व दिएर हामी नीति कार्यक्रमहरु लिएर आउदै छौं।
बुटवल उपमहानगरपालिकामा यहाँ प्रमुख भएर आउनुभएको ३ बर्ष पनि पूरा भैसकेको छ , बिगत ३ बर्षलाई चाहिँ अलिकति कसरी समिक्षा गरिरहनुभएको छ ?
हामीले ३ बर्षलाई समिक्षा गरेर बुटवल दर्पण पनि प्रकाशित गरेका छौं । हामीले गरेका कामहरुका बारेमा त्यसमा समावेश गरेका छौं । शिक्षा र स्वास्थ्यको क्षेत्रमा थुप्रै कामहरु गरेका छौं। त्यस्तै कृषि र उद्योगको प्रवद्र्धनमा उपमहानगर लागिरहेको छ। भौतिक पूर्वाधारमा बुटवल अब्बल छ। कतिपय संघिय सरकारका आयोजना समयमै सक्न हामीले निरन्तर दबाब दिइरहेका छौं। बुटवललाई उत्कृष्ठ पर्यटकीय विश्रामस्थल बनाउने गरि अघि बढेका छौं।
बुटवल देशभरमै एउटा उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा पनि रहेको छ, यसलाई कायम राखिराख्न, शैक्षिक उचाइलाई अझै बढाउन केके प्रयासहरु भाइराछ ?
बुटवल उपमहानगरपालिका शिक्षामा सबैभन्दा बढी लगानी गर्ने पालिका भएको हाम्रो दाबी छ । गत वर्ष २६% जति बजेट हामिले शिक्षामा लगानी गरेका छौं। शिक्षाका लागि हामी मात्र हैन हाम्रो पहाडका भूगोल गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, प्युठान, रुकुम लगायतका विद्यार्थी यहाँ अध्ययन गदैछन्। कर्णालीका पनि १५०० बिद्यार्थी हाम्रा बिचमा रहेका छन। सबै जिल्लाहरुको सहयोग छिमेकी नवलपरासी , कपिलवस्तु जिल्लाको पनि सहयोगमा हामी शिक्षा क्षेत्रमा अगाडि बढेका छौं । हाम्रा बिधालयहरु र यहाँका क्याम्पसहरुको जुन उत्कृष्टता छ त्यसमा उहाहरुको जुन मेहनत र लगावका कारण पनि हो। हाम्रा अभिभावकहरुले पनि शिक्षाका क्षेत्रमा सहयोग पुर्याउनु भएको छ। त्यसैले अविभावक , विद्यार्थी , बिद्यालय परिवार र बुटवल उपमहानगरपालिकाको चारै किसिमको समन्वयमा शिक्षाको क्षेत्रमा बुटवल अगाडि बढेको छ। प्राविधिक शिक्षा तर्फ बुटवल टेक्नीकल इन्स्च्युटमा सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन आरम्भको लागि काम अघि बढेको छ। बुटवल १६ मा कृषि विज्ञान कलेज स्थापनाको आवश्यक प्रक्रिया पनि अघि बढाएका छौं।
बुटवल चाहिँ एउटा स्वास्थ्यको गन्तव्य पनि हो, स्वास्थ्य क्षेत्रको विकासको लागि के कस्ता गतिविधिहरु भइरहेका छ?
हाम्रोमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक झन्डै १८०० देखि २००० बिरामीहरु आउनुहुन्छ । लायन्स आखा अस्पतालमा दैनिक ८०० को सेरोफेरोमा बिरामिहरुको उपचार हुन्छ। आम्दा अस्पतालमा ५०० जति आउनुहुन्छ। ९ नम्बर वडा बाहेक सबै वडामा हाम्रा सहरी स्वास्थ्य केन्द्रहरू स्थापित भैसकेका छन। यो एउटा सरकारी पक्षको प्रयत्न भयो। निजि क्षेत्रको पनि ८ वटा अस्पतालहरु छन् । यसै गरि विभिन्न क्लिनिकहरु, ल्याबहरु गरेर स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रको पनि ठुलो लगानी छ। तर हामी एउटा कुरामा के बिश्वास गर्छौ भने, सरकारी क्षेत्रको पाटो र दायित्व स्वास्थ क्षेत्रमा एउटा पक्ष छ भने, निजि क्षेत्रमा पनि बुटवलमा अग्रणी रुपमा रहेको छ। निजि क्षेत्र स्थापित हुन सक्यो भने मात्रै सहर समृद्ध सहर बन्छ। त्यस कारणले समृद्ध सहरका लागि निजि क्षेत्र हाम्रो प्रमुख अङ्ग हो। त्यस कारण निजि क्षेत्रलाई अगाडी सारेर बुटवललाई समृद्ध सहर बनाउने र शिक्षा तथा स्वास्थ्यका लागि हामिले चाहिँ बुटवललाई महत्वपूर्ण शहरको रुपमा रुपान्तरण गर्ने गरि हामी लागि परेका छौं।
अहिले बुटवलमा चाहिँ विभिन्न सिपमुलक तालीमहरु आयोजना भैरहेका छन्, के कस्ता तालिमहरु आयोजना भइरहेको छ , रोजगारी सिर्जनालाई टेवा पुर्याउने कार्यक्रमहरु चाहिँ के- के छ?
अहिले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपमेयर उद्धमसिलता कार्यक्रम लगायत हाम्रा महत्वपूर्ण धेरै कार्यक्रमहरु चलेका छन्। यी बाहेक हाम्रो १० महिने तालिमहरु पनि छन। अझै हामिले बि. टि. आइ मा निसुल्क छोरी पढाउ कार्यक्रम राखेका छौ। यो दुई बर्से कोर्ष हो। यसरी हामी शिक्षा र सीप सहितको रोजगारको कार्यक्रमलाई प्राथमिकता दिएका छौं।
सीप लिने प्रशिक्षार्थीमा भित्री इच्छाशक्ती हुनुपर्छ। इच्छाशक्ती भएका मानिसले एक हप्ताको तालिम सिक्दा पनि महिनाको लाख रुपियाँ कमाउने गरि माथी पुगेका छन्। इच्छाशक्ती नहुने मानिसलाई जति ठुलो तालिम दिएपनि, जति आर्थिक सहयोग गरेपनि केही गर्न सक्दो रहेनछन्। त्यस कारणले ब्यक्तिलाइ इच्छाशक्ती हो कि होईन, त्यसको पहिचानको आधारमा मात्रै यो रोजगार, सिपहरु अर्थपूर्ण रहदा रहेछन। त्यस कारणले जस्ले सिक्न खोज्नुहुन्छ, जो रोजगार हुन चाहनुहुन्छ, आवस्यकता हो भने उहाँहरु अगाडी बढ्न सक्नुहुन्छ । समय कटाउनको लागि हो भने जति वटा तालिम दिए पनि काम छैन।
पुर्वाधारको क्षेत्रमा पनि बुटवल उपमहानगर अगाडी बढीरहेको अवस्था छ। उज्यालो बुटवलको नारा लिएर एउटा अभियान पनि चलाइएको छ। यस अन्तर्गत चाहिँ के के कामहरु भैरहेको छ?
उपमहानगरपालिकाले बनाएका सडकहरु जति राम्रा भएपनी मुख्य सडक नबन्दा सम्म सडक सौन्दर्यिकरण देखिएको छैन। आज हामीकहा कालिका पथ, देबि पथ रंगशाला पथ, बुद्ध पथ, रानिगन्न्ज पथ अनि बेलबास बेथरी सडकको केही अंस, तामनगर सेमलार सडक, अनि मोतिपुर सडक, मदिया चोक मोतिपुर सडक लगायतका महत्वपूर्ण सडकहरु बनेका छन। धेरै सडकहरु निर्माण भएको छ। यस्तै गरि गलामी पथ अहिले तपाईंले उत्कृष्ट सडक हेर्न सक्नुहुन्छ। हाम्रो झन्डै ८० प्रतिसत सडकहरु स्तरिय र कालोपत्रे भैसकेका छन। तर मुख्य सडकको टुंगो नलाग्दा सम्म हामिले गरेको काम देखिएको छैन। संघीय सरकारबाट मुख्य सडकका रुपबाट अगाडि बढाए पनि त्यसको सडकपेटी ३ मिटरको हुनुपर्ने, सडकमा स्ट्रिट लाईट जडान हुनुपर्ने, फूल्की र कफि सेन्टर लगायतको लागि सडकमा कम्तीमा ६० वटा स्टलहरु राख्ने ठाँउ हुनुपर्ने हाम्रो माग र मान्यता थियो। त्यो कुरा अहिले थपिएको छ। यसैगरी बुटवल उपमहानगरपालिकाले हाइमास्ट लाइट जडान गरेको छ। प्रयाप्त मात्रामा सिसि क्यामरा पनि जडान भएको छ। ट्राफिक लाइट हामिले ३ वटा जडान गरिसकेका छौ। अब ४ वटा गोलपार्कमा, हस्पिटल लाइनमा, चौराहा र योगिकुटीमा हामिले चाहिँ ट्राफिक लाइट जडान गर्दै छौ। राजमार्ग चौराहदेखि धागो कारखानासम्म हाइ मास्ट लाईट जडान गर्ने अभियाने आगामी बर्षमा रहनेछ । हामीले घुम्ती सौचालयहरु पनि निर्माण गर्ने छौं। यसरी सडकलाई हरियाली, मानवमैत्री र ब्यवसायी मैत्री सडक बनाउने गरि उपमहानगरपालिका अघि बढेको छ। हामीकहाँ कालोपत्रे गर्नुलाई मात्र सडक निर्माण भनिन्छ। तर त्यो सडक निर्माणसँग कालोपत्र मात्र होईन कि ८-९ वटा अरु अभिन्न अङ्गहरु जोडिनुपर्छ। यसो गर्न सकियो भने मात्रै त्यो सडक ब्यवसायिमैत्री हुन्छ। त्यो सडक चाहिँ मानवमैत्री हुन्छ। यी कुरालाई बुटवल उपमहानगरपालिकाले हामिले महत्त्वपूर्ण रुपमा राखेका छौ।
पछिल्लो समय बुटवललाई पर्यटकीय विश्राम स्थलको रुपमा अगाडि बढाउने योजना पनि बनाउनुभएको छ। यसको लागि के कस्ता काम भइरहेको छ ?
केही महिना अघि बुटवलदेखि ८ घण्टाको दुरिमा रहेको भारतको प्रयागनाथमा झन्डै ६०-७० करोड मानिसहरु स्नानको लागि उपस्थित भएको देखियो। यहीँबाट ८-९ घन्टा दुरिमा रहेको मुक्तिनाथमा वर्षको ८ लाख मान्छे पुगेका रहेछन्। हामीले लाखौं मान्छे मुक्तीनाथ किन पठाउन सक्दैनौं। भारतमा एउटा मात्रै संस्कृति भएको ठाउँमा करोडौं मानिसहरु जम्मा हुन्छन्। हामीकहाँ दुईवटै संस्कृतिको संसारभर चिनाउने ठुलो एउटा आस्थाको केन्द्र छ।
एउटा सडक मार्फत दुई खालका धार्मिक पर्यटकहरुलाई हामी भित्राउन सक्छौं। एकातर्फ कोरला नाका हुँदै लुम्बिनीसम्म बुद्ध धर्मावलम्बीहरुलाई ल्याउन सक्छौं। यही सडकबाट लाखौंको मात्रामा भारतीय हिन्दु धर्मावलम्बीहरुलाइ हामिले मुक्तिनाथ लैजान सक्छौं। यो अभियानको नेतृत्व बुटवलले गर्न सक्छ। यी बाहेक पाल्पाको श्री सात रणउज्जेश्वरी मन्दिर, भैरवस्थान मन्दिर, रिडि ऋषिकेशव मन्दिर, गुल्मीको राम मन्दीर , पर्वत सेतिबेनी धाम, बाग्लुङ कालिका मन्दिर, जैमेनी धाम, गलेश्वर धाम म्याग्दीको, मुस्ताङको चाहिँ कागबेनी र मुक्तिनाथ सम्म हामिले धार्मिक पर्यटकिय क्षेत्रको बिकास गर्न पनि सक्छौ। अहिले मुस्ताङ भ्रमणको क्रममा हामीले त्यहाँका जनप्रतिनिधिहरुसँग पनि कुरा गर्यौ। कतिपय ठाँउमा हामिले दोहोरो सम्बाद गर्यौं। केही ठाँउमा हामिले सम्झौता गरेका छौं। आगामी दिनहरुमा हामीले कोरला नाकादेखी भैरहवासम्मका नगरप्रमुखहरु, उपप्रमुखहरु, गाउपालिका अध्यक्ष, उपाध्यक्षहरु र भारतका केही मेयरहरुलाई ल्याएर बुटवलमा छलफल गर्छौं। बुटवललाई पर्यटन केन्द्रको रुपमा कसरी बिकास गर्न सकिन्छ भनेर सम्मेलन राख्ने काम पनि हामीले सम्मेलन गर्दै छौं। बुटवलबाट दिल्लीका लागि दैनिक ५ वटा बसहरु छुट्छन्। यदि हामीले बुटवल देखि मुक्तिनाथ दैनिक ५० वटा बस छुटाउन सक्यौं भने दिल्ली छुट्ने बसको संख्या५ पुग्न सक्छ । यसरी हाम्रो पहाड तिरको गन्तव्य बिस्तार हुँदै गर्दा, हाम्रो दक्षिणतिरको गन्तव्य वा यातायातको पनि बिस्तार हुन सक्छ। त्यस कारणले बुटवल सबै भन्दा महत्वपूर्ण केन्द्र हो। उत्तर र दक्षिणका नाकाबाट पर्यटक भित्राउन बुटवलले पहल थालेको छ । बुटवलले प्रयास गर्यो भने उत्तर तर्फको पनि बिकासमा ठुलो टेवा पुर्याउन सक्छ र दक्षिणतिरको सम्पर्क पनि बढाउन सक्छौ। यसको प्रयास बुटवलले गरिरहेको छ।
पर्यटनकै कुरा गर्दा पछिल्लो समय बुटवल पर्यटकिय गन्तव्यका रुपमा बिकास हुँदै गएको छ। जितगढी, फुलबारी, मणिमुकुन्द सेन दरबारको भगनावशेष बटौली लगायतका ठाउँ छन्। दुई वटा केबलकारहरु पनि यहाँ छन्, बुटवलको पर्यटन प्रवद्र्धन र बिकासका लागि के के कामहरु भइरहेको छ ?
हामिले जितगढी देखाइराखेका छौं। तर जितगढीमा अरु बिषयहरु के के थपिनुपर्ने हो, ती कुराहरु थपिएका छैनन्। सेन वंसी राजाको ५०५ बर्ष पुरानो दरबारको बारेमा त्यसलाई जिर्ण छ। त्यसलाई हामिले पुनर्निर्माण को कुरा अगाडी बढाएका छौं। २ वटा केबुलकारका कुराहरु छन्। तर बुटवल आएर एक दिन भएपनी किन भुल्ने? यो प्रश्न सबैका बिचमा छ। बुटवलमा मानिसहरु आएर कहि जाँदै गर्दा एकदिन भुल्नका लागि ठाँउहारु कहाँ छन् त? हामीसङ्ग व्यावसायिक केन्द्रका रुपमा त ठाँउ प्रसस्त छन्। तर पर्यटकिय क्षेत्रका रुपमा आज बुटवल बस्छु, दिनभरी यी यि पर्यटकिय ठाँउमा मैले दिन बिताउछु भनेर बाहिरबाट आउने ब्यक्तिहरुका लागी बस्ने ठाँउ काहा छ? त्यो कुरा खोजी भैरहेको छ। यस्को लागि हिलपार्कमा बिग बुद्ध नुवाकोट जानेहरुको लागि बिग शिव र बुटवलको बाणिज्य क्याम्पस देखि मगरघाट सम्म स्टिमर चलाउने यी ३ वटा महत्वाकांक्षी योजनाहरु छन। यो ठुलो बजेटका योजनाहरु भएका कारण र केही वनसँग र अनि यो भुमी सुधार मन्त्रालय सँग समन्वय गर्नुपर्ने भएका कारणले संघिय सरकारसँग समन्वय गरेर मात्र हामीले यी कुरालाई अघि बढाउन सक्छौं।
अव्यवस्थित बसोबासिहरुको कुराहरु पनि छ, पछिल्लो समय जग्गा नापजाँचको काम पनि भइरहेको छ, अव्यवस्थित बसोबासको समस्या कसरी हल हुँदै छ?
अस्ति मात्रै ६१ बर्ष बसोबास गर्नुभएका, लालपुर्जा नपाउनुभएका ४२ घर परिवार्हरुलाइ बुटवल १५ मा लालपूर्जा वितरण गर्यौ। तर अहिले हामी नापजाँचलाई नै तिब्रता दिन दिइरहेका छौं । पानी पर्न थालेपछि प्राविधिक कारणले नापजाँच गर्न मिल्दैन। त्यसकारणले पानी नपर्दा सम्म हामी नापजाँच गर्छौं। पानी परेपछी हामी टेबुल वर्क गरेर, नापजाँच गरेर आएको कुरालाई टुंग्याउन तर्फ लाग्छौं। कानुनी बाटो फुकाउने र लालपुर्जा वितरण गर्ने काममा अघि बढ्छौं। यसमा हामिले ५२ जना कर्मचारीहरु खटाएका छौं। नापी सम्बन्धि ३२ जना अमिनहरु र २० जना डोर मेन छन्।
बुटवल उपमहानगरपालिकासँग नीजि क्षेत्रको सहकार्य कस्तो छ? अरु संघसंस्थासँगको सहकार्यका बारेमा पनि बताइदिनुस् न ?
देशभरिमै निजि क्षेत्रहरूसँग सबैभन्दा राम्रो सहकार्य गर्ने पालिका बुटवल हो। हामी निजि क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएका छौं। जबसम्म निजि क्षेत्र अगाडी बढ्न सक्दैन, सहर समृद्ध बन्न सक्दैन। त्यस कारणले निजि क्षेत्र हाम्रो अभिन्न अङ्ग हो। उहाँहरुकै सहकार्य र सहयात्राले बुटवल देशकै एउटा समृद्ध सहर बन्नेछ । यस्का लागि हामी जतासुकै उहाँहरुसँग सहकार्य गर्नु परेपनि र हाम्रो चाहिँ कार्यक्रमहरु जोडनु परेपनि हामी तयार छौं।
यहाँको कार्यकालको ३ वर्ष व्यतित भइसकेको छ र बाकी २ बर्षको अवधी सकिदा बुटवलले कस्तो स्वरुप पाउला ?
हाम्रो कार्यकाल सकिँदै गर्दा आर्थिक केन्द्रका रुपमा अगाडी बढ्नका लागि बुटवलमा आधार स्तम्भहरु तयार हुन्छन्। मानवीय मानविय संसाधनको विकासमा मानवमैत्री हुने र हरेक कुराहरु बुटवलको पालिकासँग यहाको जनताको मन जोडिने खालका कार्यक्रमहरु निरन्तर हुने पालिकाको रुपमा रुपान्तरण हुन्छ। सबैभन्दा ठुलो कुरा सबैको सहभागिता हो । सबै राजनीतिक दलहरुलाइ जोड्ने, सबै संघ संस्थाहरुलाइ जोड्ने र सबै जनप्रतिनिधि एक मत भएर अगाडि बढ्ने पालिकाका रुपमा बुटवलले आफ्नो पहिचान स्थापित गर्नेछ।

