
बुटवल-बुटवल विगतदेखीनै एउटा व्यापारीक केन्द्र हो । त्यसकारण रोजगारीको अवसरको लागि विभिन्न ठाउँबाट मानिसहरु यहाँ आउने गर्दथे । विगतमा बुटवलको चहलपहल अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी रहेको हुने गर्दथ्यो । त्यसबेला यो ठाउँलाई बटौली भनिन्थ्यो ।
बटौलीमा पहाड र भारतीका विभिन्न ठाउँबाट मानिसहरु व्यापारको लागि आउने गर्दथे । नुन, तेल, कपडा लगायतका सामान किनमेलको लागि पहाडबाट कैयौ दिन हिडेर हाम्रा बाबुबाजे बटौली आउँथे । उनीहरुले यहाँ व्यापारीलाई घिउ बेचेर घरायसी सामान किनेर लैजान्थे । सयौंजनाले बटौलीमा व्यापार गरेर आफ्नो आम्दानीको श्रोत स्थापित गरेका थिए । त्यसरी व्यापार गरेका व्यवसायीहरु २००९ सालमा संगठीत भएका थिए । जस अनुसार बुटवल व्यापार संघ गठन भयो । जुन पछि गएर बुटवल उद्योग बाणिज्य संघको स्थापना भएको थियो ।
त्यसबेलाको बटौलीमा व्यापार मात्र नभई कामदारको लागि पनि आउने गर्दथे । बुटवल उद्योग बाणिज्य संघका संस्थापक सदस्य बैजनाथ जैसवालले आफू काम गर्दा गर्दै पछि व्यापार गर्न थालेका थिए । सुरुमा मैले काकाको पसलमा काम गरेको थिएँ । पछि आँफैले व्यापार सुरु गरें । उनले भने त्यसबेला यहाँ विजुली बत्ती थिएन । सामान लिन कानपुर जाँदा हामीले बत्ती बलेको फोनमा कुरा गरेको देख्थ्यौं । हाम्रोमा कहिले आउला भन्ने सोँच्थ्यौं । बंसराज जस्ता धेरैले पसलमा काम गर्दा गर्दै व्यवसाय सुरु गरेका हुन् । तत्कालिन बटौलीमा पसलमा मात्र होइन भरियाको रुपमा धेरैले काम पाएका थिए ।
पहाडबाट किनमेलका लागि आउने मध्ये कतिपयले भरिया लगाएर समान लैजान्थे । भारतबाट आएका लाहुरेहरु बुटवलसम्म गाडीमा आउँथे । यहाँबाट पहाडी जिल्लामा केही दिन हिडेरै जानुपर्दथ्यो । लाहुरेहरुले भरिया लगाएर सामान लिएर जान्थे ।
तिनाउ वारी खस्यौलीमा टहराहरु थिए । जहाँ चियापसल र होटल रहेका थिए । पहाडी जिल्लाहरुका लागि भारत जानको लागि बस चढ्न बटौली अर्थात अहिलेको बुटवल नै आउनुपर्दथ्यो । भारतबाट आएकाहरु पनि बटौलीमै झरेर पहाडी जिल्लामा हिडेर जान्थे । आउने र जाने क्रममा उनीहरु बटौलीमा बास बस्नुपथ्र्यो ।
बुटवल यातायातको केन्द्र बनेकाले तिनाउ वारी खस्यौलीमा बजार विस्तार हुँदै गयो । २० को दशकसँगै मानिसहरु व्यापार व्यवसाय गर्न बुटवल झर्ने क्रममा बढ्यो । व्यापार विस्तार हुन थालेपछि रोजगारीको अवसरहरु पनि बढ्दै गयो । व्यवसायीक प्रतिष्ठानमा काम गर्न युवाहरु बुटवल झर्न थाले । साविक लुम्बिनी अञ्चल सदरमुकाम भएकाले बुटवलमा अञ्चलाधिसको कार्यालय थियो । अन्य सरकारी कार्यालयहरु पनि खुल्दै गए । कार्यलयमा कर्मचारीको रुपमा काम गर्न विभिन्न जिल्लाबाट आउने क्रम पनि चलिरहयो । २०२० सालमा बुटवलमा ७ वटा विद्यालय स्थापना भए । विद्यालयमा जसबाट विद्यालयमा शिक्षकको लागि रोजगारीको बाटो खुल्यो ।
२०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापना भयो । औद्योगिक क्षेत्रमा उद्योगहरु खुलेपछि बुटवलमा युवाहरुले श्रमिकको रुपमा काम गर्न सुरु गरे । उद्योग, व्यवसाय, शिक्षण संस्था कार्यालयहरुसंख्या थपिँदै गएपछि बुटवल रोजगारीको हव बन्दै गयो । आधुनिक बुटवलमा ठूला सपिङ कम्प्लेक्स, सुपरमार्केटहरु खुलेका छन् । कुनै बेला बुटवलमा औंलामा गन्न सकिने होटलहरु छन्। अहिले सयौंको संख्यामा सुविधासम्पन्न होटल, रेष्टुरेन्ट, पार्टी प्यालेशहरु छन्। सामुदायीक सँगै दर्जनौको सख्यामा नीजि विद्यालय रहेका छन् । यसले गर्दा थुपै्रले रोजगरी पाएका छन् । यातायातको केन्द्र भएकाले देशकै ठूलो बस व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी प्राली यहीँ छ । यातायात क्षेत्रमा पनि हजारौंले रोजगारी पाएका छन् ।
तर पनि सिप र ज्ञानको अभावमा बेरोजगारको संख्या ठूलो छ । अर्को तर्फ उद्योग र व्यवसायमा दक्ष जनशक्तीको अभाव छ । यो समस्यालाई समाधान गर्न बुटवल उपमहानगरपालिकाले रोजगारको क्षेत्रमा विभिन्न कार्यक्रमहरु अघि बढाएको छ । रोजगारी सिर्जनाको लागि उपमहानगरले प्राविधिक शिक्षा र सिपयुक्त तालिमहरु सञ्चालन हुँदै आएको छ । बुटवल उपमहानगरपालिकाले गृहणी महिलालाई रोजगारी सिर्जना गर्ने र युवाहरुको विदेश पलायन रोक्ने नीति पनि लिएको छ । जस अनुसार बुटवलमा गृहणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशिलता, युवा इलम जस्ता कार्यक्रमबाट सिप र रोजगारीसँग जोड्ने कार्यक्रम अघि बढाएको छ । बुटवल उपमहानगरपालिकाले यही असार महिनामा रोजगार मेला समेत आयोजना गर्दै छ।
असार १८ बुटवल ११ कालिकानगरको दियालो फूडल्याण्डमा रोजगार मेला हुन लागेको हो । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिहरू र रोजगारदाताहरूलाई सहभागी हुन आग्रह गरेको छ । रोजगार खोजीमा रहेका व्यक्तिहरूका प्रत्यक्ष रूपमा विभिन्न कम्पनीहरूसँग अन्तर्वार्ता गर्ने प्राप्त गर्ने छन् । त्यस्तै बजारमा उपलब्ध विभिन्न रोजगारीको जानकारी पाउनुको साथै सीधा रोजगारदाताहरूसँग सम्पर्क गर्न सक्ने मौका मेलामा मिल्ने छ । रोजगारदाताहरूका लागि उपयुक्त तथा योग्य उम्मेदवारहरू भेट्ने मौका हो । प्रत्यक्ष अन्तर्वार्ता लिने व्यवस्था र कम्पनीको प्रतिष्ठा र आकर्षण वृद्धि गर्ने मौका पनि व्यवसायीक संस्थालाई हुने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिको हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पढाइसँगै रोजगार कार्यक्रमलाई अगाडि बढाउँ, युवाहरुलाई देशमै रहने वातावरण निर्माण गरौं भन्ने नारा अघि सारेको छ । ट्राफिक व्यवस्थापनमा पढाइसँगै रोजगार कार्यक्रम अन्तर्गत स्नातक र स्नातकोत्तर पढेकहरुलाई ओजेटी मा खटाउने र ओजेटी भत्ता स्वरुप दैनिक २ सय रुपैया लिइ ३ महिनाको लागि खटाउने बताएको छ । परम्परागत सीपहरु आरनलाई आधुनिकीकरण गर्ने, भाँडा बनाउने, डोको नाम्लो बुन्ने, ढकिया बनाउने जस्ता सिपको प्रवद्र्धन गर्ने र उद्यमी बन्न चाहानेलाई अनुदान सहित उत्प्रेरित गर्ने उपमहानगरले जनाएको छ । मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम मार्फत युवाहरुका लागि रोजगारी सिर्जना गर्न कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

