२०८२ फाल्गुन २३ गते, शनिबार ११:२०
  • सम्पदा सूचीमा नपर्दा निराश नबनौं, तिलौराकोटलाई उजागर गर्न अब यसो गरौं

    सुदीप भण्डारी

    असारको चौथो हप्ता तिर लुम्बिनी र बुद्धप्रति चासो राख्ने अधिकांसमा एउटा सानो आशा थियो। ‘गौतम बुद्धले २९ वर्ष विताएको र उनका पिता राजा शुद्धोधनको दरबार रहेको स्थान तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुनेछ, यहाँको विश्वव्यापी प्रचार प्रसार हुन्छ र कपिलबस्तुमा पर्यटकको ओइरो लाग्छ।’ भन्ने लागेको थियो।

    त्यसबेला फ्रान्समा युनेस्को अन्तर्गत विश्व सम्पदा समितिको बैठक चलिरहेको थियो। संस्कृति पर्यटन तथा नगरिक उड्यन मन्त्री बद्री पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित बैठकमा सहभागी थिए। तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृतको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। अन्ततः तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव फ्रान्सको सो बैठकले अस्विकृत गर्यो। सरकार र लुम्बिनी विकास कोषको लामो समयदेखीको प्रयास र लगानी खेर गयो, आशा निराशामा परिणत भयो।

    सूचीमा परेको भए तिलौराकोट विश्वव्यापी एउटा अभिलेखमा हुन्थ्यो, प्रचार प्रसारमा राम्रो प्रभाव पथ्र्यो। विश्वसम्पदा समावेश भएन भनेर निरास भइरहन आवश्यक छैन। अब हामीले तिलौराकोटकको प्रचारप्रसार र प्रवद्र्धनमा ध्यान दिन भने छोड्न हुँदैन। सूचीमै नपरेपनि तिलौराकोटलाई पर्यटकीय हिसाबले अझै माथि उठाउन र उजागर गर्न सकिन्छ। तर प्रचारप्रसार र प्रवर्द्धनमा अहिलेसम्म जे गरिरहेका छौं त्यत्तीले भने पुग्दैन।

    लुम्बिनी आएका धेरै पर्यटकलाई तिलौराकोट पुर्याउनेगरि योजना बनाउनुपर्छ। यसको लागि सरकार, लुम्बिनी विकास कोष, पालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायीहरुले आ-आफ्नो कार्यशैली बदल्नैपर्छ। अहिले लुम्बिनी आएका पर्यटक मध्ये निकै कम मात्र तिलौराकोट पुग्ने गरेका छन्। सन् २०२४ मा आन्तरिक र बाह्य गरेर ११ लाख ७५ पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। तर सोही अवधिमा तिलौराकोट घुम्नेको संख्या १ लाख पनि छैन।

    बुद्धिष्ट मुलुकबाट लुम्बिनी आएका धार्मिक पर्यटकहरु तुलनात्मक रुपमा केही बढि कपिलबस्तु पुग्ने गरेका छन्। तर नेपाली र भारतीय पर्यटकहरुको संख्या निकै कम छ। लुम्बिनी आएका ५ प्रतिसत जति मात्र आन्तरिक पर्यटक तिलौराकोट पुग्ने गरेका छन्। भारतीयको संख्या ३ प्रतिसत देखिएको छ। अब लुम्बिनी आएका मध्ये कम्तीमा ३० प्रतिसत पर्यटक तिलौराकोट पुर्याउने गरि काम गर्नुपर्छ। त्यसको लागि पर्यटकीय वातावरण बनाउनु जरुरी छ। पर्यटकीय वातावरण निर्माणका लागि यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ।

    लुम्बिनीदेखी तिलौराकोटसम्म स्तरिय पर्यटनमैत्री सिधा सार्वजनिक यातायात
    अहिले लुम्बिनी आएका पर्यटकहरुलाई तिलौराकोट जान त्यती सहज छैन। सावजनिक यातायातको अवस्था त विजोग छ। लोकल बसमा तौलिहवासम्म गएर त्यहाँ झरेर ३ किलोमिटरको लागि अर्को गाडी या अटोरिक्सा चढेपछि मात्र तिलौराकोट पुग्न सकिन्छ। सहज र पर्यटनमैत्री सार्वजनिक यातायात नहुँदा तिलौराकोटमा जति पर्यटक जानुपर्ने हो त्यती गएका छैनन्। निजी गाडी रिर्जव गरेर लुम्बिनीबाट तिलौराकोट जान बढि खर्च लाग्छ। पर्यटनमैत्री सिधा सार्वजनिक यातायात सञ्चालन भयो भने लुम्बिनीबाट आरामदायी तरिकाले सय-डेढ सय रुपैयामै तिलौराकोट पुग्न सकिन्छ। तिलौराकोट जाने स्तरिय बस देख्ने हो भने लुम्बिनी घुमिरहेका आन्तरिक तथा बाहय पर्यटकहरुलाई एक पटक पुगेर आउँ भन्ने लाग्नेछ।

    लुम्बिनीमा ५ वटा विद्युतीय बस र १४ वटा भ्यान अलपत्र अवस्थामा छन्। अदालतबाट सञ्चालनको आदेश आएपनि गुडेका छैनन्। सेता विद्युतीय बस नचलेपनि नीजि क्षेत्रबाट तिलौराकोटसम्मको लािग पर्यटकमैत्री सिधा बस सञ्चालन हुनुपर्छ। यसका लागि कपिलबस्तुका जनप्रतिनिधि र व्यवसायीले पनि पहल गर्नुपर्छ।

    तिलौराकोटको प्याकेज
    कपिलबस्तुमा पर्यटक आकर्षित गर्न अब प्याकेज सहित प्रचार प्रसार गर्नैपर्छ। लुम्बिनी आएका पर्यटकहरुलाई विभिन्न सहुलियत र सुविधा देखाएर तिलौराकोटमा आकर्षित गर्न अब ढिला गर्न हुँदैन। पर्यटनमैत्री बस सञ्चालन भएमा तिलौराकोटले सस्तो प्याकेज बनाउन सक्छ। रिर्जब गाडीको लागि प्याकेज दर केही महंगो हुन सक्छ। लुम्बिनी र कपिलबस्तुको लागि एक रात दुई दिने प्याकेज, दुई रात ३ दिने प्याकेज, अन्य बुद्धस्थल तथा पर्यटकीय गन्तव्यहरुलाई समेटेर चार पाँच दिनको प्याकेज बनाएर प्रचार प्रसार गर्न सकिन्छ। प्याकेजमा कति खर्च लाग्छ उल्लेख गर्नुपर्दछ। कपिलबस्तुका पर्यटन व्यवसायी र यातायात व्यवसायीहरु मिलेर लुम्बिनीबाट तिलौराकोट आउनको लागि यातायातमा छुट, होटलमा छुट भनेर समय-समयमा अफर सार्वजनिक गर्नुपर्छ।

    लुम्बिनीमा कपिलबस्तुको सूचना केन्द्र तथा सूचना प्रणाली
    पर्यटकहरुले बुद्धजन्मस्थल लुम्बिनीमै तिलौराकोट बारे सूचना र जानकारी पाउनुपर्छ। त्यसको लागि लुम्बिनीमा पर्यटकहरुले देख्ने गरि कपिलबस्तु डेक्स स्थापना गर्नुपर्छ। कपिलबस्तु नगरपालिका, जिल्लाका पर्यटन व्यवसायीहरुले समन्वय गरेर गाइड अथवा स्वयंसेवक खटाउनुपर्छ। स्वयंसेवकले लुम्बिनीका पर्यटकहरुलाई तिलौराकोटबारे सुचना र जानकारी प्रदान गर्नेछन्। त्यसै गरि तिलौराकोट भ्रमण गर्न उत्पे्ररित गर्नेछन्।

    नगरपालिकाको सक्रियता
    तिलौराकोटसहित कपिलबस्तुका बुद्धस्थलहरुको प्रवद्र्धनको लागि कपिलबस्तु नगरपालिकाले थप सक्रियता देखाउन आवश्यक छ। बुद्धले २९ वर्ष विताएको तिलौराकोटको प्रचार प्रसार र प्रवद्र्धनमा पालिकाले विशेष ध्यान दिनुपर्छ। लुम्बिनी आएका पर्यटकहरुलाई कपिलबस्तुमा आकर्षित गर्न विभिन्न अभियान तथा कार्यक्रम सार्वजनिक गर्नुपर्छ।
    कपिलबस्तु नगरपालिकाले पश्चिमबाट लुम्बिनी घुम्न आएका पर्यटकलाई तिलौराकोटमा स्वागत गरी जिल्लाका अन्य बुद्धस्थलहरु घुमाएर लुम्बिनी जाने वातावरण गराउनुपर्छ। लुम्बिनीबाट आएका पर्यटकहरुलाई स्वागत गरि पर्यटनमैत्री सेवा प्रदान गर्नुपर्छ।

    पर्यटकीय पूर्वाधार निर्माण
    तिलौराकोट लगायत कपिलबस्तनुका बुद्धस्थलमा पर्यटकीय पूर्वाधारहरु निर्माण हुनु जरुरी छ। लुम्बिनी विकास कोष, संघिय सरकार, प्रदेश सरकारहरुले पर्यटनमैत्री वातावरण हुने गरि पूर्वाधारहरु बनाउनुपर्छ। पर्यटकको लागि सूचना केन्द्र, विश्रामस्थल, ध्यान केन्द्र लगायतका संरचनाहरु निर्माण गर्न जरुरी छ। कपिलबस्तुहरुमा पर्यटनमैत्री स्तरिय होटलहरु कम छ। निजी क्षेत्रको पहलमा केही पर्यटनमैत्री स्तरिय होटलहरु पनि थप हुन आवश्यक छ। जसले गर्दा यी लुम्बिनी आएका पर्यटक कपिलबस्तु आएर पनि सुविधाजनक तरिकाले बस्न सकुन्। बुद्धसँग सम्बन्धित गतिविधहरु पनि बढाएर कपिलबस्तुमा पर्यटकीय चहलपहल बढाउन सकिन्छ।

    कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव अस्विकृत भएको छ। तर सूचीमा परेन भनेर हामी आत्तिनुपर्दैन। तर सूचीमा नपरेको कुराले तिलौराकोटप्रति सरकार र पर्यटनकर्मीको दायीत्व अझ बढेको छ। सहज यातायातको व्यवस्था, प्याकेज सहित प्रचारप्रसार, पर्यटनमैत्री पूर्वाधार र वातावरण निर्माण गर्ने हो भने कपिलबस्तुका बुद्धस्थलहरुमा पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ। यसो गर्दा तिलौराकोटको पहिचान थप उजागर हुने छ।