२०८३ बैशाख १० गते, बिहीबार २०:००
  • राम्रो टुर प्याकेज बनाउन सके लुम्बिनीको पर्यटनबाट ठूलो फाइदा लिन सकिने

    भैरहवामा ४ दिने टुर प्याकेज डेभलपमेन्ट तालिम सम्पन्न

    भैरहवा – राम्रो टुर प्याकेज बनाउन सकेमा लुम्बिनीको पर्यटनबाट ठूलो उपलब्धी हासिल गर्न सकिने भैरहवामा आयोजित एक कार्यक्रममा बताइएको छ। चार दिने टुर प्याकेज डेभलपमेन्ट तालिमको समापनका क्रममा पर्यटनकर्मी तथा सरोकार वालाहरुले समयसापेक्ष र व्यवस्थित प्याकेज दिन नसक्दा यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नसकिएको उल्लेख गरेका थिए।

    नेपाल पर्यटन बोर्ड र युएनडिपी नेपालको संयुक्त पहलमा दिगो पर्यटन परियोजनाको सहकार्य तथा नाट्टा लुम्बिनीको आयोजनामा बुधबारदेखी सुरु भएको तालिम शनिवार समापन भएको हो। समापन कार्यक्रममा पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन नै भएको बताए। बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटकहरुको बसाइ लम्बाउन पनि राम्रो टुर प्याकेज आवश्यक भएको उनको भनाइ छ। पर्यटकको रुची अनुसार गन्तव्यको छनोट गरि सेवा प्रदान गर्नुपर्ने जोशीको भनाइ छ।

    नाट्टाका कार्यकारीणी सदस्य विजय रिजाल टुर अपरेटरहरु व्यवहारिक बन्नुका साथै सूचना प्रविधिको बारेमा पनि ज्ञान हुन आवश्यक भएको बताए। नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले टुर प्याकेज निर्माण पर्यटन क्षेत्रको लागि महत्वपूर्ण पक्ष भएको उल्लेख गरे। उनले ट्राभल व्यवसायीले पर्यटकको रुची र क्षमता अनुसारको प्याकेज उपलब्ध गराउनुपर्ने धारणा राखे।

    नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले पर्यटन क्षेत्रमा लाग्न चाहानेहरुको लागि यो तालिमले सिकाइ प्रदान गरेको बताए। उनले प्याकेज बनाएर भारतीय बजारमा बेच्न सकेमा मात्र यहाँको पर्यटनमा ठूलो फाइदा हुने उल्लेख गरे। नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष कुलचन्द्र पाण्डेको स्वागत र सचिव मन्जु गिरिको सञ्चालनमा भएको कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    चार दिने तालिममा ३० जना जतिको सहभागीता रहेको तालिम संयोजक तथा नाट्टा लुम्बिनीका कोषाध्यक्ष प्रदीप कुमार पोखरेलले जानकारी दिए। सहभागीहरुलाई नाट्टाका प्रशिक्षक विनय शाक्य, नाट्टा लुम्बिनीका कार्यसमिति सदस्य बरुण ज्ञवाली लगायतय प्रशिक्षण दिएका थिए। तालिममा सहभागीहरुले टुर प्याकेजको ज्ञान हासिल गर्न पाउँदा खुशी लागेको सुनाउँदै पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको बताएका थिए।