२०८३ जेष्ठ ६ गते, बुधबार ०९:१८
  • गौतमबुद्ध विमानस्थलमै रहेका दुईवटा विद्युतीय बस कहिले सञ्चालनमा आउँछन् ?

    पश्चिमका ३ विमानस्थलमा सञ्चालन हुँदा भैरहवामा ढिलाइ

    भैरहवा-लुम्बिनीमा ५ वर्ष भन्दा बढि समयसम्म अलपत्र परेका विद्युतीय बस मध्ये २ वटा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै छन्। लुम्बिनीमा चल्न नसकेका ५ वटा विद्युती बस गत चैत्रमा लुम्बिनी विकास कोषले नेपाल नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।

    त्यसपछि ति बस लुम्बिनीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका थिए। ३ वटा विद्यतीय बस नेपालगञ्ज, सुर्खेत र धनगढी पुगेर त्यहाँका विमानस्थलमा सञ्चालनमा आइसकेका छन्। बाँकी २ वटा विद्युतीय गौतमबुद्ध विमानस्थलले नै चलाउने भनेर भैरहवा राखिएको छ। तर भैरहवाको विमानस्थलमा राखिएका विद्युतीय बस सञ्चालनमा अलमल भइरहेको छ।

    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता मुरारीप्रसाद पौडेलले केही प्राविधिक कारणले गर्दा विद्युतीय बस सञ्चालनमा ढिलाइ भइरहेको बताए। ‘बस यहाँ आएपनि चार्जिङ स्टेसनको पूर्वाधार लुम्बिनीमै छ । सवारी चालकको पनि व्यवस्था गर्नुपर्ने हुन्छ।’ उनले भने ‘बसको एसीले काम गरेको छैन मर्मत गर्नुपर्ने हुन्छ। नागरिक उड्यन प्राधिकरणले हस्तान्तरणको प्रक्रिया पनि मिलाउन बाँकी छ।’

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले २ वटा विद्युतीय बस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै चलाउने भनेर राखिएको र सञ्चालनमा आउन केही दिन लाग्ने बताए। ‘यो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले केही मापदण्ड पुरा गर्नुपर्छ। बरु दुई चार दिन ढिला होस् पुरा तयारी गरेर चलाउनुपर्छ भन्ने हो।’ उनले भने ‘दुई वटा बसको एसी नचल्दा समस्या भएको छ। बस संचालनको लािग खर्च कहाँबाट कसरी गर्ने भन्ने बारेमा टुंगो लागेको छैन। मन्त्रालयबाट कार्यविधि बन्दैछ।’

    यात्रुको सहजताको लागि विद्युतीय बस विमानस्थलबाट भैरहवाको बुद्धचोकसम्म चलाउनुपर्ने माग पनि उठीरहेको छ। तर शाहले सुरुमा विमानस्थल भित्रै विद्युतीय बस चलाउने अवस्था हेरेर बाहिर चलाउने बारे निर्णय गर्ने उल्लेख गरे। ‘आन्तरिक उडानको एउटा जाहाजमा बढिमा ७२ जना यात्रु हुन्छन्। धेरै ट्याक्सीमा जाने हुन्छन्।’ उनले भने ‘भैरहवाको बुद्धचोकसम्म बस चलाउने ५ जना यात्रु भयो भने के अर्थ हुन्छ र ? त्यसैले कसरी चलाउने भन्ने हामीले विचार गर्ने छौं।’