इन्धनको मूल्यबृद्धिले घटे भारतीय पर्यटक

बुटवल जेठको उखरमाउलो गर्मीमा पहाडी गन्तव्य तथा हिल स्टेसनहरुमा यतीबेला पर्यटकको चहलपहल बढेको छ। बुटवल, भैरहवा लगायत तराईका शहर र बजारबाट पाल्पाका विभिन्न पर्यटकीय गन्तव्य र हिल स्टेसनमा गर्मी छल्न पुगिरहेका छन्।
यती बेला पाल्पा तान्सेनका होटलहरुमा अक्कुपेन्सी पनि राम्रो रहेको होटल संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले जानकारी दिए। ‘शुक्रबार, शनिवार र आइतबार यहाँका होटलहरु राम्रै संख्यामा पाहुनाहरु आउने गरेका छन्। कुनै विदाका दिन त पर्यटक स्तरका होटल भरिभराउ हुने गरेका छन्।’ उनले भने ‘सातामा दुई दिन विदा हुँदा विगतका वर्ष भन्दा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । एक रात बस्नेहरु अहिले दुई रात बस्न थालेका छन्।’ आन्तरिक पर्यटकको चहलपहल बढे पनि यो वर्ष भारतीय पर्यटकहरु घटेको संघका अध्यक्ष बस्यालले बताए । इन्धनमा भएको मूल्य बृद्धिका कारण भारतीयहरु अहिले अलि कम आएको उनले सुनाए।
तानसेन नगरपालिका वडा नम्बर ७ मा सिद्धार्थ राजमार्गसँगै बनबाटिका होटल एण्ड रेष्टुरेन्ट रहेको छ। विशेष गरि यो होटलमा भारतीय पर्यटकहरु आउने गर्दछन्। दुई दिन विदाले गर्दा आन्तरिक पर्यटकको संख्या पनि बढेको बनबाटिका होटलकी व्यवस्थापक मधु पाण्डेले बताइन्। ‘आइतबार पनि विदा भएकाले पाहुनाहरुको चहलपहल बढेको छ । देश भित्रकै नेपाली पाहुनाहरु पनि आइरहनुभएको छ ।’ उनले भनिन् ‘भारतीय पर्यटकहरु पनि आइरहनु भएको छ ।’
भारतीय पर्यटक नेपालको यात्राको लागि सहि तरिकाले व्यवस्थापन गर्नुपर्ने पाण्डेको भनाइ छ। ‘भारतीय बसमै पर्यटक आएको हामीले देखेका छौं । नीजि गाडीमा आए त केही भएन तर बसमा आउने भारतीयहरुले नेपालकै बस प्रयोग गर्नुपर्ने हो ।’ उनले भनिन् ‘कतिपय भारतीयहरुले सडक किनारमा पकाएर खाने गर्दछन् । उनीहरुलाई नजिकको होटलमा व्यवस्थापन गर्ने अथवा आफै पकाउनलाई निश्चित ठाउँको व्यवस्था गर्नुपर्छ ।’
तानसेनको कैलाश सामुदायीक होम स्टेका अध्यक्ष अशोक थापाले जति भारतीय आउनुपर्ने हो नआएको बताए । आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दा उत्साहित भएको सुनाए। पाल्पामा बुटवलको भन्दा ५ देखी १० डिग्रि सेल्सियस कम तापक्रम हुने गर्दछ।
अर्घाखाँचीको सुपादेउराली नरपानी रिसोर्टमा अघिल्ला वर्ष बैशाख लागेदेखि नै भारतीय पर्यटकहरुको खचाखच हुने गर्दथे । तर यस पटक छिमेकी मुलुकबाट खासै पाहुना नआएको रिसोर्टका प्रबन्ध निर्देशक जिवलाल पौडेलले बताए । ‘पहिले जसरी भारतीय पर्यटकहरु आउँथे । विदाका दिन त आएका पाहुनाहरु फर्काउनुपर्ने अवस्था हुन्थ्यो । अहिले त्यस्तो चहलपहल छैन ।’ उनले भने बैशाखसम्म मौसम चिसै थियो उनले भने ‘अहिले त गर्मी बढेको छ । इन्धनमा मूल्य बढेकाले होला जेठमा पनि भारतबाट पर्यटकहरु खासै आएका छैनन् ।’ तर अर्घाखाँचीमा आन्तरिक पर्यटकहरुको भने चहलपहल बढेको छ।

