२०८३ जेष्ठ २९ गते, शुक्रबार ०२:२८
  • लुम्बिनी, पोखरा र भरतपुरबिच संयुक्त रूपमा पर्यटन प्रवर्द्धन गर्न ‘सिल्भर ट्रयाङ्गल’को समझदारी

    पोखरा- लुम्बिनी, पोखरा, र भरतपुरबिच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिकाद्धारा सञ्चालित पोखरा भ्रमण वर्षको संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    समझ्दारी पत्रमा संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने उल्लेख छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

    समझदारीअनुसार तीनै पक्षले वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन्। सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष आलोपालो तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ। समझदारी पत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला ट्राभल मार्ट’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय बीटूबी तथा जीटूजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ।

    नगर प्रमुख आचार्यका अनुसार पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ। तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिने छ। प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना समेत गरिने आचार्यले बताए।

    भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारीले उक्त सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा लिएको उल्लेख गरे। सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने उनले जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीन वटै गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन्।

    पर्यटन व्यवसायी, होटेल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबिच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारी पत्रमा समावेश गरिएको छ।