२०८३ असार ९ गते, मंगलवार ०१:१०
  • जाउँ है पोखराको टोली भैरहवामा, पर्यटन प्रवर्द्धनमा दुई शहरबीचको सहकार्यमा जोड

    भैरहवा -लुम्बिनी र पोखरा सहज कनेक्टीभिटी हुनुपर्ने भैरहवामा आयोजित एक कार्यक्रममा बताइएको छ। जाउँ है पोखरा अभियानको टोलीले आइतबार भैरहवामा गरेको प्रवद्र्धनात्मक कार्यक्रममा दुबै शहरका पर्यटन व्यवसायीहरुले पर्यटनमा सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन्।

    उनीहरुले पोखरा, चितवन र लुम्बिनी समेटिएको सिल्भर ट्र्याङगलको लागि एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड दिए। कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमक खाँले सिल्भर ट्रयाङ्गल अवधारणा महत्वपूर्ण अवधारणा रहेको वताए। उनले यसलाई सफल बनाउन सवैको सामुहिक पहल गर्नुपर्ने धारणा राखे।

    नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखरामा पर्यटकसँगै उत्साह पनि बढेको उल्लेख गरे। पोखरा आएका पर्यटकलाई अन्य गन्तव्यमा पठाउनको लागि सिल्भर ट्याङ्गल क्षेत्रको एकीकृत र ब्यवस्थित प्रवर्दनका लागि नै अवधारणा ल्याइएको उनले बताए। यो अवधारणालाई सफल पार्न गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारका साथै ट्र्याङ्गल भित्रका स्थानीय तहका साथै पर्यटनसंग सम्बन्धित सवै पक्षले सामुहिक रूपमा पहल गर्नु पर्ने उनको भनाइ छ।

    सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली भारतीय र चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपाल भित्र्याउने वातावरण बनाउनु पर्ने बताए। सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु शर्माले बोलीमा मात्र नभएर ब्यवहारमा नै पोखरा, चितवन र लुम्बिनीको एकीकृत विकासको योजना बन्नुपर्ने बताए।

    नाट्टाका केन्द्रीय सदस्य चन्द्र बहादुर थापाले पर्यटकीय राजधानी पोखराबाट अन्यन्त्रका पर्यटन व्यवसायीले सिक्नुपर्ने विषय धेरै नै रहेको उल्लेख गरे। टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटकीय क्षेत्रका अनुभव आदान प्रदानको मध्यमवाट अगाडि बढ्नुपर्नेमा जोड दिए।

    सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष तथा हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय रुपैयाँ धेरै वेक्न नपाउँदा भारतीय पर्यटकलाई समस्या रहेको सुनाए। उनले भैरहवा र पोखरा विमानस्थल दुवै राम्रोसंग चल्न नसक्नु दुखद् रहेको उल्लेख गरे।

    कार्यक्रममा स्वागत गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले लुम्बिनी आएका पर्यटक पोखरा र पोखरा आएका पर्यटक लुम्बिनी ल्याउने व्यवस्था गर्नका लागि पर्यटन व्यवसायीबीच आवश्यक सहकार्य हुनुपर्नेमा जोड दिए। भैरहवा हुँदै पर्यटक धेरै भित्रने र उनीहरुलाई पोखरा लगाएत देशका विभिन्न ठाउँमा पुग्न प्रेरित गर्नु पर्ने उल्लेख गरे।

    होटल संघ पोखराले जाउँ है पोखरा अभियान र चलिए पोखरा अभियान चलाएर आन्तरिक एवं भारतीय पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सफल भएको उनको भनाई थियो।नेपाल भारत मैत्री संघ लुम्बिनीका निवर्तमान अध्यक्ष श्रीचन्द गुप्ता, लुम्बिनी रेष्टुरेन्ट एण्ड वार एसोसिएसनका अध्यक्ष राजेश महोत्रा, होटल संघ पोखराका सचिव पार्वती पाण्डे र लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझी लगयतले आ आफ्ना भनाइ राखेका थिए।