२०८३ असार १३ गते, शनिबार ०१:२७
  • पोखराको उडानका लागि फ्लाई दुबईपछि एयर अरेबियाले पनि थाल्यो अध्ययन

    पोखरा – एयर अरेवियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि अध्ययन थालेको छ। युएईको अर्को शहर शारजाहबाट पोखरा उडान गर्न उसले चासो दिएको हो।

    उडानको लागि एयर अरेबियालेस्थलगत अध्ययन समेत थालेको नेपाल नागरिक उड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। ‘एयर अरेबियाले पनि उडान गर्ने भनेर फिल्ड भिजिट गरेको छ । शारजाहबाट पोखरा उडान गर्ने इच्छा जाहेर गर्नुभएको छ। ऋहिले छलफलकै क्रममा छौं।’ उनले भने।

    युएईकै फ्लाई दुबईले असोज ७ गतेबाट दैनिक उडान गर्ने गरि बुकिङ खोलिसकेको छ। एयर अरेबियाले पनि उडान सुरु गरेमा पर्यटकीय राजधानी पोखराले विश्व बजारमा आफ्नो सञ्जाल बढाउने छ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले एयर अरेबियाको एउटा टोली आएर बजार बुझिसकेको जानकारी दिए। ‘यहाँको बजार बुझ्न एउटा टिम आएर छलफल गरेको थियो। अर्को पटक प्राविधिक टोली आउने कुरा छ।’ उनले भने ‘इच्छा व्यक्त गरेकाले एयर अरेबियाले पनि उडान गर्ने सम्भावना देखिएको छ। तय भइसकेको छैन।’

    यसअघि सिचुवान एयरलाइन्सले केही पोखरा छेन्दु केही चार्टर उडान गरेको थियो। त्यस्तै हिमालयन एयरलाइन्सले पनि ल्हासा-पोखरा उडान गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको हो। तर यहाँबाट नियमित उडान हुन सकेको छैन।