
बुटवल – गर्मी सुरु भएसँगै नेपालका विभिन्न पहाडी गन्तव्यमा भारतीय पर्यटकहरुको चहलपहल बढेको छ । अहिले पाल्पा, पोखरा, मुक्तीनाथ लगायतका ठाउँमा भारतीय पर्यटकहरु गर्मी छल्न र तिर्थ यात्राको लागि आएका छन् । रुपन्देहीको बेलहिया नाका स्थल मार्ग हुँदै सबै भन्दा बढि पर्यटक भित्रने नाका हो । अहिले भारतीय पर्यटक यही नाका भएर भित्रीरहेका छन् । पोखरा र मुक्तीनाथ सम्म हिडेका भारतीय पर्यटकहरुलाई बुटवलमा केही बेर भुलाउन सकेमा यहाँको आर्थिक चलायनमा बढ्न सक्छ ।
बुटवल बेलहियाबाट २५ किलोमिटरको दुरीमा छ । उनीहरु नेपाल भित्रिएपछि केही दुरी पार गरि बुटवलमा विश्राम गर्ने वातावरण बनाउनुपर्छ । बुटवलमा थुप्रै स्तरिय होटलहरु छन् । आर्थिक अवस्था बलियो भएकाहरु एक रात बुटवलको होटलहरुमा बस्छन् । बुटवलमा बसेको अवधिमा यहाँको बटौली, फूलबारी, जितगढी, केबलकार घुमाउने वातावरण बन्नुपर्छ । धार्मिक पर्यटकहरु सिद्धबाबाको दर्शन गर्छन ।
कतिपय भारतीय पर्यटकहरु शाकाहारी छन् । शहरमा शाकाहारी होटल सहज भेटाउन गाह्रो पर्छ । माछामासु नपाक्ने होटल तथा भोजनालय भयो भने उनीहरु सरर मनले सहजसँग बस्छन् । त्यसैले बुटवलमा भारतीय पर्यटकहरुलाई अड्याउन शाकाहारी होटललाई पनि प्रोत्साहन गर्नुपर्छ । तिर्थयात्रीको रुपमा आएका भारतीय पर्यटकहरु शाकाहारीसँगै होटलमा नखाने र नबस्ने खालका पनि हुन्छन् । आँफै पकाएर खाने भारतीय तिर्थयात्रीहरुको लागि बुटवलमा उचिन स्थानको व्यवस्था गर्न सकिन्छ ।
पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्कको आसपासको खुल्ला ठाउँमा निश्चित शुल्क लिएर तिर्थयात्री पर्यटकहरुको व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै शिद्धबाबा आसपास, शिवनगर सामुदायीक बन क्षेत्र लगायतका खुल्ला ठाउँमा पनि आँफै पकाएर खाने पर्यटकहरुको बसाइ व्यवस्थापन गर्न सकिन्छ।
बुटवलमा भारतीय पर्यटकको चहलपहल बढाउन यहाँका पर्यटन व्यवसायीहरुले टुर प्याकेज र प्रवद्धनात्मक कार्यक्रमको सञ्चालन गर्न सक्छन् । यहाँका पर्यटन व्यवसायीहरुले भारतीय पर्यटकको लागि पाल्पा, रिडी, पोखरा, ढोरपाटन, मुक्तीनाथसम्मको टुर प्याकेज बनाएर भ्रमण गराउन सक्छन् । त्यस्तै बुटवलबाटै सुपादेउराली, स्वर्गद्वारी जाने पर्यटकको पनि व्यवस्थापन गर्न सकिन्छ । बुटवलले नै टुर प्याकेज बनाएर बेच्दा आएका पर्यटकहरुलाई एक रात यहाँ अड्याएर बुटवलका गन्तव्य घुमाउन सकिन्छ ।
टाढा नजाने भारतीय पर्यटकहरुलाई बुटवल आसपासका हिल स्टेसनमा भुलाउन सकिने गरि टुर प्याकेज बनाउन सकिन्छ । बुटवल माथि नुवाकोट र बसन्तपुर गरि दुई वटा हिल स्टेसन रहेका छन् । दुबै ठाउँमा केबलकार सञ्चालन छ । केही समय वा एक दिनको लागि आएका भारतीयहरुलाई केबलकारको यात्रा गराएर नुवाकोट र बसन्तपुर लैजान सकिन्छ । जहाँ तराई भन्दा सितल महसुस हुन्छ । त्यस्तै बुटवलमै बसेका पर्यटकहरुलाई पाल्पाका जन्तीलुङ, लगायत पाल्पाका विभिन्न ठाउँ घुमाएर ल्याउन पनि सकिन्छ ।
बुटवल उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा जितगढी नजिक तिनाउ किनारमा आरती केन्द्र बनाउने, तिनाउनमा ड्याम बनाएर डुंगा तथा जल विहार गराउने योजना अघि सारेको छ । आरती केन्द्र बन्यो भने भारतीय पर्यटकलाई साँझमा भुलाउन अझ सहज हुन्छ । त्यस्तै मनोरञ्जनमा रमाउने पर्यटकको लागि तिनाउको जल यात्राको गतिविधिले भुलाउन सक्छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन उपमहानगरपालिकाले पहल सुरु गरेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी उपमहानगरपालिकाले योजना बनाएको छ। जस अनुसार एक वर्ष अघि २०८२ साल जेठमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल गरिएको थियो।
स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, वाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने र छिटै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको थियो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। तानसेन, भैरवस्थान, राममन्दिर, रिडी, ऋषिकेश, श्रींगेश्वर, रेसुंगा, रानीमहल, आलमदेवी, सेतीबेनी, जैमिनी, बागलुङ कालिका, ढोरपाटन, गलेश्वर र मुक्तिनाथलगायतका गन्तव्यको प्रवर्धनका लागि अभियान सञ्चालन गरिने नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

