२०८३ श्रावण १४ गते, बिहीबार ०३:४८
  • पाल्पामा ऐतिहासिक स्थलको प्रवर्द्धनको लागि पदयात्रा

    तानसेन-पाल्पामा सेनकालिन ऐतिहासिक दरवारको प्रवर्द्धनको लागि पदयात्रा अभियान सुरु गरिएको छ। नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट पाल्पा च्याप्टरको आयोजनामा साउन महिनाको शनिवार ऐतिहासिक स्थलको प्रवद्र्धनको लागि पदयात्रा गरिएको हो। ओझेलमा परेका ऐतिहासिक सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धनका लागि पदयात्रा अभियान आयोजना गरिएको नाट्टा पाल्पाका अध्यक्ष राजिव शाहले जानकारी दिए।

    जस अनुसार गत शनिवार तानसेनदेखी पूर्णाकोटसम्म पदयात्रा गरिएको थियो। पाल्पा दरबारबाट सुरु भएको पदयात्रा लिप्नेदेवी, भैरवस्थान हुँदै पूर्णाकोटसम्म पुगेको थियो। रिब्दीकोट गाउँपालिकामा पर्ने पूर्णाकोटलाई सेनकालिन राज्यको सुरुवाती सामारिक केन्द्र मानिन्छ। राजा रुद्रसेन र उनका उत्तराधिकारीहरुले तानसेन भन्दा अगाडि पूर्णाकोटलाई आफ्नो मुख्य प्रशासनिक तथा सैन्य गढीका रुपमा प्रयोग गरेका थिए।

    डाँडाको चुचुरोमा अवस्थित यो कोटबाट सत्रुका गतिविधि नियाल्ने र राज्यको सुरक्षा प्रबन्ध मिलाउने इतिहासमा उल्लेख छ। पूर्णाकोटमा सेनकालिन दरबारका भगनावशेषहरु ऐतिहासिक गढी, प्राचिन सिलाहरु रहेका छन्। यस्तै यो डाँडाबाट मनमोहक हिमश्रींखलाका दृष्य नियाल्न सकिन्छ। पदयात्राको टोलीलाई रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधिहरुले स्वागत गरेका थिए। स्थानिय जनप्रतिनिधिहरुले ऐतिहासिक स्थान भएर पनि ओझेलमा परेको भन्दै प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए।आगामी शनिवार अन्य ऐतिहासिक स्थलको पदयात्रा गरिने नाट्टा पाल्पाका अध्यक्ष शाहले जानकारी दिए।