
बुटवल- होटल संघ नेपाल (हान)को लुम्बिनी प्रदेश समितिको गठन भएको छ। बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवं सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सीपी श्रेष्ठको अध्यक्षतामा हानको प्रदेश तदर्थ समिति घोषणा गरिएको हो।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रविण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्वितिय उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ र महासचिवमा तेजनाथ बस्याल चयन भएका छन् । त्यसै गरि कोषाध्यक्षमा सुसान्त त्रिपाठी, सचिवमा दिलीप गौचन चयन भएका छन् । सदस्यमा प्रणदा दिक्षित, दाङबाट ओविन्द्र महारा, पाल्पाबाट धिरेन प्रधान र कमल पौडेल, नेपालगन्जबाट गिरीराज पाण्डे, कपिलवस्तुबाट लक्ष्मण भण्डारी, दुर्गा बस्याल, बर्दियाबाट पदमबिर थापा र भैरहवाबाट निर्मल श्रेष्ठ रहेका छन् । प्रमुख सल्लाहाकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना रहेका छन् ।
हानले प्रदेशमा समिति गठन गर्ने व्यवस्था अनुसार लुम्बिनीमा तदर्थ समिति गठन गरिएको अध्यक्ष सीपी श्रेष्ठले जानकारी दिए। उनले अब प्रदेश स्तरिय संघ यस क्षेत्रको पर्यटकीय विकास र प्रवद्र्धनको लागि शसक्त ढंगले लाग्ने बताए।
घोषणा समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताए। नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न पनि उनले आग्रह गरे। प्रदेश भित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण र सञ्चालनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई थियो। लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
सिद्वार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले लुम्बिनी र भारतको उत्तर प्रदेशबीच पर्यटकीय सम्बन्ध बिस्तार गरिनुपर्नेमा जोड दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्रीशीत भेट गरेर प्रदेशका गन्तव्यबारे जानकारी गराउन र पर्यटक आगमन सहज तुल्याउन भूमिका खेल्न उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीशीत अनुरोध गरे।
पर्यटन विकास परिषद लुम्बिनीकी कार्यकारी निर्देशक शारदा बस्यालले प्रदेश भित्रका विविधतापूर्ण गन्तव्य जोडेर प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताइन ‘पर्यटन पूर्वाधारसँगैं हस्पिटालिटीमापनि सुधार जरुरी छ,’उनले भनिन, ‘लुम्बिनीका गन्तव्यकका कथा बताउन सकिरहेका छैनौं । सुरुमा गन्तव्यबारे जानकारी राखौं र पर्यटकलाई कथा बेचौं ।’ उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पर्यटनको विकास नभई आर्थिक विकास नहुने बताए। ‘हामी भारत र चीनको बीचमा छौं,’उनले भने, ‘ती दुई मुलुकको हरेक नितिले हाम्रो पर्यटनमा प्रभाव पार्छ, त्यसैले सोच विचार गरेर अगाडि बढ्नुपर्छ।’
होटल संघ नेपालका केन्द्रिय सदस्य गोपाल रानाले मुलुकको समृद्धिका लागि मूल आधार कृषि उपजको खपत गर्ने क्षेत्र पर्यटन भएकाले यसमा युवाहरु आकर्षित भइरहेको बताए । ‘विदेश गएरपनि धेरै जब पाउने पर्यटन क्षेत्रमै हो,’उनले भने, ‘यहाँको अनुभवले विदेशमा पनि सघाउछ ।’ लुम्बिनी प्रदेशमा अनुपम प्राकृतिक र सांस्कृतिक सम्पदा पाएको र प्रत्येक जिल्ला विविधताले पूर्ण रहेको रानाले बताए ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी भुपेन्द्रबहादुर खत्रीले पर्यटन क्षेत्र सुरक्षित राख्न दिनरात काम गरिरहेको बताए । प्रहरीलाई प्रविधियुक्त बनाएर होटल हब बनिरहेको रुपन्देहीमा सुरक्षा व्यवस्था मजबुत तुल्याउन प्रयास गरिरहेको उनले बताए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन निजी क्षेत्रको पनि सहयोग जरुरी छ,’उनले भने, ‘त्यसका लागि प्रदेश र स्थानीय सरकारले पनि हातेमालो गर्नुभएको छ ।’
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले व्यावसायिक एकता नहुँदा अहिलेसम्म बुद्ध जन्मस्थल लुम्बिनीबाट लाभ लिन नसकिएको बताए । अहिले निजी क्षेत्रको मुहार मलिन देख्दा चिन्ता लाग्ने गरेको उल्लेख गर्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एक जुट भएर अगाडि बढ्न आग्रह गरे ।

