२०८३ श्रावण २५ गते, सोमबार १२:१७
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि यी प्रदेश अध्यक्षहरु एक ठाउँमा आउन सक्छन्?


    सुदीप भण्डारी

    भैरहवा– भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको ४ वर्ष भन्दा बढि भइसक्यो। तर यहाँबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। डेढ वर्ष अघि विन्टर सिजनमा केही महिना जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एशियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए। तर अहिले गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडान विहिन छ। पछिल्लो समयमा नीजि क्षेत्रबाट पनि अन्तर्राष्ट्रिय उडानको खासै पहल भएको देखिएको छैन।

    तर अब निजी क्षेत्रले व्यवसायीक एकता कायम गर्दै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान र लुम्बिनी क्षेत्रको प्रवद्र्धनमा अघि बढ्न कत्ति पनि ढिला गर्न हुँदैन। अन्तर्राष्ट्रिय उडानको लागि अब शहर केन्द्रीत संघर्ष समिति होइन। प्रदेश स्तरिय सहजिकरण संयन्त्र बन्नुपर्छ। त्यसका लागि नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश, भरखरै गठन भएको होटल संघ नेपाल लुम्बिनी प्रदेश, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाट्टा) लुम्बिनी र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो) लुम्बिनी एक ठाउँमा आएर छलफल गर्नुपर्छ । छलफलबाट साझा कार्यक्रम र योजना बनाउनुपर्छ। यहाँ नाम उल्लेख नभएका केही संघ संस्थालाई पनि समेट्न सकिन्छ।

    छलफलबाट भैरहवाको अन्तर्राष्ट्रिय उडानको लागि सरकारलाई सहजीकरण गर्ने, विदेशी हवाइ कम्पनीहरुसँग सहकार्य बढाउने, अन्तर्राष्ट्रिय उडानका जहाज र यात्रु आकर्षित गर्नेे, विमानस्थलको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने लगायतका योजना र कार्यक्रम बनाउने गरि अघि बढ्न सके मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा सहज हुन्छ। त्यसका लागि निम्न कुराहरु गर्नुपर्छ।

    लुम्बिनी तथा अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन समिति गठन

    सुरुमा माथि उल्लेखित प्रदेश स्तरिय व्यवसायीक तथा पर्यटन सम्बद्ध संघ संस्थाका पदाधिकारीहरु एक ठाउँमा बसेर छलफल छलफल गर्नुपर्छ। छलफलबाट भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनको लागि निजी क्षेत्रबाट एउटा साझा संयन्त्र बनाउने। जसको नाम लुम्बिनी तथा अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन परिषद वा समिति हुन सक्छ। सो संयन्त्रमा उल्लेखित संघ संस्थाबाट दुई दुई जनाका दरले सहभागी हुने । सर्वसम्मतीमा वा आलोपालो समितिको संयोजक तोक्ने । यो समितिले लुम्बिनी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि निरन्तर काम गर्नुपर्छ ।

    पर्यटन र अन्तर्राष्ट्रिय उडानको सम्बन्धमा साझा धारणा र योजना तयार गर्ने

    लुम्बिनी तथा अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन समितीले लुम्बिनीको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा साझा धारणा तयार गर्नेछ । लुम्बिनीमा थप विदेशी पर्यटक आकर्षित गर्न र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि निजी क्षेत्रले गर्नुपर्ने कामहरुको सूची तयार पाने छ । त्यस्तै सरकारलाई दिने सुझाबहरु पनि लिपीबद्ध गर्नेछ । प्रदेश सरकार, पालिका र अन्य सरोकारवालाहरुले गर्नुपर्ने कामहरुको बारेमा खाका तयार गर्ने छ। समितिको नियमित बैठक बसेर आफ्नो कामको समिक्षा गर्ने छ।

    सरकारसँग नियमितरुपमा समन्वय

    समिति गठन भएपछि भैरहवाको अन्तर्राष्ट्रिय उडानको लागि नियमित रुपमा संघिय सरकार र मातहतका निकायसँग छलफल र समन्वय हुने छ। प्रधानमन्त्री, पर्यटनमन्त्री, नागरिक उड्यन प्राधिकरणका पदाधिकारीसँग भेटघाट गरि पर्यटन प्रवद्र्धन र भैरहवाको अन्तर्राष्ट्रिय उडानको लागि निरन्तर दबाब दिने छ। साथै प्रदेश सरकार र स्थानिय तहहरुसँग पनि छलफल र समन्वय गरि अन्तर्राष्ट्रिय उडानको वतावरण बनाउन भूमिका खेल्ने छ।

    अन्तर्राष्ट्रिय एयरलाइन्सहरुसँग समन्वय र सम्बाद

    समितीले नेपाल बायुसेवा निगमलाई भैरहवामा अन्तर्राष्ट्रिय उडानको लागि अनुरोध गर्ने छ। निगम र हिमालयन एयरलाइन्सलाई कम्तीमा एउटा जहाज भैरहवा बेस भएर नियमित उडान गर्न अनुरोध र पहल गर्ने छ। यो समितिले विदेशी एयरलाइन्सका नेपाल स्थित अधिकारीहरुसँग नियमित संबाद गरि भैरहवामा उडान गर्दा हुने फाइदा र अवसरका बारेमा जानकारी गराउने छ।
    विगतमा भैरहवामा उडान गरेका र उडान गर्न सक्ने अन्य एयरलाइन्सका विदेश स्थित प्रधान कार्यालयको भ्रमण पनि गर्ने छ। जस अनुसार कुवेत पुगी जजिराको हेडक्वाटरको भ्रमण, युएइमा फ्लाइ दुबई र क्वालालाम्पुरमा थाइ एयर एशियाको मुख्यालयमा पुगि भैरहवाको उडानको बारेमा जानकारी दिने छ। त्यस्तै अरु एयरलाइन्स कम्पनीको पनि भ्रमण गरि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न आग्रह गर्ने छ।

    थाइ एयर एशियाको उडान भएपछि थाइल्याण्ड भ्रमण

    थाइ एयर एशियाले यस अघि दुई वटा सिजनमा बैंकक–भैरहवा–बैंकक उडान गरेको थियो। आगामी कात्र्तिकबाट यो एयरलाईन्सले भैरहवामा उडान गर्ने सम्भावना छैन। तर समितिले उडान गर्न पहिल गर्नुपर्ने छ। थाइल्याण्ड बुद्ध धर्मलम्बीको बाहुल्य भएको देश हो। भैरहवामा थाइ एयर एशियाको फेरि अन्तर्राष्ट्रिय उडान भएमा थाइ बुद्धिष्ट पर्यटकलाई बुद्धजन्मस्थल लुम्बिनी आउन सहज हुन्छ। त्यसैले विन्टर सिजनको उडानको लागि थाइ एयर एशियालाई भैरहवामा पुन अन्तर्राष्ट्रिय उडान गर्न विशेष आग्रह र पहल गर्नुपर्छ।
    आगामी विन्टर सिजनमा उसले उडान गर्ने भएमा समितिले एयरलाइन्सलाई समन्वय र सहजिकरण गर्ने। बैंकक भैरहवा उडान भएमा लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धन गर्न सरकारी टोली र निजी क्षेत्र थाइल्याण्ड पुग्नुपर्छ। लुम्बिनीको नजिकमा अन्तर्राष्ट्रिय विमानस्थल छ र सिधा उडानमा पुग्न सकिन्छ भन्ने सन्देश थाइल्याण्डमा प्रवाह गर्नुपर्छ।
    त्यसको लागि सुरुमा पर्यटन मन्त्रीसहितको टोली थाइल्याण्ड गइ त्यहाँ प्रवद्धनात्मक कार्यक्रम गर्ने। त्यहाँको कार्यक्रममा थाइल्याण्डका पर्यटन मन्त्री, पर्यटनसँग सम्बन्धित अधिकारी, बुद्ध धर्मलम्बी तथा अनुयायी, पर्यटनव्यवसायीहरुसँग छलफल गरि भैरहवाको अन्तर्राष्ट्रिय उडान र लुम्बिनीको बारे जानकारी दिने।

    व्यवसायीक संघ संस्थाको बुद्धिष्ट देशमा भ्रमण

    कात्र्तिकमा भैरहवा–बैंकक नियमित भयो भने यहाँका व्यवसायीक संघ–संस्थाको टोली पालैपालो थाइल्याण्ड भ्रमण गरेर लुम्बिनी र भैरहवाको अन्तर्राष्ट्रिय उडानको प्रचार प्रसार गर्नुपर्छ। एउटा उडानमा उद्योग बाणिज्य महासंघ लुम्बिनीको टोली, अर्को उडानमा सिद्धार्थ उद्योग बाणिज्य संघको टोली, क्रमश, अरु उडानमा सिद्धार्थ होटल संघ, नाट्टा, सोट्टो, चेम्बर लगायत एउटा संस्थाबाट १५–२० जनाको दरले थाइल्याण्ड भ्रमण गर्ने।
    यसरी व्यवसायीक संस्थाले एकपछि अर्को उडानमा थाइल्याण्ड जाने हो भने जहाजले पनि लोड राम्रो पाउँछ। जहाजले लोड पाउँदा उडान नियमित हुने र थपिने सम्भावना बढ्छ। लुम्बिनीको प्रचार–प्रसार पनि हुन्छ । यसरी भ्रमणमा जाँदा बुद्धधर्मलम्बी देश थाइल्याण्ड र लुम्बिनीबीचको सम्बन्ध पनि बढ्छ । थाइल्याण्डपछि बर्मा, भियतनाम, जापान, कोरिया लगायतका अरु बुद्ध धर्मलम्बीको बाहुल्य भएको देशमा पनि लुम्बिनीको प्रचार प्रसार र प्रवद्र्धन गर्न जानुपर्छ । बैंकक भैरहवा सिधा उडानमा लुम्बिनी आउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ।

    प्रोत्सान तथा सहुलियतको सुविधा

    कुनै एयरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रय उडान गरेमा आउने यात्रुहरुको लागि विभिन्न सुविधा तथा प्रोत्साहनको व्यवस्था गर्नुपर्छ। होटलको कोठा यातायात लगायतमा छुट सुविधा दिने। विगतमा जस्तै जजिरा र फ्लाई दुबईले फेरि उडान गरेमा भैरहवा अवतरण गर्ने यात्रुलाई एक छाक निशुल्क खाना, होटल बस्न चाहेमा ५० प्रतिसत छुटमा कोठा, बुटवसम्म पुग्न निशुल्क सटल बस, टाढाका जिल्लामा जानको लागि यातायातको भाडामा छुट लगायतका सुविधा दिने हो भने यात्रुहरु काठमााडौको सट्टा भैरहवा विमानस्थल प्रयोग गर्छन्।

    देशका विभिन्न शहरमा पुगि भैरहवाको अन्तर्राष्ट्रिय उडानको प्रचारप्रसार

    विगतमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदा हामीले कतिपय कुरामा ध्यान दिएनौं। अब उडान भयो भने त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ । भैरहवामा अन्तर्राष्ट्रिय उडान भएमा चितवनदेखी सुदुरपश्चिमसम्मको लागि विदेश जान र आउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पायक पर्दछ। भोलीका दिनमा थाइ एयर एशिया, जजिरा या अरु अन्तर्राष्ट्रिय उडान सुरु भएमा यो समितिले दाङ, नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा पुगी कार्यक्रम गर्नुपर्छ। विदेश जाँदा र आउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्दै प्रचार प्रचार अभियान चलाउनुपर्छ। बुटवल नारायणगढ सडक सहज भएपछि चितवनबाट काठमाडौं जान भन्दा भैरहवा आउन सहज हुन्छ। त्यसैले चितवन पनि पुगेर भैरहवाको अन्तर्राष्ट्रिय उडान बारे सन्देश प्रवाह गर्नुपर्छ।

    अब नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सिपी श्रेष्ठ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र थापा र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो) लुम्बिनीका अध्यक्ष एक ठाउँमा आएर छलफल गरेर अघि बढ्ने हो भने भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्न धेरै सहज र प्रभावकारी पनि हुन्छ।