२०८३ भाद्र ८ गते, सोमबार ०३:४०
  • बुटवलदेखी तानसेनसम्म पैदलयात्रा गरेका ३ बालकको अनुभव

    पाल्पा-गत साउन ३० गते पाल्पाका पर्यटन व्यवसायी तथा अभियान्ताहरु बुटवल आएका थिए। नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा पाल्पा च्याप्टरको आयोजनामा बुटवलदेखी तानसेनसम्म पदयात्रा कार्यक्रम थियो।

    सेनकालिन ऐतिहासक स्थलको प्रवद्र्धनको लागि पदयात्रा कार्यक्रम राखिएको थियो। पुरानो बुटवलको बाघ भैरब मन्दिरबाट पदयात्रा सुरु भयो। शनिवार विहानबाट सुरु भएको पैदल यत्रा आइतबार साँझ तानसेन पुगेर सकिएको थियो। पदयात्रामा ७० जना जतिको सहभागिता थियो। जसमा १२ र १४ वर्षका ३ जना बालक पनि थिए।

    १२ वर्षिय अभिज्ञ शाहले यात्राको बारेमा यसरी सुनाए। ‘बुटवलको मन्दिरबाट यात्रा सुरु गयौं। जितगढी हेर्याैं। फुलबारी घुमेर २ घण्टाजति उकालो हिडेर नुवाकोट चढ्यौं। उकालो चढ्दा बुटवलको दृष्य नियाल्न सकिँदो रहिछ। मथिबाट बुटवल र परपरसम्मका ठाउँ देख्न पाउँदा रमाइलो लाग्यो। नुवाकोटबाट हामी दोभान पुग्यौं। त्यहाँबाट चर्चरे पुगेर फेरी उकालो चढ्यौं। बेलुका जन्तीलुङ पुग्यौं।’

    अभिज्ञसँगै यात्रामा १२ वर्षिय प्रज्वल शाक्य पनि सहभागी थिए। ‘बुटवलमा मन्दिर, किल्ला र सेनकालिन दरबारको इतिहास हेयौै। त्यसपछि नुवाकोटको जान उकालो चढ्यौं। धेरैजनासँग हिड्दा रमाइलो लागेको थियो। नुवाकोट घुमेर दोभान हुँदै जन्तीलुग पुग्यौं। त्यहाँहामीलाई स्वागत गर्न आउनुभयो। केही बेर नाचगानसहित रमाइलो गरेर खाना खाएर सुत्यौं। आइतबार विहान उठेर वरपर घुम्यौं। अग्लो ठाउँमा भएको जन्तीलुगबाट एकातर्फ हेदा तराइका समथर फाँट र अर्को तर्फ पाल्पाको मनमोहक दृष्य देखिँदोरहिछ।’ उनले यात्राको अनुभव सुनाए।

    १४ वर्षिय नवदिपराज शाक्यले जति हिड्यो त्यती रमाइलो लागेको सुनाए। उनले सेनकालिन ठाउँबारे धेरै कुरा जान्न पाएको बताए। नेपालमा पर्यटनको ठूलो सम्भावना भएको यात्राका क्रममा आँफूलाई लागेको उनले सुनाए।

    अभिज्ञले प्रदलयात्राका क्रममा गाउँघरको विविधता नियाल्न पाएको बताए। ‘जन्तीलुङबाट ओरालो झर्ने क्रममा प्राकृतिक दृष्य र गाउँघरको जिवनसैली हेदै यात्रा गयौं। डुम्रे झरेपछि हामी त्यहाँको होटलमा खाना खाएर तानसेन तर्फ लाग्यौ। टुंडीखेल र भगवती यात्रा पुगेर हाम्रो यात्रा सम्पन्न भयो।’ उनले भने।

    अभिज्ञ, प्रज्वल र नवदिपले त्यसअघिका शनिवार पनि पाल्पामा पैदलयात्रा गरेका थिए। त्यस्तै २ वर्ष अघि पनि नाट्टा पाल्पाले पदयात्रा अभियान सञ्चालन गरेको थियो। त्यसबेला पनि अभिज्ञ पैदलयात्रामा सहभागी भएका थिए। नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाहले पाल्पामा प्रसस्त पर्यटकीय सम्भावना रहेकाले ओझेलमा परेका ठाउँको उजागर गर्न पदयात्रा अभियान सञ्चालन गरिएको बताए। यसपटक पदयात्रा अभियान मार्फत सेनकालिन इतिहासको उजागर गर्न खोजिएको उनले उल्लेख गरे। पदयात्रामा अभिज्ञ, प्रज्वल र नवदिपले विभिन्न ठाउँहरुको बारेमा चासो दिएको र रमाइलो मानेको शाहले सुनाए।