
पोखरा – लामो समयको प्रतिक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुर्बइले नियमित उडान गर्न लागेको छ। आगामी असोज ७ गतेदेखि दुबई पोखरा दुबई दैनिक उडान हुन लागेको हो। पोखराका पर्यटन व्यवसायीहरु फ्लाई दुबईको स्वागतको प्रतिक्षामा छन्।
सुरु हुने फ्लाई दुबइको उडान केही महिना भएर रोकिने अवस्था आउन नदिन पनि पर्यटन व्यवसायी र व्यवसायीक संघ संस्थाहरुले मेहनत गरिरहेका छन्। नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा गण्डकी प्रदेशले पनि उडानलाई दिगो र प्रभावकारी बनाउन लागि परेको छ।
निरन्तर छलफल र अन्तरक्रिया
गत साता नाट्टा गण्डकीले फ्लाई दुबईको नियमित र निरन्तर उडानको लागि वृहत छलफल राखेको थियो। जसमा सबै व्यावसायिक छाता संघ संस्थाहरु थिए। फ्लाई दुबईका दक्षिण एसिया हेर्ने रिजिनल म्यानेजरका साथै नेपाल हेर्ने म्यानेजरहरू पनि सहभागी भएको नाट्टा गण्डकीका महासचिव तारा प्रसाद गौतमले बताए। ‘विगतमा पोखरामा केही चार्टर उडान भएको थियो। हिमालयन एयरलाइन्सले केही समय सेड्युल फ्लाइट राखेको थियो। तर विभिन्न कारणले चल्न सकेन। सुरु हुन लागेको फ्लाई दुबई उडान अब त्यस्तो नहोस् भन्ने हाम्रो चाहाना हो। उनले भने त्यसैले प्रभावकारी र दिगो उडानको लागि हामीले वृहत छलफल राखेका हौं।’
ट्राभल कम्पनीहरुको लागि तालिम
असोज ७ गतेबाट हुने अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरेर ग्लोबल डिस्ट्रीव्युसन सिष्टम जिडिएस तालिम सञ्चालन गरेको छ। तालिममा ट्राभल कम्पनीहरुबाट ६२ जनाको सहभागीता रहेको थियो। नयाँ टुर अपेटर र एजेन्सीहरूले पनि अनलाइनमा सहजसँग अन्तर्राष्ट्रिय टिकट काट्न सकून् भनेर तालिम आयोजना गरिएको नाट्टा गण्डकीले जनाएको छ।
प्रवर्द्वनका लागि अन्य जिल्लादेखि दुबई सम्म पुग्ने तयारी
नाट्टा गण्डकीले फ्लाई दुबईको प्रचार प्रसारको लागि प्रमोसन टुर अर्थात प्रवद्र्धनात्मक यात्राको तयारी पनि गरिरहेको नाट्टा गण्डकीका महासचिव तारा प्रसाद गौतमले जानकारी दिए। ‘हामी म्याग्दी, बाग्लुङ, पर्वत पुग्ने कार्यक्रम बनाएका छौं। त्यसपछि स्याङ्जा, पाल्पा, बुटवल हुँदै नवलपुर जाने योजना छ। त्यहाँबाट फर्केर यता गोर्खा, तनहुँ र लमजुङमा पनि प्रवद्र्धनात्मक कार्यक्रम राख्ने तयारी गरेका छौं।’ उनले भने ‘कसरी हुन्छ, यो उडानलाई नियमित र दिगो गराउन पर्यो भनेर हामी लागिरहेका छौं। पोखरा महानगरपालिकाको मेयर सावसँग पनि हामी बसिरहेका छौं।’अहिले दुबईबाट पोखरा आउनको लागि टिकट बुकिङ राम्रो भइरहेको छ। पोखराबाट दुबई जानको लागि बुकिङ दर कम छ। दुईतर्फी लोडको लागि आफूहरुले निकै प्रयास गरिरहेको गौतमले सुनाए।
अवतरण हुने पहिलो दिनलाई उत्सवको रुपमा मनाइने
पोखरा उडानको प्रवद्र्धनको लागि दुबई जाने योजना समेत बनाएको उनले जानकारी दिए। दुबई पोखरा उडान सुरु हुने दिनलाई उत्सवको रुपमा मनाउने तयारी गरिएको नाट्टा गण्डकीका महासचिव गौतमले बताए। ‘फ्लाई दुबईको जहाज पहिलो पटक अवतरण गर्दा हामी भव्य स्वागत गर्ने तयारी गरिरहेका छौं। विमान कम्पनी र पोखरा झर्ने पर्यटक तथा यात्रुहरुलाई राम्रो सन्देश जाओस् भनेर हामीले ध्यान दिएका छौं। हालै भएको साधारण सभा तथा अधिवेसनबाट संगिता पौडेलको अध्यक्षतामा नाट्टा गण्डकी प्रदेशको नयाँ नेतृत्व चुनिएको छ। नयाँ नेतृत्व चुनिएसँगै पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय उडानमा आफूहरुको ध्यान र गतिविधि केन्द्रीत रहेको अध्यक्ष पौडेलले जानकारी दिइन्।

