
भैरहवा– ४७ औं विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो) लुम्बिनी ले पर्यटकको स्वागत सहित कार्यक्रम गरेको छ। आइतबार रुपन्देहीको बेलहिया नाकामा आयोजनामा भएको कार्यक्रममा भारतबाट अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आएका पाँच जना पर्यटकलाई मायाको चिनो, ढाका टोपी, खादा र टीका लगाएर स्वागतसहित सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले बढ्दो प्रविधिको प्रयोग गरी पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले बेलहिया नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र भैरहवालाई केन्द्रमा राखेर रुपन्देहीको पर्यटनलाई अझ व्यवस्थित र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नाकादेखि नै पर्यटकलाई पर्यटनमैत्री व्यवहार हुनुपर्नेमा जोड दिए। उनले पर्यटकले बोकेर आउने पैसाको सीमितता तोक्न नहुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताए। नगर उपप्रमुख उमा अधिकारीले अझै पर्यटको क्षेत्रमा प्रचार र प्रवर्द्धन कम भइरहेको भन्दै अब सामूहिकताबाट पर्यटनको विकासमा लाग्नुपर्ने उल्ल्ेख गरिन्।
होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी, कपिलवस्तु, भैरहवा र रुपन्देहीका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्भावनालाई जोडेर पर्यटनको नयाँ प्याकेज विकास गर्नुपर्ने बताए। होटल संघले लुम्बिनी प्रदेशका होटलहरुमा आजदेखि लागू हुने गरी पर्यटकका लागि १५ प्रतिशत छुट दिएको उनले जानकारी दिए।
सोट्टो नेपालका अध्यक्ष संजय बजिमयले पर्यटनलाई केवल घुमफिर र मनोरञ्जनमा सीमित नराखी रोजगारी, स्थानीय उत्पादन, होटल व्यवसाय, यातायात र समग्र आर्थिक गतिविधिसँग जोड्नुपर्ने धारण राखे । रुपन्देहीमा लुम्बिनी, भैरहवा, बेलहिया, देवदह, सैनामैना लगायतका क्षेत्रलाई एकीकृत पर्यटन सर्किटका रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले निजी सरकारी साझेदारीमा पर्यटनको प्रवर्द्धनात्मक र विकासका काम गर्नुपर्ने बताए। सोट्टो नेपालका पूर्वअध्यक्ष श्रीचन गुप्ताले लुम्बिनीसँगै अन्य गन्तव्यलाई समेटेर विकास तथा प्रवर्द्धन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने धारणा राखे।
कार्यक्रममा सम्मानित भारतीय पर्यटक विज्ञान शर्माले साथीहरूसँग मिलेर अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आएको बताए। बेलहिया नाकामै स्वागतसहित सम्मान पाउँदा आफूहरू निकै खुसी भएको उल्लेख गर्दै उनले नेपाली आतिथ्यले यात्राको सुरुवातमै सकारात्मक अनुभूति दिएको उल्लेख गरे।

